Comments Add Comment

प्युठानबाट रोल्पातर्फ उड्यो सलह, भारतबाट अझै आउने सम्भावना

३० असार, काठमाडौं । दाङ हुँदै पुनः नेपाल भित्रिएको सलहको एउटा ठूलो झुण्ड प्युठानबाट रोल्पातर्फ उडेको छ । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको सूचना केन्द्र प्रमुख रामकृष्ण सुवेदीले सलह रोल्पातर्फ उडेको मात्र सूचना आएको बताए ।

आइतबार दाङबाट प्रवेश गरेको सलह प्युठान पुगेको र सोमबार दिउँसो त्यहाँबाट उडेर रोल्पातर्फ लागेको हो ।

‘प्युठानबाट सलह उत्तर पश्चिमतर्फ उडेपछि रोल्पा लगायतका जिल्लामा हामीले सर्तकता अपनाउन र सलहको अवस्था जानकारी दिन अलर्ट गरेका थियौँ तर हालसम्म सलह बसेकोबारे कुनै सूचना प्राप्त हुन सकेन’ उनले भने । प्युठान आउँदा केही छरिएको सलहको ठूलो झुण्ड रोल्पातर्फ गएको हो ।

नवलपरासीमा सलहको झुण्ड

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा करीब ५–७ हजारको संख्यामा सलह देखिएको छ । जंगलमा बसेका सलह धानखेतमा आउने जाने गरेको सुवेदीले बताए ।

एक दर्जन जिल्लामा सलह सक्रिय

असार १३ देखि १६ सम्म नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय हुन थालेको छ । छरिएर रहेका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोटलगायतका एक दर्जन जिल्लाहरुमा उपस्थित रहेको केन्द्र प्रमुख सुवेदीले बताए ।

हाल बर्षात भइरहेका कारण नेपाल भित्रिएको सलहले खासै नोक्सानी गर्न नसकेको केन्द्रको दाबी छ ।

बिहीबारसम्म अरु पनि आउन सक्छ 

केन्द्रले बिहीबारसम्म अरु सलह पनि नेपाल आउन सक्ने बताएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । असार ३१ गतेदेखि दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने प्रक्षेपण गरिएको छ ।

भारतको सीमावर्ती क्षेत्रमा छरिएका सलह केही संख्यामा अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रबाट प्रवेश गर्ने अनुमान गरिएको छ । जुनसुकै बेला सलह प्रवेश गर्न सक्ने भन्दै केन्द्रले तराइ क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध छ ।

मुलुकभित्र सक्रिय रहेका सलह वायुको सहारामा उत्तर पश्चिमतर्फ जान सक्ने सम्भावना पनि रहेको छ ।

भारतको लखनउ आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपाल पनि नेपाल प्रवेश गर्न सक्ने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment