Comments Add Comment

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पा¥यो ।’

अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले पछिल्लो अभिव्यक्ति दिएका हुन् ।

१४ औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फैलिएको प्लेग रोगका कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लिएको बताइन्छ ।

अहिले २१ औं शताव्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिन सुरु गरेको थियो । चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गरेका थिए । तर, जब कोरोना संक्रमणले विश्वव्यापी महामारी लियो र अमेरिका सबैभन्दा बढी प्रभावित भयो, तब ट्रम्प चीनमाथि आक्रामक हुँदै आएका छन् ।

उनले जानीबुझी चीनले भाइरस फैलाएको आरोप लगाएका छन् । चीनको पक्षपोषण गरेको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बन्द गराएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट अमेरिकामा २७ लाख ३५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणकै कारण अमेरिकामा १ लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment