Comments Add Comment

स्टेजबाट पालिएका संगीतकर्मीमाथि कोरोनाको बज्रपात

भविष्यको चिन्ताले आत्तिन थाले गायक-गायिका

कोरोना भाइरसको संक्रमण नभएको भए, विश्व पहिलेको जस्तै आफ्नै गतिमा दौडिरहेको भए, यतिबेला धेरै नेपाली गायक-गायिका देश र विदेशका स्टेज कार्यक्रमहरूमा दर्शकलाई नचाइरहेका हुन्थे । तर कोरोनाको कहरले अन्य क्षेत्रजस्तै संगीत क्षेत्र पनि ठप्प बनेको छ । कलाकर्मीहरू घरभित्र सुतेर दिन काटिरहेका छन् ।

हुन त कोरोनाको असर विश्वव्यापी भएकाले अन्य देशका संगीतकर्मीको हालत पनि उही हो । जस्टिन बिवर, सेलेना गोमेज, रिहानाजस्ता विश्वचर्चित गायक-गायिकाले आफ्नो स्टेज कार्यक्रम स्थगित गरेर बसेका छन् । धेरै देशहरूमा त अहिले ‘स्टेज सो’ मा रोक नै लगाइएको छ । सम्भवतः यो वर्ष गायक-गायिकाहरू स्टेजमा फर्किन सक्ने अवस्थामा छैनन् ।

नेपाली संगीत क्षेत्रको कुरा गर्दा, यहाँ धेरै कलाकारहरू ‘स्टेज सो’बाटै पालिएका छन् । विश्व संगीत युट्युबमा केन्दि्रत हुँदै गएको हुँदा अहिले एल्बमको बजार छैन । युट्युबको भ्युजबाट कमैले मात्रै पैसा कमाउँछन् । त्यसैले अधिकांश नेपाली गायक गायिकाको ८० प्रतिशत आम्दानीको स्रोत स्टेज कार्यक्रम थियो ।

नेपालमा ठूला चाडपर्वहरू आउँदा प्रायः चलेका कलाकारहरू स्वदेशमा भेटिने थिएनन् । दशैं-तिहारदेखि नेपाली नयाँ वर्षसम्म विभिन्न देशमा रहेका नेपालीहरूबाट उनीहरूलाई डिमान्ड आउँथ्यो । एकपटक विदेश यात्रामा निस्किँदा कलाकारहरूले लाखौं आम्दानी गर्थे । अहिले यसमा पर्दा लागेको छ ।

यसपाली चाडपर्वको सिजन नजिक आउँदै छ । डेढ महिनापछि तिज र त्यसपछि दशैं-तिहारको माहोल सुरु हुँदैछ । तर संगीत क्षेत्रमा कुनै चहलपहल छैन । सम्भवतः यो वर्षको चाडपर्वमा संगीतकर्मीहरू स्टेजमा उक्लिन पाउने छैनन् । न विदेशमा न स्वदेशमा, कतै पनि स्टेज कार्यक्रमहरू हुने सम्भावना कम रहेको छ । त्यसैले संगीतकर्मीहरू तनावमा छन् ।

सुरुमा नेपालमा एक साता लकडाउनको घोषणा हुँदा सबैले सामान्यरुपमा लिएका थिए । कलाकारहरू पनि केही दिन परिवारसँगै बिताउन पाइयो भनेर चित्त बुझाउँदै थिए । तर लकडाउन ३ महिनासम्म लम्बिएपछि उनीहरू आत्तिन थालेका छन् । भविष्यको चिन्ताले सताउन थालेको उनीहरू बताउँछन् ।

लकडाउन पूर्णरुपमा खुल्ला भएपछि समाजका अन्य क्षेत्रहरू पनि खुल्दै जालान् । तर मनोरञ्जनको क्षेत्र पुरानो अवस्थामा फर्किन निकै समय लाग्न सक्छ । अबको एक वा दुई वर्ष हलमा फिल्म नचल्न सक्छन् । स्टेजमा दर्शक नआउन सक्छन् । यसले कलाकारहरूको रोजीरोटीमा प्रश्न उठ्ने अवस्था आएको छ ।

कोरोनाको चपेटाले संगीतकर्मीको केही महिनाको सेड्युलमात्र भत्काइदिएको छैन । अब के हुने हो भन्ने अन्योल छ । कतिपय गायक-गायिका पेसाबाटै पलायनको कुरासमेत गर्न थालेका छन्

गायक हिमाल सागर तीन महिना अगाडि स्टेज कार्यक्रमको सिलसिलामा अमेरिका पुगे । उनले कल्पना पनि गरेका थिएनन् यति लामो समय अमेरिकामै बित्ला भन्ने । त्यो पनि घरभित्रै कैद भएर ।

अमेरिकामा नेपाली नयाँ वर्षलाई लक्षित गरेर प्रस्तुति दिन गएका उनी लकडाउनका कारण त्यतै रोकिएका हुन् । उनका निर्धारित सोहरू पनि सबै रद्द भए । हाल भर्जिनियामा एक नेपाली साथीको घरमा आश्रय लिइरहेका उनको बेचैनी दिन प्रतिदिन बढिरहेको छ । तर कुनै विकल्प छैन उनीसित । सरकारले लामो समयपछि विदेशबाट नेपाली फर्काउने निर्णय लिए पनि उनको पालो कहिले आउने हो थाहा छैन ।

कोरोना नहुँदो हो त गायक प्रमोद खरेल अहिले निःसन्देह विदेश यात्रामा हुन्थे । बहराइन, कुवेत, साइप्रस हुँदै एक महिना लण्डन र २ महिना अमेरिका टुरको तयारीमा उनी थिए । दशैंसम्मको तालिका बनाएर बसेका प्रमोद अहिले घरमै छन् ।

गायक प्रकाश सपुतको अवस्था पनि उस्तै छ । उनी पनि अहिले इजरायल, ओमान हुँदै न्युजिल्याण्ड र बेलायतको यात्रामा रमाइरहेका हुन्थे । गायक हेमन्त शर्माको सेड्युल पनि उस्तै थियो ।

कोरोनाको चपेटाले उनीहरूको केही महिनाको सेड्युल मात्र भत्काइदिएको छैन । अब के हुने हो भन्ने अन्योलसमेत अगाडि छ । कतिपय गायक-गायिका पेसाबाटै पलायनको कुरासमेत गर्न थालेका छन् ।

जागिर पाए गर्छु : हेमन्त शर्मा

स्नातकसम्मको अध्ययन गरेका गायक हेमन्त शर्मा अहिले पत्रपत्रिकामा जागिर खुलेको विज्ञापन हेरिरहेका छन् । उनले अनलाइखबरसँग भने-‘मलाई काम गर्नमा कुनै लाज छैन । अझै ६ महिना स्टेज खुलेन भने पनि धानिन सक्छु भन्ने लागेको छ । तर त्यसपछि भने टिक्न गाह्रो छ । यसैले कतै जागिर पाएँ भने काम गर्ने सोचमा छु ।’

हेमन्तले स्टेज सोका लागि सबै कुरा सामान्य हुनुपर्ने भएकाले कोरोनाका भ्याक्सिन नआएसम्म संगीत क्षेत्र पुरानो अवस्थामा फर्किन सम्भव नभएको बताए । उनले भने- ‘मसँग कुरा गर्ने धेरै कलाकार अलमलमा छन् । केही दिन लकडाउन हुँदा त शरीरले पनि सुख पाएको थियो । तर लकडाउन लम्बिदै गएपछि मानिसमा मानसिक र आर्थिक समस्या सुरु हुन थालेको छ । यसलाई बिर्सन पनि अरू काम गर्नुको विकल्प छैन ।’

हेमन्तले नेपालमै एउटा स्टेज कार्यक्रममा गीत गाउँदा ४० देखि ५० हजारसम्म बुझ्थे । विदेशी कार्यक्रमका लागि जाँदा ८० हजारदेखि एक लाख रुपैयाँसम्म लिने गर्थे । हङकङ, अस्ट्रेलियाको कार्यक्रमका लागि भिसा हातमा लिएर बसेका हेमन्तले अहिले सबै गुमाउनु परेको छ ।

उनले भने-‘मैले त घाँटी हेरेर नै हाड निलिरहेको थिएँ । गाडीको किस्ता, घर खर्च, आफ्नो खर्च गर्दा अब बिस्तारै खर्च धान्न गाह्रो हुने अवस्था आएको छ । परिस्थिति सहज भएन भने वैकल्पिक काम खोज्नुपर्छ ।’

हेमन्तले स्टेज कार्यक्रम सहज भएपछि ६ महिना आफूले आधा पारिश्रमिकमा काम गर्ने घोषणासमेत गरेका छन् ।

उनले भने- ‘एउटा स्टेज कार्यक्रममा गायक पुग्दा हुने आम्दानी धेरैतिर जोडिएको छ । उसले गीत गाएपछि नै एउटा गीत तयार गर्न सक्छ र भिडियो बनाउँछ । त्यसैले म कलासँग जोडिएका सबैलाई केही महिना आधा पारिश्रमिकमा काम गर्न आग्रह गर्दछु ।’

राम्रा प्रतिभा गुम्न सक्छ : प्रमोद खरेल

लकडाउन र कोरोना सन्त्रासका कारण गायक प्रमोद खरेलको वैशाखदेखि कात्तिकसम्मको विदेश यात्रा रोकियो । उनले भने-‘कति रकम घाटा भयो भनेर त हिसाब निकाल्न गाह्रो छ । तर धेरै गुमाउने केही गायक-गायिकामा म पनि पर्छु ।’

प्रमोदले कोरोनाका कारण राम्रा गायक-गायिका संगीतबाट पलायन हुन सक्ने बताए । उनले भने- ‘स्थापित गायक-गायिकालाई त स्थिति सहज भएपछि फेरि काममा फर्किन गाह्रो नहोला । तर यो क्षेत्रमा केही गर्छु भनेर आउँदै गरेका, आउने सोच बोकेका धेरै प्रतिभाहरूले अरु पेसा रोज्ने अवस्थाको सिर्जना हुँदैछ । नेपाली म्युजिक क्षेत्रले राम्रा प्रतिभा गुमाउन सक्छ ।’

उनी थप्छन्, ‘एउटा गायकले स्टेज कार्यक्रमबाट कमाएर ल्याउँदा उसको परिवार मात्र होइन, एउटा म्युजिक भिडियोमा काम गर्ने प्राविधिकको परिवार पनि लाभान्वित हुने गर्छ । त्यसैले यसको असर सबैतिर परेको छ ।’

यस्तो अवस्थामा पनि गायक-गायिकालाई स्टेजकै चिन्ता रहेछ भनेर केही मानिसहरूले सोच्न सक्ने भन्दै प्रमोद भन्छन्-‘म्युजिक क्षेत्रमा लाग्ने मानिसहरूका लागि यो नै उनीहरूको जीवन चलाउने माध्यम हो । त्यसैले उनीहरूका परिवारदेखि यो क्षेत्रमा लाग्ने हरेक मानिसका परिवारलाई यसको महत्व धेरै छ ।’

जीवनशैली परिवर्तन आवश्यक : प्रकाश सपुत

लकडाउनका कारण प्रभावित बनेका गायक प्रकाश सपुत लामो समयको बाग्लुङ बसाइपछि सोमबार काठमाडौं फर्किएका छन् । उनले भने- ‘काठमाडौंमा अवस्था सामान्य हुन थालेकाले गीत रेकर्ड गर्न सकिन्छ कि भनेर म फर्किएको हुँ ।’

उनले अब गायक-गायिकाले आफ्नो जीवनशैली फेर्नुपर्ने बताए । सपुतले भने-‘म कलाकार हुँ भनेर तडकभडकपूर्ण जीवनशैली फेर्न आवश्यक छ । हामीले आममानिस जस्तै जीवनलाई सरल बनाउनुपर्ने खाँचो छ ।’

स्टेज कार्यक्रममा नजाँदा लाखौंको घाटा भएको बताउँदै उनले भने-‘अहिले नै मैले विकल्प सोचिहालेको छैन । किनकि हामीले जानेको अरू काम गर्नका लागि पनि त्यो क्षेत्रको अवस्था के हुने हो भनेर पहिला बुझ्नुपर्छ । सबैतिरको अवस्था नै अहिले यस्तै भएकाले नयाँ व्यवसाय के गर्ने भनेर सोच्न सकिने अवस्था छैन ।’

प्रकाश कोरोनाको सन्त्रास नभएको भए ‘परदेशी २’को छायाङ्कनका लागि अमेरिका जाने तयारीमा थिए । यसपछि, उनको यूके, न्युजिल्याण्ड, ओमान, इजरायललगायतका देशमा स्टेज कार्यक्रम तय भइसकेको थियो । उनले यी सबै ‘स्टेज सो’मा पुग्न नपाउँदा २० देखि २५ लाख घाटा लागेको सुनाए ।

अन्यौलमा संगीत

अन्य क्षेत्रजस्तै संगीत क्षेत्र अहिले सुनसान छ । धेरै कलाकार के गर्ने के नगर्ने भन्ने अवस्थामा छन् । एउटा गीत हिट भएर स्टेजबाटै जीवनयापन गरिरहेका कलाकार धेरै छन् । अब उनीहरूको जीवनशैली समस्यामा पर्न थालेको छ ।

संगीत क्षेत्रसँग सम्बन्धित केही संघ-संस्थाले सरकारसँग विभिन्न माग प्रस्तुत गरिरहेका छन् । तर सरकारले माग पूरा गरिदेला भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन । धेरै सर्जक डिसेम्बरसम्म भ्याक्सिन बनिसक्ने र यसपछि विदेश यात्राको बाटो खुल्ने आशामा छन् । तर यो केवल आशा हो ।

गायक प्रमोद खरेल भन्छन्-‘स्टेज सो सुरु हुनु भनेको संसार कोरोनाभन्दा पहिलेको अवस्थामा फर्किनु हो । यसका लागि समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment