
२० असार, डोटी । कैलाली जिल्लाको धनगढीमा दुई युवतीले विष सेवन गरी आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७, बेलीको जंगलमा शनिबार दिउँसो करिव १२ बजे मृत अवस्थामा फेला परेका दुवै जनाको विष सेवनबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
आत्महत्या गर्नेमा उपमहानगरपालिका–७ बेली बस्ने १९ वर्षीया गोमा बिक र कैलालीकै चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
बिष्टका अनुसार राउत केही दिनदेखि गोमाको घरमा बस्दै आएकी थिइन् । उनीहरू दुवै जनाबीच घनिष्ठ सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
बिहान ७ बजे घरबाट निस्किएका उनीहरू विष सेवन गरी लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । घटनास्थलमा सल्फास भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4