Comments Add Comment

रियललाई चार अंकको अग्रता, उपाधिबाट दुई जित टाढा

२७ असार काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा अलाभेजलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ । घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो स्टेडियममा भएको खेलमा रियल २-० ले विजयी भएको हो । रियलका लागि करिम बेन्जामा र मार्को असेन्सिओले एक एक गोल गरे ।

नियमित कप्तान सर्गियो रामोस अनुपस्थित हुँदा बेन्जामाले ११औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । अलाभेजका नामारो र फर्लान मेन्डीलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा पनि रियलले गोल थप्यो । असेन्सिओले ५०औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।

कोरोना भाइरस महामारीपछि जुनमा मैदान फर्किएको ला लिगामा रियलले लगातार ८ खेल जित्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । अब लिगमा ३ खेल बाँकी रहँदा रियलले बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ । ३५ खेलबाट रियलको ८० अंक हुँदा बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा छ । अब बाँकी ३ मध्ये २ खेल जिते पनि रियलले लिग उपाधि जित्नेछ । बार्सिलोनाको लागि भने लिग जित्न बाँकी ३ वटै खेल जित्नुपर्नेछ र रियलको खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

उता रियलसँग पराजित अलाभेजलाई भने अजै रेलिगेसनको डर छ । ३५ खेलबाट ३५ अंक रहेको अलेभजे रेलिगेसन क्षेत्रबाट ३ अंकले मात्र सुरक्षित छ । अलाभेजभन्दा पछि रहेका मालोर्काको ३२, लेगानेसको २९ र रेलिगेसनमा परिसकेको स्पानयोलको २४ अंक छ ।

ला लिगाकै अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३-२ ले पराजित गरेको छ । जितपछि ३५ खेलबाट ५० अंक जोडेको ग्रानाडा नवौं स्थानमा उक्लेको छ । सोसिडाड भने ५१ अंकसहित सातौं स्थानमै यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment