
२३ असार, काठमाडौं । बुधबार हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण फेरि स्थगित भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै गुठी संस्थान ललितपुरको निर्देशनमा रथारोहण स्थगित गरिएको हो । यसबारे मंगलबार गुठी संस्थान ललितपुरले सूचना जारी गरी जानकारी दिएको छ ।
कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम असार १० गतेदेखि सुरु गरिएको थियो ।
खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रथ निर्माणपूर्व विधिपूर्वक मछिन्द्रनाथलाई स्नान गराएर रथ निर्माणको काम गर्नुपर्नेमा चैतमा रथ निर्माणअघि नै सो काम स्थगित भएको सूचना जारी गरिएको थियो । तर समयमा रथयात्रा नगर्दा काठमाडौंवासीले ठुलो खडेरीको सामना गर्नुपर्ने भयका कारण रथ निर्माणको काम सुरु गरिएको भए पनि कोरोनाका संक्रमित थपिएका कारण पुन: रथारोहरण स्थगित गरिएको तलेजु भवानी मन्दिर पाटनका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए ।
उनका अनुसार दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता रहेको छ । पहिले पनि गुठी संस्थानले लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर रथ निर्माण सुरु गरिने बताइएको थियो ।
लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ । तर २०७२ सालमा गएको विनाशकारी भूकम्पको समयमा समेत तोकिएको मितिमा रथयात्रा हुन नसकेपछि ढिलागरी रथयात्रा गरिएको थियो ।
प्रतिक्रिया 4