Comments Add Comment

‘म मरेको खबर सुनें, दुःख लाग्यो’

आशिष विक

२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्‍यो ।

ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए । जेठ २८ गते चिकित्सकहरुले एपेन्डीसाइटिस् भएको भन्दै परिवारको सहमतिमा अपरेसन गरे । जेठ २९ गते फेरि अपरेसन गरिएको ठाउँमा रगत जमेको र संक्रमण भएर फोहर जम्मा भएको भन्दै कलेजले परिवारको सहमतिमै दोस्रो अपरेसन गर्‍यो ।

आशिषको अवस्था निकै नाजुक बन्यो । उनी भेन्टिलेटरमा राखिए । तर, सोही बेला बिरामीको मृत्यु भएको भनेर आफन्तहरुले अस्पताल तोडफोड गरे । अस्पतालभित्रै पसेर तोडफोड गर्ने, सुरक्षागार्ड र चिकित्सक माथि हातपात गर्ने काम गरे । प्रहरीलाई स्थिति सम्हाल्न मुस्किल भयो । पाँच जना पक्राउ परे, पछि छुटे । अस्पतालले बिरामीको मृत्यु नभएको र उनी जीवित रहेको विज्ञप्ती जारी गरे पनि उनका आफन्तहरुले पत्याएनन् ।

आशिषको अवस्था बिस्तारै सुधार हुँदै गयो । मृत्यु भनेर प्रचार गरिएका आशिष २६ दिनको उपचारपछि मंगलबार मात्रै चितवन मेडिकल कलेजबाट निको भएर डिस्चार्ज भएका छन् । आशिषलाई उनका वुवा केदार विक र ठूलो बुवाकी छोरी (दिदी) सुष्माले घर लगे ।

‘खुसी फर्कियो, बोल्न सकिरहेको छैन’

बुवा केदार विकले छोराले नयाँ जीवन पाएकोमा खुसी भएको बताए । ‘मेरो त जीवनको गुमेको खुसी फर्कियो, खै के भनौं बोल्न सकिरहेको छैन,’ केदारले भने, ‘मेरो परिवारको सबै खुसी भनेकै यही छोरा हो, यसलाई गुमाएको भए म बाँच्न सक्दैनथेँ जस्तो लाग्छ, खुसीको स्वर्ग फर्कियो ।’ उनले छोराको उपचार गरेर जीवन बचाइदिने कलेजका चिकित्सक, नर्सलगायत सबैलाई धन्यवाद दिए ।

बुवासँग आशिष विक

सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्ने केदारले छोराको उपचारमा झण्डै ८ लाख रुपैयाँ खर्च भएको बताए । ‘अस्पतालमा साढे ५ लाख सकियो, औषधि र अन्य खर्च दुई लाखभन्दा बढी भएको छ,’ केदार भन्छन्, ‘मसँग त्यति धेरै पैसा थिएन, सबै आफन्त, वरपरका छिमेकीसँग मागेर, ब्याजमा लिएर भए पनि उपचार गरेँ ।’

उनले छोराछोरी नै आफ्नो सम्पती भएको बताए । आफूहरुबाट भएको कमीकमजोरीको हात जोडेर माफी मागेको केदारले बताए ।

उपचारमा बसेकी दिदी (ठूलो बुवाकी छोरी) सुष्माले भाइलाई निको बनाएर घर लैजान पाएकोमा निकै खुसी लागेको बताइन् । ‘हाम्रो त परिवार नै डिप्रेसनमा गएको थियो, सम्हाल्न सकेका थिएनौं, तर आज खुसी फर्किएको छ,’ सुष्माले भनिन्, ‘भाइले नयाँ जीवन पायो, के होला, के होला भन्ने त्रासबाट अब मुक्ति मिलेको छ ।’ आशिष सामान्य रुपमा उठेर हिँड्न सक्ने भएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा. बसन्त गौलीले आशिष हिँडडुल गर्न सक्ने अवस्थामा पुगेको बताए । ‘उहाँको स्वास्थ्य अवस्था निकै राम्रो भएको छ, आफ्ना सामान्य कामहरु आफैं गर्न सक्नुहुन्छ,’ डा. गौलीले भने, ‘किड्नीमा पनि केही समस्या थियो, त्यो बिस्तारै निको हुँदै गएको छ ।’

अस्पतालले उनलाई एक हप्तामा फलोअपका लागि बोलाएको छ । परिवारका सदस्यलाई आशिषका लागि अपनाउनुपर्ने सावधानी र खानपानको अवस्थाका बारेमा जानकारी गराइएको डा. गौलीले बताए । सुरुमा सुन्निएर केही ठाउँमा छालासमेत फाटेको अवस्था छ । त्यो पनि बिस्तारै ठीक हुँदै जाने डा. गौलीले बताए ।

नयाँ जीवन पाएँ : आशिष

चितवन मेडिकल कलेजबाट डिस्चार्ज हुँदै गर्दा आशिष निकै खुसी देखिन्थे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘नयाँ जीवन पाएँ, मेरो जीवन जोगाइदिनु भो, परिवारमा खुसी थपियो, सबै चिकित्सक, नर्स र चितवन मेडिकल कलेजलाई धन्यवाद दिन चाहान्छु ।’

उनले आफ्नो मृत्यु भएको भनेर गरिएको प्रचारबारे पछि मात्रै आफन्तमार्फत थाहा पाएको बताए । ‘अस्पतालको बेडमै त्यो सुन्दा निकै दुःख लाग्यो,’ उनले भने । उपचारपछि निको भएर घर जान लागेकोमा खुसी लागेको भन्दै आशिषले भने, ‘अस्पताल आउँदा म अचेत थिएँ, अहिले घर जान पाउँदा खुशी छु ।’

१८ वर्षका आशिष भानु मावि पहारिलोटारमा शिक्षा विषय लिएर कक्षा ११ मा पढ्छन् । उनी परिवारका एक्लो छोरा हुन् । उनकी १५ वर्षकी बहिनी प्रमिशा विक छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment