Comments Add Comment

नेकपामा कुर्सी विवाद : शीर्षनेतालाई मञ्चबाट झारियो !

१६ असार, काठमाडौं । नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ । मंगलबारको बैठकमा पनि त्यस्तै विवाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।

बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा ।

पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।

शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आएनन् ।

शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा ।

मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

यसअघिका बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

यो पनि पढ्नुहोस नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो

जब नेताहरुले कुर्सी बोक्न थाले….

मंगलबारको बैठकमा पाँचजना नेताको कुर्सी अगाडि राख्न पनि केहीबेर वादविवाद नै भएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले सुरक्षाकर्मी खटाएर शुरुमा सचिवालय सदस्यहरु बस्ने मञ्चका कुर्सी भूइँमा झारे ।

त्यसक्रममा कार्यालय सचिवहरुले दुई अध्यक्षलाई अगाडिका कुर्सीमा राखेर अरु सबै नेताहरुलाई समान लहरमा कुर्सी व्यवस्था गरेका थिए ।

बैठक शुरु हुन लाग्दा हलमा प्रवेश गरेका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले दुई अध्यक्षलाई मात्र अगाडि राखिएकोमा आपत्ति जनाए ।

उनीहरुले पूर्वप्रधानमन्त्रीहरुलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भनेपछि थप कुर्सीहरु अगाडि सारिएको थियो ।

अध्यक्ष प्रचण्ड त्यतिबेलासम्म बैठक हलमा प्रवेश गरिसकेका थिए । यसैबीच उपध्यक्ष बामदेव गौतम पनि बैठक कक्षमा प्रवेश गरे ।

उपाध्यक्षलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भन्दै नेताहरु नै कुर्सी बोकेर अगाडि सरेपछि दुई अध्यक्षसहित पाँचजना नेतालाई अगाडि राखेर समान खालको आसन व्यवस्थापन गरिएको नेकपा स्रोतले जनाएको छ ।

सुरक्षाकर्मीहरु कसको आदेश मान्ने भन्दै हच्किएपछि स्थायी कमिटी सदस्यहरुले नै कुर्सी बोकेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment