Comments Add Comment

घोराही उपमहानगरको बजेट १ अर्ब ८५ करोड २२ लाख

कोरोनाविरुद्ध लड्न ११ करोड ३६ लाख

१० असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ७८ करोड २९ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष घोराहीको बजेट ७ करोेडभन्दा पनि बढेको छ ।

घोराही उपमहानगर उपप्रमुख सीता सिग्देल न्यौपानेले बुधबार नगरसभामा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेकी हुन् ।

घोराही उपमहानगरले चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ (५८.६० प्रतिशत) रकम विनियोजन गरेको छ । यस्तै पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार (४१.४०) प्रतिशत रकम विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्न आन्तरिक आयबाट २५ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँटबाट २१ करोड १२ लाख १० हजार ६ सय र संघीय सशर्त अनुदानबाट ६४ करोड ७ लाख रुपैयाँ जुटाउने घोराही उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै संघीय समपुरक अनुदानबाट ७२ लाख, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २ करोड ७१ लाख १९ लाख हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट ३ करोड व्यहोर्ने घोेराही उपमहानगरले जनाएको छ । यसबाट अपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय रुपैयाँ बैंक मौजदातबाट व्यहोरिने घोराही उपमहानगरपालिकाकी उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।

कोरोनाविरुद्ध लड्न ११ करोड ३६ लाख

बजेटमा कोरोना भाइरसको महामारीविरुद्ध लड्न ११ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपप्रमुख सिग्देलले ‘कोरोनाविरुद्ध बाँचौं र बचाऔं’ अभियान जारी रहेको उल्लेख गर्दै आइसोलसन वार्ड निर्माण, क्वारेन्टिन व्यवस्थापन, प्रवद्र्धनात्मक कार्यक्रम एवम् जनशक्ति व्यवस्थापनलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने गरी सो बजेट खर्च गरिने जानकारी दिइन् ।

कृषि पेशामा जनशक्ति आकर्षित गर्दै उत्पादकत्व बढाउन २ करोड ३९ लाख ३० हजार रुपैयाँ र पशुपंक्षी व्यवसाय प्रवर्द्धन गर्न १ करोड १२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सबै वर्गमा पहुँच विस्तार गर्दै विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन ५३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।

यसैगरी पूर्वाधार विकासतर्फ ५४ करोड ६ लाख १८ हजार र पर्यटकीय सम्पदा संरक्षण तथा सम्बद्र्धन गर्न १ करोड ५४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

घोराही उपमहानगरपालिकाभर खरको छाना विस्थापित गर्ने अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खरको छानो विस्थापित गर्ने, विपदको पूर्वतयारी, उद्धार एवम् राहतका लागि ३ करोड ११ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

घोराहीलाई सफा, स्वच्छ र सुन्दर नगरमा रुपान्तरण गर्न ५९ लाख ५० हजार रुपैयाँ छुट्टाइएको छ ।

विपन्न महिलाहरुको क्षमता अभिवृद्धि गर्न, पिछडिएका वर्ग, लोपोन्मुख जातजाति, मुस्लिम महिलाको सशक्तीकरण, बालमैत्री शासनको प्रवद्र्धन, जेष्ठ नागरिकको सामाजिक सुरक्षाको प्र्रत्याभूतिसहित फरक क्षमता भएका व्यक्तिहरुको सशक्तीकरण एवम् मूल प्रवाहीकरणका लागि ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

समाजमा हुने कलह, मनमुटावलाई मेलमिलापको माध्यमबाट निरुपण गर्न एवम् कानुनीय सहायता कोषलाई निरन्तरता दिने गरी कानुनी मामिला शाखाका लागि ११ लाख ३० हजार बजेट छुट्टाइएको छ ।

घोराही उपमहानगरले सहकारी संस्थाको एकीकरणलाई बढावा दिँदै उत्पादनमुलक सहकारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । उद्यमशीलता विकास मार्फत् रोजगारी अभिवृद्धि गर्न सहकारी तथा रोजगार प्रवद्र्धन तर्फ १ करोड ६२ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

स्वच्छ र गुणस्तरीय खाद्य वस्तुमाथिको पहुँच वृद्धि गर्न उपभोक्ता हित संरक्षणतर्फ ११ लाख ५० हजार र सरकारी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउन १ करोड ७३ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment