Comments Add Comment

नेकपा नेतृत्वमाथि प्रश्न : राजनीतिबाट सन्यास लिने कि सुध्रिने ?

पार्टी सुदृढीकरणका लागि विधिअनुसार चलौं, एक व्यक्ति पदमा जाऔं

नेपालको राजनीतिमा पहिलोपटक कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो शक्तिको रुपमा अगाडि आयो । मुलुकको विशाल शक्ति मात्र हैन, राज्य सत्ताको बागडोरसमेत सम्हालिरहेको कम्युनिष्ट पार्टी र यसका नेता-कार्यकर्ताहरूको संघर्ष, त्याग तथा बलिदानीकै कारण मुलुक कम्युनिष्टमय बनेको कतै छिपेको छैन । कम्युनिष्ट आन्दोलन तथा पार्टी आजको ठाउँसम्म आइपुग्न नेता-कार्यकर्ताहरूले विगतमा देखाएको संघर्षप्रतिको इमान्दारिता, अनुशासन तथा सङ्गठन परिचालनकै महत्वपूर्ण भूमिका छ ।

जसरी नेपाल कम्युनिष्ट पार्टीको इतिहास संघर्षशील, गौरवमय र इमान्दारितापूर्ण छ, त्यसैगरी वर्तमान पनि गौरवशाली र भविश्यको पुस्ताका लागि भरोसायोग्य बनाउनुपर्ने चुनौती आजको नेकपा नेतृत्वको काँधमा छ ।

भविश्यको पिँढीलाई एउटा सक्षम, पार्टी हस्तान्तरण गर्दै पार्टीको निर्दिष्ट लक्ष्य समाजवाद स्थापना र त्यसको संस्थागत सुधारका लागि विद्यमान नेकपाले केही अग्रगामी पहलकदमी लिनुपर्ने आवश्यकता छ । यसका लागि सबैभन्दा पहिला नेकपा पार्टी, विधि, पद्दति र संस्कारयुक्त हुन जरुरी छ ।

आम नेता-कार्यकर्तालाई पार्टीको विधि विधानअनुसार चल्ने वातावरणको सिर्जना गर्नुपर्छ । नेकपाको आदर्श, सिद्धान्त र विचारबाट नै कार्यकर्ताको पंक्ति खडा गर्नुपर्दछ । सङ्गठनको व्यापक सुदृढीकरण र कार्यकर्ताको देशव्यापी परिचालन आजको नेकपाको मुख्य जिम्मेवारी देखिन्छ । यसर्थ, सत्तारुढ नेकपालाई सधैंभरि सत्तारुढ बनाइराख्न विद्यमान नेतृत्वले निम्न सवालहरूमा विशेष जोड दिन जरुरी देखिन्छ ।

पार्टीको बैठक

पार्टीका बैठकहरू विधानमा लेखिएबमोजिम निरन्तर बस्नुपर्छ । पार्टीका बैठक बस्नु भनेको समग्रमा दैनिक राजनीतिक घटनाक्रमहरूलाई विश्लेषण गरेर पार्टीका नीति कार्यक्रमहरू बनाउन सजिलो हुन्छ ।

त्यतिमात्र होइन, पार्टीको सम्पूर्ण नेता-कार्यकर्ताहरूको कुनै पनि निर्णयहरूमा अपनत्व हुन्छ । जसरी शरीरका सम्पूर्ण अङ्गहरू स्वचालित हुन्छन् । त्यसैगरी पार्टीका बैठकहरू बसे भने पार्टी पनि गाउँ तह सम्म सञ्चालन भइरहेको हुन्छ ।

हालको नेकपाभित्रको समस्या भनेको पार्टीको विधानअनुसार बैठक नबस्नु नै हो । महत्वपूर्ण निर्णयका सन्दर्भमा सरकारले पार्टीको सुझाव, सल्लाह लिएको भए सरकार पनि सफल हुन्थ्यो । पार्टी पनि सफल हुन्थ्यो । पार्टी केन्द्रको सचिवालयको सन्दर्भमा आवश्यक परेका बेला सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ ।

स्थायी कमिटीको बैठक हरेक ३ महिनामा बस्नुपर्ने कुरा विधानमा उल्लेख भए पनि कहिल्यै एक बर्षसम्म पनि बैठक नबोलाउने प्रवृत्तिले गर्दा पार्टी र सरकारका अनेक समस्या आएका छन । कोरोना रोगको महामारी पछि केन्द्रीय समितिको बैठक, प्रदेश कमिटिको बैठक, जिल्ला कमिटिको बैठक, गाउँ नगर, कमिटि लगायत वडा कमिटीसम्म पार्टीको विधानअनुसार बैठक बोलाई जति पनि समस्याहरू छन् बैठकबाट हल गरेर नेकपाभित्रको समस्याको हल गर्नु उत्तम विकल्प हुनेछ ।

पार्टी कमिटीको पूर्णता र कार्य विभाजन

२०७५ साल जेठ ३ गते नेपालका दुईवटा ठूला कम्युनिष्ट पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको आज २ बर्ष बितिसकेको छ । पार्टी एकताको घोषणा गर्दा ३ महिनाभित्र पार्टीका सम्पूर्ण संरचनाहरूको एकता भइसक्ने कुरा पार्टीको विधानमा उल्लेख गरिएको छ ।

तर, विडम्बनापूर्ण भन्नुपर्छ २ बर्ष बित्दासम्म पनि पार्टी कमिटिले पूर्णता पाएका छैनन । कतिपय कमिटिले पूर्णता पाए पनि नेता कार्यकर्ताहरूको कार्य विभाजन हुन बाँकी छ । कतिपय नेता कार्यकर्ता त कुनै जिम्मेवारीमा छैनन् । यसरी पार्टी अगाडि बढन सक्दैन ।

नेकपालाई बलियो बनाउन सम्पूर्ण पार्टी कमिटिको पूर्णता दिनु अनिवार्य भइसकेको छ । जिम्मेवारी नपाएका नेता कार्यकर्तालाई ठोस जिम्मेवारी दिएर उहाँहरूको कार्यविभाजन गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विश्वकै नमुनायुक्त कम्युनिष्ट पार्टी बनाउन नेताहरूले आफ्ना सम्पूर्ण स्वार्थहरूलाई त्याग गरी पार्टी निर्माण गर्नुपर्छ ।

पार्टीलाई विधि, विधान र पद्दतिमा चलाउन जरुरी

नेपाल कम्युनिष्ट पार्टीको विधान, नियमावली विधि त बनाइयो, तर त्यो बनाइएको विधि विधान, नियमावलीलाई नमानेर कुन टोकरीमा फ्याँकियो ? ८ लाखभन्दा बढी नेकपाका सदस्यहरूलाई सिस्टममा बाँध्नका लागि पार्टीका विधान त चाहियो नि ।

नेता-कार्यकर्ताले पार्टीको विधान, नियम कानुन मानेन भने त पार्टी छाडा हुन्छ । तसर्थ, केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई राम्रो बनाउनका लागि नेकपा पार्टीलाई विधि, विधान र पद्दतिमा चलाउनुपर्छ । त्यो विधि विधान, पद्दतिलाई पार्टीका अध्यक्षद्वय सचिवालय र स्थायी कमिटीका र केन्द्रीय समितिका नेताहरूले पालना गरिदिनुभयो भने गाउँसम्मका कार्यकर्तालाई पालना गर भन्नै पर्दैन ।

अहिलेसम्म जसरी पार्टीको विधि विधानलाई उल्लंघन गरेर नेकपा पार्टी चलाइएको छ, यसैगरी पार्टीलाई अगाडि बढाउन खोज्यो भने नेकपा पार्टीको विकल्पमा अन्य पार्टी आउन सक्छन् । त्यसैले नेताहरूले समयमै ध्यान दिएर पार्टीको विधि विधानअनुसार कार्य गरेर नेकपालाई सुदृढीकरण गर्न जरुरी छ ।

जनताको बीचमा सरकारको कामको प्रतिरक्षा

पार्टीला विधि विधान र पद्दतिमा चलाइसकेपछि स्वभाविक रुपमा नेकपाकै सरकार भएको कारणले नेकपा पार्टीका सम्पूर्ण कार्यकर्ताले सरकारले गरेका राम्रा कामहरूको गाउँ तहसम्म प्रचार प्रसार गर्छन् । तर, पार्टीको बैठक नै बसेन, पार्टी विधि पद्दतिमा चलेन र सरकारले पार्टीसँग समन्वय नगरी महत्वपूर्ण निर्णयहरू गर्न थाल्यो भने फेरि पनि सरकारका काम कारवाहीको बारेमा पार्टीका कार्यकर्ताले प्रतिरक्षा गर्दैनन् । हालको समस्या पनि यही भएको हो ।

अब तत्काल पार्टीलाई विधि पद्दतिमा चलाएर सरकारले गरेका कामहरूको आम कार्यकर्ताले जनताका बीचमा प्रचार गर्ने । कसैले सरकारको गतिविधिको भ्रम छर्छ भने प्रतिरक्षा गर्ने पद्दतिको विकास गर्न जरुरी देखिन्छ ।

पार्टी संङ्गठनमा अनुशासनको प्रभावकारिता

पार्टी सङ्गठनलाई चलायमान बनाउन विधि पद्दतिमा चलाउन पनि अनुशासन चाहिन्छ । नेकपामा अनुशासन आयोगलाई सम्पूर्ण अधिकारसहितको शक्तिशाली आयोग बनाउन पनि जरुरी छ । पार्टीका नेता कार्यकर्तामा अनुशासन भएन भने पार्टी राम्रोसँग चल्न सक्दैन ।

एउटा कम्पनी चलाउन त निकै अनुशासनको आवश्यकता पर्दछ भने नेकपा पार्टीले त सिङ्गो देश चलाइरहेको छ । अन्य राष्ट्रहरूका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको अनुशासनलाई हेरेर पनि नेकपाले सिक्नुपर्ने हुन्छ ।

एक ब्यक्ति एक पद र एक जिम्मेवारी

हजारौं नेता-कार्यकर्ता भएको पार्टीमा सबैलाई जिम्मेेवारी दिनुपर्ने आजको आवश्यकता हो । हाल कसैलाई भ्याई नभ्याई तिन, चार पद एकै जनालाई, कसैलाई कुनै पनि जिम्मेवारी नदिई लामो समय सम्म गरेको त्यागको अपमान गरी पार्टीमा जिम्मेवारीविहीन बनाएको अवस्था छ । यी कारणले पनि पार्टीभित्र समस्या आएको हो ।

कुनै व्यक्ति सरकारमा मन्त्री पनि छन्, पार्टीको मुख्य जिम्मेवारीमा पनि उनै छन् । तसर्थ न पार्टीका काममा ध्यान दिन सक्छन्, न सरकारको काममा ध्यान दिन सक्छन । त्यसैले सरकार पनि राम्रो चलाउन सक्दैन । पार्टी पनि राम्रो चलाउन सक्दैनन् ।

पार्टीको केन्द्रीय अध्यक्षद्वयबाट नै यस प्रकारको शुरुवात गर्नुपर्छ । एउटा अध्यक्षले सरकार चलाउने अर्काे अध्यक्षले पार्टी चलाउने । पार्टीका मुख्य नेताहरूबाट नै एक व्यक्ति एक पद जिम्मेवारीको शुरुवात नगरेसम्म व्यक्तिलाई जति फकाएर भए पनि आफ्नो पक्षमा माहोल बनाइराख्ने काम सँधै हुन सक्दैन ।

पार्टीका नेताहरूले कार्यकर्ताका बीचमा गएर हामीले पदका लागि, स्वार्थका लागि, राजनीति गरेका हैनौं भनेर प्रशिक्षण दिने, तर आफ्नो वास्तविक जीवनमा प्रयोग गर्न नसक्ने देखिएको छ ।

त्यसैले नेताहरुले एक व्यक्ति एक पद एक जिम्मेवारी मात्र लिँदा के हुन्छ र ?

जनवर्गीय सङ्गठनका सम्मेलनका आयोजना

पार्टीका मेरुदण्ड भनेका विभिन्न जनवर्गीय सङ्गठनहरू नै हुन् । आज जनवर्गीय सङ्गठनहरूको केन्द्रमा एकता भए पनि प्रदेश, जिल्ला गाउँ स्तरसम्म एकता हुन बाँकी छ ।

तत्काल स्थानीय तहसम्म जनवर्गीय सङ्गठनको एकता गर्न जरुरी देखिन्छ । एकतापश्चात सबै सङ्गठनहरूका सम्मेलनहरूको आयोजना गरी सम्मेलनमार्फत जनवर्गीय सङ्गठनहरूको चलायमान बनाउनुपर्छ । हो, अहिले हामी कोरोना भाइरसबाट आतंकित छांै । यो कोरोना भाइरस हटिसकेपछि हामीले तत्काल जनवर्गीय सङ्गठनका सम्मेलनहरू गर्नुपर्छ ।

पार्टी कार्यकर्ता पंक्तिमा प्रशिक्षण

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू जुझारु हुन्छन्, अध्ययनशील हुन्छन्, बैचारिक क्षमतामा विश्वास गर्दछन् र फलामे अनुशासनमा रहन्छन् भन्ने आम जनसमुदायमा विश्वास थियो । तर, हाल आएर यी सबै विषयवस्तुमाथि प्रश्नचिन्ह खडा भएको छ ।

आम कार्यकर्तालाई नेकपा पार्टीका सिद्धान्त, विचार, आदर्शमा लैस गर्न जरुरी छ । तसर्थ, कोरोना भाइरसको अन्त्यपछि आम कार्यकर्ता तहमा प्रशिक्षण दिन जरुरी देखिन्छ ।

नयाँ राजनीतिक कार्यक्रमको घोषणा

पार्टी ठूलो छ, सत्ताको चाबी समातेर बसेको पार्टीर्का कार्यकर्ताहरू सामाजिक सञ्जाल रंगाएर बस्नु विडम्बनापूर्ण छ । कार्यकर्ताहरू पार्टीर्को कुनै नीति तथा कार्यक्रम सञ्चालनमा नहुँदा पार्टीर्कै विभिन्न समूहका नेता र उनीहरूका भनाइको उछितो काढेर दिन कटाइरहेका छन्

यतिबेला मुलुकको सबैभन्दा ठूलो र सत्ताको बागडोर सम्हालेको पार्टी नेकपाको सम्पूर्ण नेता/कार्यकर्ता बेरोजगार जस्ता देखिएका छन् । पार्टी ठूलो छ, सत्ताको चाबी समातेर बसेको पार्टीका कार्यकर्ताहरू सामाजिक सञ्जाल रंगाएर बस्नु विडम्बनापूर्ण छ । कार्यकर्ताहरू पार्टीका कुनै नीति तथा कार्यक्रम सञ्चालनमा नहुँदा पार्टीकै विभिन्न समूहका नेता र उनीहरूका भनाइको उछितो काढेर दिन कटाइरहेका छन् ।

जनताको बीचमा पार्टी कार्यक्रमविहीन जस्तो देखिएको छ । जनता र आम कार्यकर्तासामु विशाल जनमत भए पनि नेकपालाई विनाकार्यक्रम चलिरहेको नेपाली कांग्रेसजस्तो पार्टीसँग दाँजेर तुलना गर्न थालिएको छ ।

यसर्थ, आम कार्यकर्तालाई परिचालन गर्न, सक्रिय बनाइराख्न जनता र पार्टीबीच सम्बन्ध टाढिन नेकपाले जनताको बीचमा ठोस कार्यक्रममा साथ उपस्थित भइरहन आवश्यक छ ।

विद्यमान कोरोना महामारीका बीचमा समेत विज्ञान तथा प्रविधिलाई आत्मसात गर्दै विभिन्न राजनीतिक कन्फ्रे‍न्स, जनचेतना जगाउने किसिमका प्रशिक्षणमुलक गतिविधि जारी राख्नुपर्छ ।

सबैभन्दा ठूलो विषय कोरोना महामारी विरुद्धका भिडियो कन्फ्रेन्स, सामग्री प्रसारण, वरिष्ठ नेताहरूका राजनीतिक तथा वैचारिक वक्तव्य, भिडियो भाषण लगायत काम निरन्तर जारी राख्नुपर्छ । नेकपाजस्तो विशाल पार्टीले प्रविधिको उच्चतम उपयोग गर्दै नयाँ राजनीतिक गतिविधि थालनी गर्न विलम्ब गर्नुहुँदैन ।

विचारमा एकरुपता

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रको एकतापश्चात पार्टीमा विचारमा पनि एकरुपता बनाउन जरुरी देखिन्छ । नेकपाको आगामी विचार के हो ? कार्यक्रम योजनाहरू के-के हुन् ? नेकपाका लक्ष्य, उद्देश्य के हुन् ? यी सबै एजेन्डामा पार्टी बीच छलफल बहस गरी विचारमा पनि एकरुपता हुन जरुरी देखिन्छ । नेकपाको विचार तथा कार्यक्रम आज पनि पूर्वएमाले र पूर्वमाओवादीका दुई फरक फरक विचार, कार्यक्रम तथा संस्कृति प्रकट हुँदै आइरहेका छन । कार्यकर्ता कायम गरेर पार्टीको गति बढाउन जबज र एकाइस्ाौं शताब्दीको जनवादको विचारधारा बीचमा व्यवहारमा एकरुपता ल्याउन जरुरी छ ।

माथि व्याख्या गरिएका जति पनि विषयवस्तुहरू छन् । यी विषय वस्तुहरूमा तत्कालै पार्टीका नेताहरूले ध्यान दिएनन् भने नेकपा पार्टीको भविष्य त्यति राम्रो देखिँदैन । हैन, पार्टीभित्र उठेका जे जति समस्याहरू छन ।

यी समस्याहरूलाई विधि, पद्दति र विधानअनुसार पार्टीका बैठकहरूमा छलफल गरेर पार्टीलाई एकरुपताका साथ सञ्चालन गर्ने हो भने नेकपा पार्टीको सुन्दर भविष्य छ । यो पार्टीमा लागेका हजारौं नेता कार्यकर्ताहरूको सुन्दर सपना साकार हुनेछ । लाखौं नेता कार्यकर्ताहरूले नेतृत्वलाई सलाम गर्नेछन् । भविष्यका दिनहरूमा पनि आगामी पुस्ताले अहिलेका नेतृत्व तहमा रहेका नेताहरूलाई सम्झिइरहनेछन् । सम्मान गरिरहने छन् ।

तर, इतिहासको कालखण्डमा जस्तै फेरि पनि कम्युनिष्ट पार्टीलाई जुट्न नदिने, टुटफुट गर्ने कुनै नेताहरूले सोचेका छन् भने आम कार्यकर्ताले त्यस्ता नेताहरूलाई इतिहासकै कलङ्कका रुपमा बुझ्ने छन् ।

लाखौं कार्यकर्ताको भावनाअनुसार फेरि पनि तपाईहरू सुधि्रएर नेकपालाई जनपि्रय पार्टी बनाउन लाग्नुहोस् । पार्टीलाई एक ढिक्का बनाउनुहोस् । हजारौं शहिदहरूको सपना पूरा गर्नुहोस् । तपाईहरूलाई सुनौलो मौका छ । यदि यो मौका गुमाउनु भयो भने हालको नेतृत्वले राजनीतिमा सन्यास लिँदा हुन्छ ।

(लेखक नेकपाका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment