Comments Add Comment

नेकपाका दोस्रो तहका नेताहरुको अपिल : सडक प्रदर्शन र धर्ना रोकौं

पार्टी फुट्न नदिन दोस्रो तहका नेताले हस्तक्षेप गर्ने

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले पार्टी फुट्न नदिन निर्णायक पहल गर्ने भएका छन् ।

बिहीबार कृषि मन्त्रालयमा भएको अनौपचारिक छलफलमा अध्यक्ष केपी ओली र प्रचण्ड–माधव नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले पार्टी फुट्न नदिने संकल्प गरेका छन् । दुवै अध्यक्षलाई भेटेर पार्टी एकता कायम राख्न दबाब दिने समझदारी भएको छलफलमा सहभागी नेता टोपबहादुर रायमाझीले अनलाइनखबरलाई बताए ।

नेताहरुले नेताहरुको पक्ष विपक्षमा भइरहेको प्रदर्शन, धर्ना तथा हस्ताक्षर अभियान रोक्न माग गरेका छन् ।

नेकपामा प्रधानमन्त्रीको राजीनामा माग भएपछि ओलीको समर्थनमा सडकमा प्रदर्शन भइरहेको छ । बुधबार भएको भेठमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शन रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्ना नेतालाई कारबाही गर्न खोजेपछि युवा विद्यार्थीले स्वत:स्फुर्त गरेको प्रदर्शन किन रोक्नु भनेका थिए ।

भोलि शुक्रबार माइतीघर मण्डलामा वृहत सभा हुँदैछ । प्रधानमन्त्री ओलीको निरन्तरताको माग गर्दै भइरहेको प्रदर्शनमा युवा संघका नेताहरुको सहभागिता देखिएको छ ।

यस्तै ठाकुर गैरे, हिमाल शर्मा, विजय पौडेललगायतका नेताहरुले पार्टी कार्यालय, धुम्बाराहीमा धर्ना दिनुका साथै हस्ताक्षर संकलन गरेका छन् । दोस्रो तहका नेताहरुले भने प्रदर्शन, धर्ना, हस्ताक्षर संकलन सबै रोक्न आग्रह गर्ने सहमति गरेका छन् ।

‘नेताहरुको पक्ष विपक्षमा हुने नाराबाजी र धर्नाले वातावरण थप विगार्छ’ एक नेताले भन्छन्, ‘त्यसैले महासचिवामार्फत स्टेटमेन्ट जारी गरेर रोक्न अध्यक्षद्धयलाई आग्रह गर्ने भनेका छौं । यसको जिम्मा नेता घनश्याम भुसाललाई दिएका छौं ।’

छलफलले यो अभियानमा अरु स्थायी कमिटी सदस्यलाई समेत समेट्ने र त्यसको संयोजनको जिम्मा घनश्याम भुसाललाई दिएको छ । बैठक लगत्तै कृषिमन्त्री समेत रहेका भुसाल प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार गएका छन् ।

भुसालले दुवै अध्यक्षलाई भेटेर प्रदर्शन, पार्टी कार्यालयको धर्ना र हस्ताक्षर अभियान रोक्न निर्देशन दिनुपर्ने र पार्टी एकता जोगाउन स्थायी कमिटी बैठक केही दिन रोकेर भने पनि अध्यक्षद्वयले समझदारी कायम गर्नुपर्ने दोस्रो तहका नेताहरुको निष्कर्ष सुनाउनेछन् ।

बैठकपछि भुसालले भने ‘यो पार्टी फुट्न दिइन्न, हामीले अलि माथिल्लो स्तरबाट पार्टी एकताको पक्षमा पहल गर्ने भनेका छौं । तर त्यो पहल कस्तो हुने भन्ने ठोस भइसकेको छैन, हामी फेरि छलफल गरेर पार्टी पंक्तिलाई आश्वस्त हुने गरी अघि बढ्छौं ।’ दोस्रो तहका नेताहरुबाट पार्टी एकताको ठोस आधार तयार गर्ने प्रयास समेत हुनेछ ।’

बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, योगेश भट्टराई, विष्णु रिमाल, मणि थापा र शक्ति बस्नेत सहभागी थिए । अघिल्लो बैठकमा उपस्थित सुरेन्द्र पाण्डे भने बाहिर रहेका कारण उपस्थित हुन नसकेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment