Comments Add Comment

अमेरिकामा दुई करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको आशंका

१२ असार, काठमाडौं । अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने आशंका गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले यो आशंका गरेको हो ।

सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले बिहीबार सन्चारकर्मीहरुसँग भने, ‘हाम्रो आँकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ ।’

सीडीसीका अनुसार यस महामारीको चपेटामा धेरैजसो युवाहरु पर्ने छन् । यद्यपि यसको फाइदा के हुनेछ भने युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने छ ।

सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरका अनुसार युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु हो ।

अमेरिकाले युवाहरुलाई जागरुक बनाउन टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग गर्ने योजना बनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को आपतकालीन टिमका प्रमुख डा. माइक रियानका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन । आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ । यस्तै मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment