Comments Add Comment

एउटै गीत १२ भाषामा तयार पारेर डा. उपाध्यायले राखे विश्व रेकर्ड

गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र गीतकार डा. डीआर उपाध्याय (दायाँ)लाई हस्तान्तरण गर्दै मन्त्री रामेश्वर राय यादव

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गरेका छन् । डा. उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राखेका हुन् ।

एल्बम ‘मायाको सागर’मा सन्तोष श्रेष्ठको संगीत छ । गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ । सो एल्बमको एउटा गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई हस्तान्तरण गरे । सामाजिक दुरी कायम गर्दै केही व्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले ‘उपाध्यायले गीत मार्फत् धेरैवटा विश्व रेकर्ड कायम राखेर नेपालीको गौरव बढाएको बताए । उनले आगामी दिनमा अझ धेरै रेकर्ड राख्न शुभकामनासमेत दिए ।

गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको बताए । आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलेखेको बताउँदै उनले लेख्दै जाँदा विभिन्न पुरस्कार, अवार्ड तथा रेकर्ड हात परेको बताए ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

गीतकार उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायले माया प्रेम, रोमान्स, विछोडदेखि स्वास्थ्य र योगसम्मका गीत लेखेका छन् ।

केही समय अगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित डा. उपाध्यायलाई गीतकार संघ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत संगीतका अवार्डमा पनि उनका गीतले अवार्ड पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment