Comments Add Comment

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

२२ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।

हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ ।

वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयका एक अधिकारीले बताए ।

यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो ।

यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ ।

यसैगरी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ ।

उद्योग मन्त्रालयकै प्रदीपराज अधिकारीलाई जितपुर सिमरा उपमहानगरपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महेश बराललाई पोखरा महानगरपालिकामा, श्रम मन्त्रालयका रामचन्द्र ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।

गृहमन्त्रालयका सरोज गुरागाईलाई प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काशीराज दाहाललाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, अख्तियारकै प्रदीप कुमार कोइरालालाई पर्यटन मन्त्रालयमा र अर्थमन्त्रालयका भुपाल बराललाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा पठाएइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment