+
+

काहीँ नभएको चेकिङ नागढुंगामा !

गौरव पोखरेल गौरव पोखरेल
२०७७ असार ८ गते २१:३५

८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे ।

सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागु गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग तथा कार्यालयहरू पनि खुल्न थालेका छन् । सरकारी कार्यालय एवं पसल–व्यवसायहरू खुल्न थालेपछि विभिन्न जिल्लामा गएका मानिसहरू उपत्यका फर्किन थालेका छन् ।

तर उपत्यका छिर्ने मुख्य नाका नागढुंगाको दृश्य हेर्दा काठमाडौं फर्किन सजिलो चाहिँ छैन ।

सरकारको अदूरदर्शी, अव्यावहारिक एवं लापरवाहीयुक्त निर्णयका कारण उपत्यका छाड्दा जनताले जसरी सास्ती भोग्नुपरेको थियो, अहिले काठमाडौं फर्कंदा पनि त्यस्तै सास्ती व्यहोर्नु परिरहेको नागढुंगामा प्रष्टै देखियो ।

काहीँ नभएको चेकिङ नागढुंगामा !

लकडाउन खुकुलो भएसँगै काठमाडौंमा सरकारी कार्यालय र निजी पसलहरू खुल्न थालेको सुनेपछि सुर्खेतका रमेश गुरुङ शनिबार काठमाडौंका लागि हिँडे । एक निजी विमान कम्पनीमा कार्यरत उनलाई कम्पनीले बोलाउन थालिसकेको थियो ।

‘काठमाडौं आउनलाई पास चाहिन्छ भन्ने सुनेको थिएँ’, उनले सुनाए, ‘प्रशासनमा जाँदा पास लिनलाई दुई/तीन दिन लाग्ने थाहा पाएँ ।’ वडाको सिफारिस, आरडीटी परीक्षणसहित अन्य झन्झटिलो प्रक्रियामा पर्दा समय लाग्ने भएपछि उनले त्यतिकै हिँड्ने निधो गरे ।

‘जोर–बिजोर प्रणालीअनुसार चलाउन मिल्ने बाइकमा हिँडें‌, बाटोमा कतै पनि केही सोधपुछ भएन’, गुरुङले अनलाइनखबरसँग भने, ‘एकैपटक काठमाडौंको चन्द्रागिरि नगरपालिका, नागढुंगा नजिक सिस्ने खोलामा आइपुगेपछि रोकिएँ ।’

पास नभएको भन्दै उनलाई प्रहरी अधिकृतहरूले आइतबार अपराह्न सुर्खेतै फर्किन निर्देशन दिए । ‘बाटोमा कतै पनि चेक नभएपछि काठमाडौं पुगिने रहेछ भन्ने लागेको थियो’, उनले भने, तर ‘काठमाडौं छिर्नेबेलामा कडा छ भन्ने थाहै भएन । उतै नरोक्दा दुःख पाइयो ।’

प्रहरीले सुर्खेत फर्किन भने पनि गुरुङ मान्ने पक्षमा थिएनन् । ‘यहाँसम्म आइपुगेपछि फर्किने भन्ने कुरै हुँदैन, हिँडेर भए पनि गइन्छ’, उनले भने ।

दोलखा घर भएका नवीनकुमार पाख्रिन बिरामी श्रीमतीलाई लिएर दुई दिनअघि नुवाकोटस्थित ससुराली गएका थिए । घर जाँदा पाख्रिन दम्पत्तिलाई न कसैले पासबारे सोधीखोजी गर्‍यो, न उनीहरूले दुईजना किन चढेको भन्ने प्रश्नको सामना नै गर्नुपर्‍यो ।

उनी भन्छन्, ‘बुढीलाई माइत पुर्‍याउन जाँदा केही भएन, फर्किँदा पनि केही नहोला भन्ने सोचेर आएँ ।’

नागढुंगामा आइपुगेपछि भने पाख्रिन पनि प्रहरीको फन्दामा परेका छन् । ‘पहिल्यै चेक भएको भए पास बनाएर आउँथे, प्रहरीले व्यर्थै दुःख दियो’, पाख्रिनले सुनाए, ‘अब केही घन्टा बसेर जसरी पनि घर जाने हो ।’

फर्काइएकाेमध्येमा उद्योग मन्त्रालयका सुपरभाइजर डोलप्रसाद आचार्य पनि थिए। मन्त्रालयकै परिचयपत्रका आधारमा हिँडेका उनी नागढुंगामा रोकिए । ‘हाम्रो गाउँपालिकामा कोरोनाको संक्रमण पनि छैन, बाटोमा ज्वरो नाप्ने अथवा अन्य कुनै परीक्षण पनि भएन’, उनले सुनाए, ‘त्यसैले यही परिचयपत्रकै आधारमा आएको हुँ ।’

‘आर्थिक वर्षको क्लोजिङको समय आएकाले अफिसले बोलाएकोले फर्किएँ’, आचार्यले अनलाइनखबरसँग भने, ‘यहाँ केही असमझदारी भयो, प्रहरीसँग समन्वय गरिरहेका छौं ।’

आरडीटी परीक्षण गर्नै तनाव

कञ्चनपुरका नरेन्द्र भाटले भने आरडीटी परीक्षण गर्नै नेपालगञ्जसम्म पुग्नुपर्‍यो ।

‘काठमाडौं जानलाई आरडीटी रिपोर्ट चाहिने भन्ने सुनेपछि अस्पताल गएँ, तर सेती र महाकाली अस्पतालमा जाँचै हुँदैन रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले भेरी अस्पताल नेपालगञ्जमा गएर परीक्षण गरायौं ।’

भाटले नेपाली सेनाबाट अवकाश प्राप्त बुबालाई लिएर काठमाडौं आएका थिए । ‘बुबालाई पायल्स र प्रेसरको समस्या छ, जचाउनु पर्‍यो भनेर आएको थिएँ’, भाटले सुनाए, ‘उहाँको पेन्सन पट्टा पनि बनाएको छैन, त्यसका लागि पनि काठमाडौं आउनैपर्ने थियो ।’

सामान्य अवस्था भएको भए, सेनाले नेपालगञ्ज नै पठाइदिने भए पनि हवाई सेवा बन्द भएकाले काठमाडौं नै आउनुपरेको उनले सुनाए । जेसीबी अपरेटर लोकराज शाहीलाई पनि ठेकदारले काममा बोलाइसके । अहिले उनी उच्च अदालत, पाटनमा निर्माणको कार्यमा खटिएका थिए । तर ठेकदारले कुनै पनि परिचय पत्र नदिएकाले सिस्ने खोलामा रोकिएका छन् ।

‘मलाई त जोर–बिजोर भनेपछि पास नचाहिएला भन्ने लागेको थियो’, उनले सुनाए, ‘उताबाट पनि केही डकुमेन्ट पठाइदिएको छैन, समस्यामा परे‌ं ।’

प्रहरीको आँखा छल्दै छिर्न बाध्य

पश्चिम नेपालगञ्ज होस् या पूर्वी झापा मोरङ, जहाँबाट आए पनि काठमाडौंको सीमा नाकासम्म उनीहरूलाई कुनै समस्या हुँदैन । एकैपटक नागढुंगा नाकामा मात्र पासको जाँच हुँदा नागरिकले सास्ती भोग्ने गरेका छन् ।

नागढुंगामा पास नभएका सवारी साधनलाई फर्काइने गरिएको छ । थानकोटका डीएसपी घनश्याम श्रेष्ठ दैनिक एक सय बढीलाई फर्काइने गरिएको बताउँछन् । कतिपयले भने विभिन्न व्यक्तिमार्फत ट्राफिक र प्रहरीलाई दबाब दिएर पनि नाकाबाट फुत्किने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

सरकारले लकडाउनलाई व्यवस्थित गर्ने भन्दै मोटरसाइकलमा एक जना र सानो गाडीमा तीनजना मात्रै चढ्न पाइने भनेको छ । तर हामी नागढुंगा नाकामा पुग्दा यो नियमको पालना भएको देखिएन ।

नागढुंगा नाकाबाट मात्रै प्रहरीले दैनिक एक सय बढी साना तथा ठूला सवारी साधनलाई फर्काइने गरेको छ । तर अधिकांश नागरिक केही तल ओर्लिएर पुनः हिँड्दै आउने पनि गरेका छन् ।

कतिपय प्रहरीको आँखा छलेर भाग्ने पनि गरेका छन् । सिस्नेखोलामा प्रहरीबाट उम्किन सफल भएकी एक महिला नागढुंगा चेकपोस्टमा समातिइन् ।

‘गोरखामा पास बनाउनै समस्या भयो, त्यसैले हिँडेको थिएँ । अन्त काहीँ चेक भएन, एकैपटक यहाँ आएर फर्किन भन्छ’, नाम उल्लेख नगर्ने शर्तमा उनले भनिन्, ‘एकजना साथीले ट्राफिकलाई भन्दिन्छु भनेको थियो, अहिले फोनै उठाएन ।’

प्रहरीले भने सरकारी आदेशलाई अटेरी गरेर भाडा लिएर सवारीसाधन चलाउने तीनजना सवारी चालकलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएको छ ।

यद्यपि, सर्वसाधारण उपत्यका छिर्ने क्रममा कम भएको छैन । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘अहिले पनि दैनिक साढे २ सयदेखि तीन सय सवारी साधन भित्रिने गरेको रेकर्ड छ ।’

पासविना आए पनि अत्यावश्यक अवस्था भए, उपत्यका प्रवेश गर्न दिइने गरिएको उनले बताए । यद्यपि, सामान्य अवस्थामा पनि आएको भए फर्काइने गरिएको उनी बताउँछन् ।

कतिपय सर्वसाधारणहरू भने विभिन्न व्यक्तिमार्फत ट्राफिक प्रहरी र प्रहरी अधिकृतहरूलाई फोन गर्न लगाएर छाड्न अपिल पनि गर्ने गरेका छन् । नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारी भन्छन्, ‘सोर्स लाउनेको साध्ने नै छैन, प्रहरीका हाकिमदेखि नेताहरूका दैनिकजसो फोन आउँछन् ।’

नागढुंगासम्म गाडी आउन दिनेलाई पनि कारबाही होस् : व्यवसायी

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने विभिन्न जिल्लाबाट नागढुंगासम्म गाडी कसरी आयो भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताउँछन् ।

‘निजी नम्बरको स्कर्पियो र मालवाहक गाडीले खुलेआम मान्छे बोकेर ल्याएको छ, उनीहरूलाई खुला छाड्ने हो भने लकडाउन किन गर्ने ?’, सिटौलाले प्रश्न गरे, ‘मुद्दा चलाएर बसलाई दुःख दिने काम मात्र नहोस्, यहाँसम्म उनीहरू कसरी आइपुगे, त्यसको पनि अनुसन्धान हुनुपर्छ ।’

निजी स्कर्पियोलगायतले पनि महँगो भाडा लिएर सर्वसाधारण ल्याउने गरेको सुनाउँदै उनी भन्छन्, ‘यसरी हिँड्न कसले दिइरहेको छ, यसले हाम्रो बदनाम भएको छ, मैले यो विषयमा गृहदेखि ट्राफिकसम्मै भनिसकेको छु ।’

‘नागढुंगामा मात्र कारबाही हुने हो भने राजधानी बाहिर चाहिँ देशै होइन ?’, सिटौला प्रश्न गर्छन् । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी अन्तरजिल्ला आवतजावतमा अधिकार प्राप्त निकायबाट प्राप्त पास हेरेर मात्र यात्रा गर्न दिन प्रहरीलाई स्पष्ट निर्देशन दिइएको बताउँछन् ।

‘जिल्लाभित्रको हकमा मात्र जोर–बिजोर हो, अन्य चेकजाँचमा कडाइ गर्न निर्देशन दिएका छौं, यसमा कुनै फेरबदल भएको छैन’, अधिकारीले भने । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाही पनि बाटोमा आउने व्यक्तिको पास भए/नभएको परीक्षण गर्नुपर्ने बताउँछन् । तर परीक्षण भए/नभएको भने आफूले पनि सोधेर मात्र थाहा हुने उनले बताए ।

तस्वीर/भिडियो : चन्द्र आले/आर्यन धिमाल – अनलाइनखबर

‘प्राप्त निर्देशनअनुसार कडाइ गरेका छौं’

घनश्याम श्रेष्ठ, डीएसपी, थानकोट

पछिल्लो चरणमा लकडाउनलाई थप व्यवस्थापन गर्ने क्रममा पसल, व्यवसाय खुल्न थालेका छन् । विभिन्न कार्यालय खुलेका छन् । यसले गर्दा व्यवसायीसहित कार्यालय सञ्चालनका आवश्यक कर्मचारीको आवतजावत बढेको छ ।

प्रत्येक दिन साढे दुई सयदेखि तीन सय गाडी आइरहेको देखिन्छ । अधिकांश पास लिएर आएका हुन्छन् । कतिपय अत्यावश्यक अवस्थामा पासविनै पनि आएका हुन्छन् । कसैको मरिमराउको घटना हुन्छ, कोही बिरामी परेर हस्पिटल जानलाई आउनुभएको हुन्छ । त्यस्तो अवस्थालाई विचार पनि गरिदिने गरेका छौं ।

तर कतिपयचाहिँ ‘जेनुन इस्यु’ पनि नभई आउने गरेका छन् । उनीहरूको हकमा फर्काउने गरेका छौं। काठमाडौं र धादिङको सीमा सिस्ने खोलमै पनि अधिकृत राखेर चेक पोइन्ट खडा गरेका छौं । त्यहीँबाट पनि भेरिफाइ गरेर सर्वसाधारणलाई माथि पठाइन्छ ।

हामीलाई काठमाडौं प्रवेशमा कडाइ गर्नुभन्ने निर्देशन छ । त्यहीअनुसार गरिरहेका छौं । केही चालकलाई मुद्दा पनि चलाएका छौं ।

लेखक को बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment