Comments Add Comment

भारतीय ड्यामले मोरङमा नेपाली भूमि डुबानमा

विराटनगरका मेयर भन्छन् –‘पुल चाहिन्थ्यो, भारतले ड्याम बनायो’

१५ असार, विराटनगर । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको हो ।

डुबानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको छ । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बुधबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।

‘भारतले आईसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बाध्यो । तर निकासका लागि नाला राखिदिएन,’ विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादव भन्छन्, ‘निर्माण गर्दा हामीसँग सल्लाह पनि गरिएन ।’

विराटनगर- १८ भारतसँग सीमा जोडिएको क्षेत्र हो । आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुबानमा परेको अध्यक्ष यादवले बताए । ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं । प्रशासनलाई गुहार्‍यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्, ‘हाम्रो कुरा कसैले सुनेनन्, अहिले डुबान भोग्दैछौं ।’

डुबानका कारण खेतीयोग्य जमिन जलमग्न छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा परेका हुन् ।

असारको झरीले असोजसम्म डुबान, पसल जान बाँसको पुल

बुधनगर क्षेत्रमा डुबानको समस्या धेरै पुरानो होइन । तीन वर्षयता स्थानीयले डुबान भोगिरहेका छन । निकास नाला नहुँदा असारको पानी असोजसम्म जमेर बस्छ । ‘यहाँ असोजसम्म डुबान हुन्छ,’ स्थानीय अशोक यादव भन्छन्, ‘हाम्रो समस्या कसले सुनिदिने ।’

किशोर मण्डल बुधनगरमा पसल सञ्चालन गर्दै आएका छन् । उनको पसल डुबानमा परेपछि सडकबाट पसलसम्म पुग्न आफैँ बाँसको पुल बनाएका छन ।

डुबानका कारण पसलसम्म पुग्न बाँसको अस्थायी पुल बनाउँदै ।

‘मेरो दोकान पहिले डुब्दैन थियो,’ उनले भने, ‘आइसीपीसम्म जाने सडक र रेल्वे लिक बनाउन ड्याम बनाएपछि पसल डुब्न थाल्यो ।’

मेयर भन्छन् – ‘आइसीपीका नाममा भारतले ड्याम बनायो’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले आईसीपी र रेल्वे लिकका नाममा ड्याम बनाएका कारण बुधनगर क्षेत्र डुबानमा परेको बताउँछन् । ‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘ हामीले निकासका लागि पुल बनाउन भन्दैछौं, संघीय सरकारले पहल पनि गरेको छैन ।’

रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकासका लागि पुल नबनाएसम्म विराटनगर– १८ मा डुबान समस्या समाधान नहुने उनले बताए । ‘प्रदेश सरकार र संघीय सरकारलाई भनेका छौं,’ उनले भने, ‘डुबानको समस्या समाधान गर्न सरकारले पुल बनाइदेओस् ।’

आईसीपी क्षेत्रमा पुल नबनाएसम्म डुबानको समस्या सामधान नहुने बताउँदै उनले तत्काल संघीय सरकारले पुल बनाउन पहल गर्नुपर्ने बताए । ‘विराटनगरको अन्य क्षेत्रमा समस्या छैन,’ उनले भने, ‘आईसीपीका कारण बुधनगरमा डुबानको समस्या हो ।’

सीडीओ भन्छन् – केन्द्रमा जानकारी भइसकेको छ

सीमा क्षेत्रमा निर्माण गरेको आईसीपीसम्म पुग्न लिङ्क रोड बनाइएको छ । करिब चार किलोमिटर लिङ्क रोडमा निकासका लागि बनाइएको नालामा पानी कट्न मुस्किल पर्छ । रेल्वे लिकका लागि ड्याम बनाइएको छ । ड्याममा बनाइएको निकास नाला पनि उच्च स्थानमा छ ।

डुबानको अवस्था हेरेका मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल स्थानीयस्तरबाट तत्काल केही गर्न नसक्ने बताउँछन् ।

‘बुधनगर क्षेत्र डुबानमा छ, अवस्थाको बारेमा केन्द्रमा केन्द्रमा जानकारी गराएका छौं,’ उनले भने, ‘आईसीपी उद्योग मन्त्रालय मातहत पर्छ, अध्ययन गर्न प्राविधिक टोली आउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment