Comments Add Comment

लोडरको कम्पनले पर्खाल भत्किँदा बालकको मृत्यु

१८ असार, सप्तरी । सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलाइएको थियो ।

लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किँदा उनका १० बर्षीय छोरा उमेशको पुरिएका थिए ।

घरका सबै जना काममा गएका कारण बालक भत्किएको पर्खालले च्यापिएको कसेले थाहा पाएनन् । निर्माण कार्यमा संलग्नहरुले पनि वास्ता गरेनन् । स्काभेटर लगाएर इँटा हटाउने क्रममा पुरिएका बालकको टाउकोमा चोट लाग्यो र, उनको मृत्यु भएको छ ।

पूर्वमा फुलो मियाँको घरदेखि पश्चिम लक्ष्मण साहको घरसम्म आरसिसी ढलान गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

यसका निम्ति छबिल मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका कुनै पनि पदाधिकारी उपस्थित नभएको र खटाइएका लोडर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदा वास्ता नगरेको स्थानीय श्रवणकुमार साहले बताए ।

साहले अति कम्पन दिने लोडर वस्तीमै चलाउनुपर्दा सर्वसाधारणलाई सूचना दिनुपर्नेमा कुनै सूचना नदिई चलाएको बताएका छन् । वडाध्यक्ष सिंघेश्वर मण्डलले जानाजान घटना नगराएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment