Comments Add Comment

चित्तलको मासुसहित एकजना पक्राउ

१६ असार, वीरगञ्ज । पर्सामा चित्तलको मासु खाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सखुवा पर्सौनी गाउँपालिका-१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले सोमबार माझीलाई पक्राउ गरेको हो ।

छापामारीको क्रममा बाह्र बोरको एकनाले बन्दुकसमेत बारामद भएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले जानकारी दिए । ‘एक नाले बाह्र बोर बन्दुक पनि बरामद भएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ,’ उनले थपे ।

डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको उनले बताए ।

सबडिभिजन वन कार्यालय मनवा र पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्टको टोलीले माझीलाई नियन्त्रणमा लिएको थियो ।

छाला र सिंग भने नभेटिएको अनुसन्धान अधिकृत तोकिएका सहायक वन अधिकृत फरमान मियाँले जानकारी दिए । ‘वन्यजन्तुको सिकार गर्नु संगठित अपराध नै हो,’ उनले भने, ‘ चित्तलको अवैध सिकार गरी ल्याएर पकाएर खाएको जस्तो देखिएको छ ।’

पक्राउ परेका माझीसँग बयान लिन बाँकी रहेको र बयानपछि थप कुरा खुल्ने मियाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment