Comments Add Comment

विदेशबाट फर्केका ११ सय नेपालीमात्र होटेल क्वारेन्टिनमा

१९ असार, काठमाडौं । लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ । सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म ११ सय यात्रु मात्र होटेलमा बसेको होटेल संघ नेपाल (हान)ले जनाएको छ ।

संघका सदस्य युवराज श्रेष्ठका अनुसार यी यात्रु पनि पुरै १४ दिन भने बसेका छैनन् । खासगरी पीसीआर वा आरडीटी रिपोर्ट लिएर आएका यात्रुलाई घरमै क्वारेन्टिनमा बस्न सक्ने सुविधा दिइएको छ ।

अर्कोतर्फ अहिले पहिलो चरणमा खाडी मुलुक तथा कामको सिलसिलामा गएर दुःखमा रहेका नेपालीलाई प्राथमिकता दिएर घर फर्काइएको छ । उनीहरु अधिकांश सम्बन्धित स्थानीय तहमा निर्माण भएको क्वारेन्टिनमा बसेको बताइन्छ । सोहीकारण होटेलमा बस्नेहरुको संख्या कम भएको होटेल व्यवसायीको अनुमान छ ।

विदेशबाट आएकाहरुलाई सुरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमा राखिन्छ । त्यसपछि मात्र होटल क्वारेन्टिन वा घर जान पठाइन्छ । होटेल क्वारेन्टिनमा बस्नेहरुले खर्च आफैं व्यहोर्नुपर्छ । खर्च व्यहोर्न नसक्नेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने सर्तमा पठाइन्छ ।

होटेल व्यवसायी र सरकारबीच भएको सहमति अनुसार विदेशबाट फर्केर होटेल क्वारेन्टिनमा बस्नेका लागि प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा रकम तोकिएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो । होटेल क्वारेन्टिनमा प्रयोग भएका होटेल चार तारेदेखि पर्यटकस्तरीयसम्म रहेका छन् । न्यूनतम मूल्यसमेत एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो ।

एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । अर्थात् चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्छ । यसअघि होटेल व्यवसायीले न्यूनतम २५ सयदेखि अधिकतम १० हजार रुपैयाँसम्मको दररेट कायम गरी सरकारलाई बुझाएका थिए । पछिल्लो पटक उक्त मूल्य केही घटाउन व्यवसायी तयार भएपछि होटेललाई क्वारेन्टिन बनाउने सम्बन्धमा सहमति भएको थियो ।

होटेलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न हानको सदस्यअन्तर्गत ५७ वटा होटेल तयार छन् । होटेलहरुले बिहान नास्ता–खाना, दिउँसो खाजा र साँझ खाना गरी दैनिक चार पटक खुवाउने व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने व्यवसायीहरु बताउँछन् ।

अहिले दैनिक एक हजार जना नेपालीकाे विदेशबाट उद्दार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment