+
+
Shares
चितवनको ‘चिया कल्चर’ :

दूध पोख्ने चितवनमा चियाले बनाएको नयाँ बजार

सुवास पण्डित सुवास पण्डित
२०८३ साउन २४ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुरमा युवाहरूलाई लक्षित गरी चिया पसल सञ्चालन गर्ने लहर बढेको छ ।
  • सुवास शर्मा र फणिन्द्र न्यौपालेले स्थापना गरेको ‘चियादानी’ले चितवनमा मट्का चिया र युवामैत्री चिया संस्कृतिको सुरुवात गरेको हो ।
  • विभिन्न प्रयोगहीन सामग्रीको पुनःप्रयोग गरी सञ्चालित चिया पसलहरूले युवाहरूलाई रोजगारी, उद्यमशीलता र रैथाने उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याइरहेका छन् ।

२४ साउन, भरतपुर । चितवनको भरतपुर–१० मा अहिले चिया पसल खोज्न धेरै टाढा जानुपर्दैन । एउटा चिया पसलबाट अर्को चिया पसलको दूरी कतिपय ठाउँमा डेढ–दुई सय मिटरभन्दा बढी छैन ।

यी पसलमा चिया मात्रै पाक्दैन । युवाहरूको गफ, भेटघाट, नयाँ योजना र उद्यमका कुरा पनि पाक्छन् ।

चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर अस्पताल, स्कुल अफ हेल्थ साइन्स, सप्तगण्डकी बहुमुखी क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसजस्ता ठूला स्वास्थ्य तथा शैक्षिक संस्था वरपर छन् । सरकारी कार्यालय पनि उत्तिकै छन् । त्यसैले भरतपुर-१० युवाहरू र विद्यार्थीको बाक्लो उपस्थिति हुने क्षेत्र हो ।

यही क्षेत्रमा पछिल्ला केही वर्षयता युवालाई लक्षित गरेर चिया पसल खोल्ने क्रम तीव्र भएको छ । खाली जमिन भाडामा लिएर तुलनात्मक रूपमा थोरै लगानीमा चिया पसल सञ्चालन गर्ने युवाको संख्या बढिरहेको छ ।

तर, चितवनमा यस्तो ‘चिया कल्चर’को सुरुवात कसरी भयो ? यसका लागि करिब सात वर्ष पछाडि फर्किनुपर्छ ।

त्यतिबेला पनि भरतपुरमा चिया पसल थिए । तर ती पसलमा प्राय: उमेर ढल्किएका पुरुषको जमघट हुन्थ्यो । चियाको गिलाससँगै राजनीति र समसामयिक विषयमा बहस चल्थ्यो । युवाहरू भने चिया पसलमा त्यति देखिँदैनथे ।

त्यही समयमा पोखराका सुवास शर्मा (हाल प्रधानमन्त्री बालेन शाहको प्रमुख स्वकीय सचिव) र चितवनका फणिन्द्र न्यौपानेले सप्तगण्डकी चोकनजिकै ‘चियादानी’ खोले ।

आज भरतपुरमा युवाहरूको चिया गफको एउटा परिचित थलो बनेको यही ‘चियादानी’ थियो ।

१७ लाखको लगानी, ३२ हजारको भाडा

सुवासले बीबीएस अध्ययन पूरा गरेपछि पोखराको बगरमा २०७६ मंसिरदेखि ‘चियादानी’ सञ्चालनमा ल्याइसकेका थिए । चिया छान्ने जालीलाई जनाउने ‘चियादानी’ शब्द अहिले एउटा ब्रान्डकै रूपमा स्थापित हुँदै गएको छ ।

सुवास र फणिन्द्र पुरानै चिनजानका थिए । पोखरामा चियादानी चलाइरहेका सुवासका लागि भरतपुर–१५ फूलबारीका फणिन्द्र भरपर्दा र जिम्मेवार साथी बने ।

चियादानी खोल्नुअघि फणिन्द्रले नारायणगढको साविक होटल सेन्ट्रल पाम र त्यसपछि मितेरी भोजनालयमा काम गरेका थिए । आईटी पढेका उनलाई केही नयाँ गरौं भन्ने हुटहुटी पहिलेदेखि नै थियो ।

तर चिया पसल खोल्ने कुरा घरमा सुनाउँदा बुवाले भने उनलाई सुरुमा प्रोत्साहन गरेनन् । फणिन्द्रका बुवा निवृत्त सैनिक हुन् । चिया पसल खोल्न पैसा मागेपछि बुवाले भनेका कुरा फणिन्द्र अहिले पनि सम्झन्छन् । ‘अरूका छोराले के–के गरिसके, कति प्रगति गरे । हाम्रो छोरो भने चिया पसल चलाउँछु भनेर पैसा माग्छ । पढाइ एकातिर, काम अर्कोतिर,’ बुवाले उनलाई झपारेका थिए ।

तर फणिन्द्र आफ्नो निर्णयबाट पछि हटेनन् । युवालाई चियासँग जोड्ने र साथीभाइ बसेर गफ गर्न सक्ने वातावरण बनाउने उद्देश्यले करिब १७ लाख रुपैयाँ लगानीमा चियादानी खोलियो । पसलको मासिक भाडा थियो- ३२ हजार रुपैयाँ ।

पसल खुलेको केही महिनामै कोरोना महामारी आयो । व्यवसायमा समस्या थपियो । तर उनीहरू रोकिएनन् ।

चिया पसलभित्र चितवनको ट्याम्पो

चियादानीलाई सामान्य चिया पसलभन्दा फरक देखाउने प्रयास सुरुदेखि नै थियो । ‘चितवनका हराउँदै गएका चिनारीलाई जोगाउने र बचाउने अभियान पनि हो, चियादानी,’ फणिन्द्र भन्छन्, ‘हाम्रो विगतको पहिचानलाई भोलि आउने पुस्तालाई देखाउनुपर्छ । परम्परागत शैलीलाई कतिसम्म अँगाल्न सकिन्छ, त्यतिसम्म गर्ने हाम्रो सोच हो ।’

त्यही सोचअनुसार चितवनमा कुनै समय निकै चलेको तर अहिले हराउँदै गएको ट्याम्पो पदमपुरबाट खोजेर ल्याइयो । ट्याम्पोलाई पसलभित्रै राखियो ।

अगाडिको चालक बस्ने ठाउँलाई काउन्टर बनाइयो । चालकले अगाडिबाटै पैसाको कारोबार गर्ने भएकाले त्यसकै सम्झनास्वरूप काउन्टर बनाइएको थियो ।

ट्याम्पोको पछाडिको यात्रु बस्ने ठाउँमा ग्राहकका लागि चिया खाने ठाउँ बन्यो ।

पसलमा आउनेले एउटा फरक दृश्य देख्न थाले । अगाडि झुला राखियो । पुराना टेम्पो र अटोका टायर खोजेर ल्याइयो । त्यही टायरलाई बस्ने टुल बनाइयो ।

कुनै समय आन्दोलनका क्रममा जलाउन प्रयोग हुने, जथाभावी फालिने र डेंगु लामखुट्टे फैलाउने माध्यम बनने टायरलाई फणिन्द्रले उपयोगी फर्निचरमा बदले । ‘पहिले व्यवस्थापन गर्न गाह्रो हुने टायर अहिले त सय रुपैयाँसम्म पर्न थालेको छ,’ उनी भन्छन् ।

पछिल्लो समय ड्रागन फ्रुट खेती गर्नेहरूले पनि टायर प्रयोग गर्न थालेपछि यसको माग र मूल्य बढेको उनको भनाइ छ ।

चिया मात्रै होइन, गफको थलो

चियादानीको उद्देश्य चिया बेच्नु मात्रै थिएन । थोरै पैसा खर्च गरेर लामो समय साथीभाइसँग गफ गर्न सकिने ठाउँ बनाउनु पनि थियो ।

त्यसैले युवाहरू आउन थाले । ‘चिया खान आउने मात्रै होइनन्, केही नयाँ काम गरौं भनेर आइडिया लिन पनि आउँछन्,’ फणिन्द्र भन्छन्, ‘आफूले जानेको र सकेको सहयोग गर्छु ।’

यही अवधिमा चियादानीको अर्को शाखा पूर्वी चितवनको रत्ननगरमा पनि खोलियो । करिब पाँच वर्षअघि २० लाख रुपैयाँ लगानीमा टाँडीमा शाखा विस्तार गरिएको हो ।

भरतपुर शाखाको मासिक भाडा ६० हजार र टाँडी शाखाको ४५ हजार रुपैयाँ रहेको फणिन्द्र बताउँछन् ।

चितवनका दुवै शाखामा फणिन्द्र सुवाससँगै छन् । पोखरा र काठमाडौंमा भने सुवासले अन्य साथीहरूसँग मिलेर चियादानी सञ्चालन गरिरहेका छन् ।

चितवनका दुई शाखामा मात्रै आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

फणिन्द्र आफैं पनि बिहानदेखि बेलुकासम्म पसलमै खटिन्छन् । आवश्यक परे भाँडा माझ्नसमेत पछि पर्दैनन् ।

साथीभाइसँग जिस्किँदै भाँडा माझ्न जाने क्षण सम्झिँदै उनी भन्छन्, ‘हामी त भाँडा माझ्न जानुपर्‍यो भने, म एकछिन अस्ट्रेलिया पुगेर आउँछु है भनेर भाँडा माझ्न जान्छौं ।’

मट्का चियादेखि कोदोको रोटीसम्म

चितवनमा मट्का चिया खुवाउने कामको सुरुवात पनि चियादानीले नै गरेको फणिन्द्रको दाबी छ । वीरगञ्जबाट मट्का ल्याएर त्यसमा चिया पस्किन थालियो ।

हाल चितवनको चियादानीमा करिब ४० प्रकारका चिया पाइने फणिन्द्र बताउँछन् । ‘मूल्य २० देखि ७० रुपैयाँसम्म छ । तर, अहिले मट्का चियाभन्दा साधारण दूध चिया बढी बिक्री हुन्छ,’ उनले भने ।

चियापत्ती झापा र इलाममा उत्पादन भएको प्रयोग गरिन्छ । कागती सकेसम्म चितवनकै प्रयोग गर्ने गरिएको फणिन्द्र बताउँछन् । ‘दुई पैसा भए पनि नेपाली किसान र स्वदेशी उद्यमीलाई नै जाओस् भन्ने सोच हो,’ उनी भन्छन् ।

दिउँसो आउने ग्राहकलाई चियासँगै मकै, मकैसँग मोहीजस्ता स्थानीय स्वादका परिकार पनि दिइन्छ ।

पछिल्लो ६ महिनादेखि स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिँदै कोदोको रोटी, चनाको सातु, खुदो पानी र जुनारको जुससमेत राख्न थालिएको छ ।

दुवै शाखामा दैनिक एक सयदेखि दुई सय जनासम्म युवा चिया खान आउने गरेको फणिन्द्र बताउँछन् ।

‘चियापसल थपिँदा खुसी लाग्छ’

सुवास र फणिन्द्रले चियादानी खोलेको करिब सात वर्षमा भरतपुर र आसपासका क्षेत्रमा चिया पसलको संख्या उल्लेख्य बढेको छ ।

अहिले मात्रै भरतपुर र वरपर ४० देखि ५० वटासम्म चिया पसल खुलेको उनको अनुमान छ ।

आफ्नो व्यवसायको नक्कल भयो भनेर उनी चिन्तित छैनन् । बरु खुसी छन् । ‘कम्तीमा युवाहरूले देशभित्र नै केही गरौं भनेर लगानी गरेका छन् । युवाले नै रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धा नगरौं, विकृति नफैलाऔं । बजारको अवस्था बुझेर मात्रै लगानी गरौं । बस्, यति भए पुग्छ ।’

उनको अनुमानमा चिया पसलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५–६ सय युवा जोडिएका छन् ।

फणिन्द्रका अनुसार चिया पसल रोजगारीको थलो मात्र होइन, सीप सिक्ने ठाउँ पनि हो । ‘बाहिर जाँदा पनि काम सिकेको युवा नै विदेश जान्छ । चिया पसलमा एक महिना मात्रै वेटरको काम जाने पनि विदेश जाँदा काम लाग्छ,’ उनी भन्छन् ।

उनको जोड युवाले देशमै केही गर्ने प्रयास गर्नुपर्छ भन्नेमा छ । ‘दु:ख नगरी, काम नगरी त बस्न हुँदैन । देशभित्र नै युवाहरूले केही गर्नुपर्छ भन्ने मेरो धारणा छ,’ उनी भन्छन्, ‘युवालाई विदेश जानुपरे पनि सीप सिकेर जाऊ, हातखुट्टा र शरीर मात्रै लिएर नजाऊ भन्छु ।’

दूध पोख्ने चितवनमा चियाको खपत

चितवनमा कुनै समय दूध बिक्री नभएर सडकमा पोख्नुपर्ने अवस्था थियो । अहिले त्यही दूधको एउटा बजार चिया पसल बनेका छन् ।

फणिन्द्रका अनुसार चिया पसल बढेसँगै दूधको खपत पनि बढेको छ ।

उनका नजरमा यो चिया पसलको विस्तार मात्रै होइन, स्थानीय अर्थतन्त्रको एउटा सानो चक्र पनि हो । ‘यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै युवामा उद्यमशीलता, आत्मनिर्भरता र सिर्जनशीलताको भावना विकास गरेको छ,’ उनी भन्छन्, ‘नयाँ-नयाँ योजना बनाउने ठाउँ पनि चिया पसल बनेका छन् ।’

उनका अनुसार आर्थिक आम्दानीसँगै चिया घरहरूले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेलिरहेका छन् ।

त्यसैले चिया संस्कृति आर्थिक समृद्धिसँगै सामाजिक पुँजी निर्माणको माध्यम पनि बन्न थालेको उनको बुझाइ छ ।

अझ फैलाउने सोच

सुवाश र फणिन्द्र ।

चियादानीको अहिलेको ठाउँ फणिन्द्रलाई केही साँघुरो लाग्न थालेको छ । अब उनी अलि फराकिलो र हरियालीयुक्त ठाउँमा चिया पसल विस्तार गर्न चाहन्छन् ।

त्यहाँ शुद्ध भैंसीको दूध ल्याएर दाउराको भदालोमा पकाउने अनि तात्तातो दूध चिया स्टिलको गिलासमा ग्राहकलाई खुवाउने योजना छ । तर, त्यसका लागि ठूलो ठाउँ चाहिन्छ ।

महानगरभित्र प्रयोगविहीन सार्वजनिक जग्गा भाडामा लिएर निश्चित अवधिका लागि युवालाई स्वरोजगार तथा आयआर्जनमूलक काम गर्न दिए राम्रो हुने उनको सुझाव छ । ‘खेर गइरहेको सार्वजनिक जग्गा युवालाई उपयोग गर्न दिने हो भने धेरैले आफ्नै काम गर्न सक्छन्,’ उनी भन्छन् ।

चियादानीभन्दा बाहिर ‘मानापाथी’

अरूभन्दा फरक काम गर्ने सोच भएका फणिन्द्र चियादानीमै रोकिएका छैनन् । उनले ‘मानापाथी’ नामको पसल पनि सञ्चालन गरेका छन् ।

देशका विभिन्न भागमा उत्पादन हुने रैथाने बालीका अर्गानिक उत्पादन संकलन गरेर बिक्री गर्ने उद्देश्यले आर्मी ब्यारेकको एकल महिला तथा स्वरोजगार केन्द्रको भवनमा ‘मानापाथी’ संकलन तथा बिक्री केन्द्र खोलिएको छ ।

चियाको एउटा गिलासबाट सुरु भएको फणिन्द्रको यात्रा अहिले स्थानीय उत्पादन र रैथाने अर्थतन्त्रसम्म पुगेको छ ।

उनका लागि चियापसल केवल व्यापार होइन । युवालाई भेट्ने ठाउँ हो । नयाँ कुरा सिक्ने ठाउँ हो । योजना बनाउने ठाउँ हो । स्थानीय उत्पादन बेच्ने बजार हो । र, सबैभन्दा महत्वपूर्ण- आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जगाउने एउटा सानो प्रयास हो ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?