Comments Add Comment

काठमाडौं आइपुग्यो सलह, बने कागको आहारा

१६ असार, काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भुहुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए । ‘ठूलो झुण्ड छ, नागार्जुनको डाँडामा र केही दक्षिणपूर्व ललितपुरतर्फ फर्कंदै गरेको हाम्रा प्रविधिकले पत्ता लगाएका छन्’ उनले भने ।

स्वयम्भुहुँदै उत्तरतर्फ गएको झुण्ड ठूलो थियो, त्यो नार्गाजुनको डाँडामा पुगेर एक समूह ललितपुरतर्फ फर्किएको र एक समूह जंगलमा बसेको वा नुवाकोटतर्फ जान सक्ने हुमागाइँले बताए ।

आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रेहुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो । काठमाडौं आउने सलह त्यही हो वा नयाँ भन्ने नखुलेको प्राविधिकहरूले बताएका छन् । अपराह्न दुई बजे वीरगञ्ज क्षेत्रबाट सलहको एउटा समूह नेपाल प्रवेश गरेको थियो । प्राविधिकहरूले काठमाडौं आएको समूह त्यही हो वा नयाँ हो भनी विश्लेषण गरिरहेका छन् ।

सोमबार पनि रुपन्देहीमा सलहको नयाँ झुण्ड देखिएको थियो । पछिल्लो सूचनाअनुसार दाङ तुलसीपुर क्षेत्रमा पनि सलह देखिएको छ । लमहीमा मकैबारीमा केही क्षति पुर्‍याएर सलह राप्तीको बगरतर्फ गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जानकारी दिएको हुमागाइँले बताए । यस्तै, प्युठान सदरमुकाम खलंगामा पनि सलहको समूह देखिएको केन्द्रले जनाएको छ।

तस्वीरहरू : चन्द्रबहादुर आले/शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment