Comments Add Comment

खोकनाको ‘रोपाइँ’मा प्रहरी र स्थानीयवासीबीच झडप

२० असार, काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी छ। तर स्थानीयवासीले भने विकासका नाममा सांस्कृतिक सहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

उनीहरूको आन्दोलनमा नेवा: सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।

उनले खोकनाका किसान र बासिन्दामाथि अन्याय भएको भन्दै विकासका नाममा खोकनाको अस्तित्व मेट्ने गरी भइरहेका कामको विरोध जारी राखिने बताए । ‘हामी खोकना बचाउन अन्तिमसम्म लडिरन्छौं, सीमा रक्षा गर्न नसक्ने सरकारले देशका गरिब जनताको भूमि लुट्न पाउँदैन,’ श्रेष्ठ भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment