Comments Add Comment

सांसदको प्रश्न- सलह खान हुन्छ कि हुँदैन ? नेपालमै बच्चा पार्छ कि भारतमा ?

१९ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रण गर्न हेलिकप्टरमार्फत विषादी छर्न सांसदहरुले माग गरेका छन् । साथै उनीहरुले  विज्ञसमक्ष सलहबारे विभिन्न प्रश्न उठाएका छन् ।

सलहको प्रवेश र रोकथामका उपायबारे शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद र मन्त्रालयका विज्ञहरुवीच छलफलको आयोजना गरिएको थियो ।

सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्‍यो भने त्यसलाई नियन्त्रण गर्न नेपालले कस्तो पूर्वतयारी गरेको छ भनेर सांसदहरुले कृषि मन्त्रालयका अधिकारीलाई जिज्ञासा राखेका थिए ।

‘आउँदैन भन्दा भन्दै सलह आयो, आएका सलह नियन्त्रण गर्न ढिलाइ गर्नु हुन्न हेलिकप्टरमार्फत विषादी हालौँ,’ सांसद देवप्रसाद तिमल्सेनाले भने । सलहका कारण कृषि बालीमा हुने क्षतिपछि सरकारले राहत दिन नसक्ने भएकाले कृषकलाई पीडित बनाउन नहुने उनको भनाइ थियो ।

सलह नष्ट गर्न विषादी प्रयोग गर्नुको विकल्प नभएको अर्का सांसद पाल्देन छोपाङले बताए ।

सांसद शान्ता चौधरीले मानिसहरुले सलह खाएको कुरा सुनिएको भन्दै कृषि मन्त्रालयका विज्ञसँग सलह खान हुन्छ कि हुँदैन भनेर सोधिन् । अर्का सांसद घनश्याम खतिवडाले सोधे- भारतबाट आएको नेपालमा सलहले फूल पारेर वंश वृद्धि गर्न सक्छ कि सक्दैन ?

सांसदहरुको जिज्ञासाको एकमुष्ठ जवाफ दिँदै सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका प्रमुख सहदेवप्रसाद हुमागाईँले सलह संकट नटरेको र नेपाल आएका सलह नियन्त्रण गर्न हेलिकप्टरमार्फत विषादी छर्कनुपर्ने अवस्था नआएको बताए ।

नेपाल आएका सलह निस्कृय बन्दै गएको र यिनीहरुको स्वभाव कृषिका लागि धेरै हानीकारक नभएको हुमागाईको जवाफ थियो । ‘सलह संकट टरेको छैन, यस क्षेत्र जोखिममा छ । तर, अहिल्यै सलह नियन्त्रण गर्न विषादि छर्नुपर्दैन,’ उनले भने ।

विषादी प्रयोग गर्दा वातावरणीय चक्र नै बिगि्रने भएकाले त्यो विकल्पमा तत्काल जान नसकिने कार्यदलको निष्कर्ष रहेको हुमागाईले सुनाए । मांसहारी मान्छेले सलह खान कुनै समस्या नरहेको भन्दै संयोजक हुमागाईले सलहमा प्रोटिनको मात्रा उच्च रहेको बताए ।

नेपालमा सलहको वंश विकास हुने वातावरण नरहेको भन्दै हुमागाईले सलह नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वयमा कार्यदलले काम गरिरहेको जानकारी समितिमा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment