Comments Add Comment

यो हो विश्वकै कठिन प्रवेश परीक्षा

चीनमा हरेक वर्ष २ दिनका लागि भयंकर द्विविधा छाउने गर्दछ । ती दुई दिनमा चीनका दशौँ लाख किशोर किशोरीहरुले आफ्नो भविष्य दाउमा लगाउँछन् । यो वर्ष जुलाईको ७ र ८ तारेखमा चीनका हाइस्कुल पास गरेका करीब १ करोड ७ लाख किशोर किशोरी विद्यार्थीहरु कलेज पढ्नका लागि कठीन प्रवेश परीक्षामा सामेल भए ।

दुनियाँकै धेरै विद्यार्थी सामेल हुने र कठीन मानिने उक्त प्रवेश परीक्षालाई गाओकाओ भनिन्छ । यो किशोर किशोरीहरुको भविष्यको फैसला गर्ने परीक्षा हो । किनकी यसमा पास हुने विद्यार्थीहरुले मात्र कलेजमा भर्ना पाउँदछन् र उच्च शिक्षा पढ्न पाउँछन् ।

चीनमा किशोर किशोरीहरु वर्षभर कडा मेहेनत गरेर उक्त परीक्षाको तयारी गरेका हुन्छन् । स्कुल तह देखि नै विद्यार्थीहरुमा यो प्रवेश परीक्षा जसरी पनि पास गर्नुपर्ने दबाब हुन्छ । धेरै विद्यार्थीका लागि समाजमा प्रगतिको सिँढी चढ्नका लागि एकमात्र बाटो भनेको यहीँ परीक्षामा पास हुनु रहन्छ ।

हार्वड विश्वविद्यालयमा ग्लोबल इनिसिएटिभ फर एजुकेसनल इनोभेसन केन्द्रका शोधकर्ता श्वेक्विन जियांगका अनुसार चिनिया विद्यार्थीका लागि यो एउटा ठूलो युद्धजस्तै हुन्छ । शिक्षकहरुले समेत यो प्रवेश परीक्षा जिवन मरणको सवाल भएको बताउँदछन् विद्यार्थीहरुसँग । चिनियाहरु आफ्ना छोराछोरी सानै छँदादेखि नै गाओकाओ परीक्षामा राम्रो अंक ल्याउने सपना देख्न थाल्दछन् ।

परीक्षा भन्दा एकदिन अघि विद्यार्थीहरु समूहमा जम्मा हुन्छन् र युद्धका गीत गाउँदछन्, ताकि उनीहरुको मनोबलमा वृद्धि होस् । गीतमा यसो पनि भनिन्छः हामी विजय हासिल गर्नका लागि जाँदैछौँ । हामी गाओकाओमाथि जित हासिल गर्नका लागि जाँदैछौँ ।

परीक्षामा कुनै गडबडी नहोस् भनेर प्रशासनले पनि परीक्षाको दिन निकै कडाई गरेको हुन्छ । सुरक्षाको व्यवस्था पनि निकै कडा हुन्छ । निगारनीका लागि क्यामराहरु जडान गरिएको हुन्छ, परीक्षा हल तथा बाहिरी क्षेत्रहरुमा समेत । परीक्षा केन्द्रहरुको हवाई तथा ड्रोनबाट समेत अनुगमन गरिन्छ । परीक्षाको दिन सडक बन्द हुन्छन्, स्कुल नजिकैका निर्माण कार्यहरु समेत रोकिन्छन् । परीक्षार्थीहरुका लागि यातायातको विशेष प्रबन्ध गरिन्छ भने मेडिकल टोलीहरुलाई समेत तयारी अवस्थामा राखिएको हुन्छ ।

सन् २०१६ मा चीनले एक घोषणा गर्दै गाओकाओ परीक्षामा अनियमितता गर्ने वा नियम उल्लंघन गर्ने विद्यार्थीलाई जेल सजायँ हुने बताएको थियो ।

यो वर्ष कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै गाओकाओमा विशेष सतर्कता अपनाइएको थियो ।

के हो गाओकाओ ?

गाओकाओको शाव्दिक अर्थ उच्च शिक्षाका लागि प्रवेश परीक्षा भन्ने नै हुन्छ । चीनमा सन् १९५२ मा यसको सुरुवात भएको हो । तर चिनिया सांस्कृतिक क्रान्तिका बेला सन् १९६६ देखि १९७६ सम्म यो परीक्षा रोकियो । सन् १९७७ देखि भने गाओकाओलाई यस्तो अवसरको रुपमा हेर्न थालियो जसका माध्यमबाट ग्रामीण इलाकामा बस्ने आर्थिक हैसियत कम भएका विद्यार्थीहरुले समेत सुन्दर भविष्यको बाटोमा अघि बढ्न सक्दछन् ।

गाओकाओमा चिनिया भाषा, गणित तथा एउटा विदेशी भाषामा प्रश्नहरु सोधिन्छ । त्यसका साथै इतिहास, राजनीति, भूगोल, जिव विज्ञान, भौतिक विज्ञान, रासायनिक विज्ञान जस्ता विषयहरु पनि छनोट गर्न सकिन्छ ।

यो परीक्षामा लाखौँ लाख विद्यार्थीहरु सहभागी हुने र उच्च शिक्षाको कोटा सिमित हुने भएको हुँदा तिव्र प्रतिस्पर्धा हुन्छ । परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुले आफुले छानेको टप युनिभर्सिटीमा पढ्न पाउँदछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment