+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पारिश्रमिकमा नयाँलाई नहेपौं, चलेकाले निर्मातालाई नमारौं

विजय ‘आवाज’ विजय ‘आवाज’
२०७७ असार २३ गते १३:४६

लकडाउन अगाडि नेपाली चलचित्रको निर्माणको गति बिस्तारै कम हुँदै थियो । धेरै निर्माता चलचित्र नै बनाउन नसक्ने अवस्थामा थिए । चलचित्र निर्माणको ग्राफ घट्नुको पछि दुई कारण थिए । एक त चलचित्रको व्यापार कमजोर हुँदै गएको थियो । जसले गर्दा लगानीकर्ताको आकर्षण चलचित्र क्षेत्रमा घट्दै गइरहेको थियो ।

अर्को कलाकारको पारिश्रमिक बढी हुँदा निर्माताले लगानी नै गर्न सकिरहेका थिएनन्। यसैले पनि धेरै निर्माता विस्थापित हुने क्रममा थिए । लकडाउनपछि त चलचित्र निर्माणको ग्राफ कति तल जान्छ, भनिराख्नै पर्दैन । धेरै कलाकार काम नपाएर छटपटिनुपर्ने अवस्था सिर्जना हुँदैछ ।

नाम चलेका धेरै निर्माता चलचित्र बनाउन नसकिने भन्दै गुनासो गरिरहेका थिए । धेरै निर्माताले मिडिया कुराकानीमा कलाकारले महँगो पारिश्रमिक लिँदा चलचित्र बनाउन नसकिएको गुनासो गरिरहेका थिए।

केही नाम चलेका ‘स्टार कलाकार’ले निर्मातामाथि चर्को पारिश्रमिकको बोझ थपिदिएका थिए । यसैले, चलचित्र क्षेत्रमा संकटको अवस्था सिर्जना भइरहेको थियो ।

कलाकार र प्राविधिक लिदा नै निर्माताले करोडको हारहारीमा लगानी गर्नुपरेपछि हालत के हुन्छ होला ? केही बजारमा चलेका भनिएका कलाकारले पारिश्रमिक बढाउने होडबाजी नै गरे । फलानोले लिँदा मैले कम किन लिने भन्ने भ्रममा धेरै कलाकार दौडिए । दीपकराज गिरी र उनको टिमबाहेक कुनै पनि कलाकारले निर्मातासँग सेयर बाँडफाँड गरेर नाफाको ग्यारेन्टी दिने हिम्मत राख्न सकेनन् । बजारबाट निर्माताले लगानीको २५ प्रतिशत पनि फिर्ता गर्न नसक्दा सोही चलचित्रका कलाकारको पारिश्रमिक आकाशियो ।

नायक अनमोल केसी, प्रदीप खड्का, पल शाह, विपिन कार्की, दयाहाङ राइदेखि नायिकाहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, नम्रता श्रेष्ठलगायतको पारिश्रमिक छोइ नसक्नु नै भयो ।

तर महँगो पारिश्रमिक लिएका कलाकारले खेलेका चलचित्रले हावा खाए । साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएको चलचित्र ‘रातो टीका निधारमा’का निर्माता अशोक शर्मा नराम्रोसँग चिप्लिए । यो चलचित्रले शुक्रबार र शनिबार पनि दर्शक बटुल्न नसक्दा साम्राज्ञीको महँगो पारिश्रमिक र स्टारडममाथि नै प्रश्न उठ्यो ।

अनमोल केसीले खेलेको होम प्रोडक्सनको चलचित्र ‘क्याप्टेन’को शुक्रबारको व्यापार खराब रह्यो । प्रदीप खड्काको ‘रोज र लभ स्टेसन’ नराम्रोसँग चिप्लिँदा पल शाहले ‘वीर विक्रम २’बाट निर्माता बचाउन सकेनन् ।

पूजा शर्माको ‘पोइ पर्‍यो काले’को व्यापार होस् या नम्रता श्रेष्ठको ‘जाइरा’को खराब व्यापार नै किन नहोस्, बजारमा चलेका भनिएका कलाकार किन महँगो पारिश्रमिक मागिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक नै थियो।

नयाँलाई नहेपौं, स्टारले घमण्ड नदेखाऔं
सोमबार सामाजिक सञ्जालमा स्टाटस कोर्दै गर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लेखेकी छन्-‘नव-कलाकारहरूलाई कम पारिश्रमिक दिई उनीहरूबाट बढीभन्दा बढी फाइदा लिने क्रम कहिलेसम्म चल्ने हो ?’ साम्राज्ञीको यो प्रश्न जायज छ । आखिर, नयाँ अनुहार हो भन्दैमा उसलाई पारिश्रमिकको शोषण कहिलेसम्म गर्ने ?

नयाँ अनुहारलाई उसले पाउनुपर्ने पारिश्रमिक दिन कुनै पनि निर्माताले कञ्जुस्याइँ गर्नुहुँदैन । किनकि, नेपाली चलचित्रमा नयाँ अनुहार भएकाले ऊबाट धेरै फाइदा लिने प्रचलन लामो समयदेखि चल्दै आएको छ । नयाँ अनुहारलाई चलचित्रमा काम गराएर उसको उद्धार नै गरिदिएको सोच राख्ने निर्माता-निर्देशक धेरै छन् । यो प्रवृत्ति हट्न आवश्यक छ ।

तर यसो भन्दैगर्दा दुई-चार वटा चलचित्र चल्दैमा आफूलाई स्टार सोच्ने र आफ्नो योग्यता र स्टारडमभन्दा बढी पारिश्रमिक माग्ने प्रचलन पनि हट्नु जरुरी छ । पछिल्लो समयमा यो शैली चलचित्र क्षेत्रमा हाबी हुँदै गएको छ। कलाकारको क्रेज र स्टारडम उसको काम र बक्स अफिस व्यापारभन्दा पनि पारिश्रमिकका आधारमा तय हुन थालेपछि यो होडबाजी चलेको हो । यहीकारणले गर्दा धेरै निर्माता चलचित्र बनाउन नसकेर पलायन हुने अवस्थामा पुगेका छन् ।

यसैले नयाँ कलाकारलाई पारिश्रमिकमा शोषण गर्ने प्रचलनको बहस गर्दै गर्दा नाम चलेका कलाकारले पारिश्रमिकको विषयमा निर्मातासँग गर्ने असुहाउँदो बार्गेनिङको विषयमा पनि चर्चा गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?