Comments Add Comment

न्युरोडबाट १० लाख लुटेको अभियोगमा दुई जना प्रहरी पक्राउ

१० असार, काठमाडौं । लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले हल्वदार धिरेन विष्ट र प्रहरी जवान बिक्रमकुमार चन्दलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार विष्ट काठमाडौं प्रहरी परिसर, टेकुको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द २ नम्बर गणमा कार्यरत थिए । यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एकैपटक सबै युनिटको घुमुवा टोली परिवर्तन गर्दा उनी गणमा पुगेका थिए ।

उनीहरुमाथि आवश्यक कारबाहीका लागि काठमाडौं प्रहरी परिसर, टेकु पठाइएको एसएसपी थापाले अनलाइनखबरलाई बताए ।

१० लाख लुटेको आरोप

महानगरीय प्रहरी वृत्त, जनसेवामा ८ जेठमा विकास अग्रवालले आफू लुटपाटमा परेको भन्दै जाहेरी दिएका छन् । उनले लुटपाटमा संलग्नको हुलिया पनि बताएका थिए ।

उनले अघिल्लो दिन न्यूरोडमा घटना भएको बताएपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामेरा फुजेट मगाएर अनुसन्धान गरेको थियो । त्यसक्रममा दुई जना प्रहरीले रकम लगेको भेटिएको थियो ।

‘पीडितले फाइनान्सबाट १७ लाख रुपैयाँ झिकेको बताउनु भएको थियो, त्योमध्ये १० लाख रुपैयाँ लगेको भनिएको थियो’, थापाले भने, ‘बुबाको उपचार गराउनु छ भनेर पटकपटक रोइकराइ गर्दा पनि रकम फिर्ता नदिएको पीडितको भनाइ छ ।’

दुई प्रहरी अधिकारीले ७ लाख चाहिँ किन उनीसँग छाडे भन्ने पनि प्रश्न उठेको छ । यसबारे विस्तृतमा अनुसन्धान काठमाडौं प्रहरीले गर्ने जनाइएको छ ।

प्रारम्भमा पीडितले हुण्डीको पैसा बोकेको हुनसक्ने देखिएकाले धम्क्याएर पैसा लिएको हुनसक्ने प्रहरी अधिकृतहरु बताउँछन् । तर, पीडित प्रहरीसम्म उजुरी गर्न भएपछि यो प्रकरण बाहिर आएको हुनसक्ने अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment