Comments Add Comment

अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

सिड्नीमा दोश्रो तरंग सुरु हुने त्रास

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको संख्या दश हजार नाघेको छ । मंगलबार भिक्टोरियामा २७० र न्यु साउथ वेल्समा ३० जना थपिएपछि अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार ६१ पुगेको हो ।

भिक्टोरियामा कोरोना भाइरसको दोश्रो तरंग आएपछि मुख्य सहर मेलबर्नलगायतका स्थानमा डेढ महिने लकडाउन जारी भएको एक हप्ता बितेको छ भने भिक्टोरियासँग अरु सबै राज्यहरुले भ्रमण प्रतिबन्ध लगाएका छन् ।

दैनिक तीन अंकको वृद्धि देखिएपछि भिक्टोरियाको सार्वजनिक स्वास्थ्यको निकै चिन्ता गरिएको छ र जनतालाई धैर्य गरेर सरकारी आदेशहरू पालना गर्न अनुरोध गरिएको छ ।

यता न्यु साउथ वेल्स राज्यमा पनि जुलाई ३ मा भिक्टोरियाबाट आएका एकजनाबाट फैलिएको कोरोना भाइरस मंगलबार अपरान्हसम्म ३० जनामा पुष्टि भैसकेको छ ।

सिड्नीमा एक अंकमा झरिसकेको कोरोना भाइरसको संक्रमण फेरि  २ अंकमा उक्लेपछि न्यु साउथ वेल्स राज्य सरकारले केही प्रतिबन्धहरु सुरु गरेको छ ।

छिमेकी कुइन्स्ल्यान्ड राज्यले न्यु साउथ वेल्सका कोरोना संक्रमण फैलिएको आशंका गरिएका ७७ वोटा बस्तीहरुबाट उक्त राज्य प्रवेश गर्न नदिने कोही प्रवेश गरेमा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नीति सार्वजनिक गरेको छ । कुइन्स्ल्यान्ड राज्यले यस अघि नै भिक्टोरिया आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ ।

न्यु साउथ वेल्स राज्यले बिदा मनाउन छिमेकी भिक्टोरिया राज्यतर्फ निस्किएका आफ्ना बासिन्दालाई छिट्टो घर फर्किन आग्रह गरिसकेको छ । भिक्टोरियामा संक्रमण बढ्दै जादा न्यु साउथ वेल्स ले आफ्ना जनस्वास्थ्य सतर्कता नीतिमा परिवर्तन गर्ने संकेत का रुपमा यो निर्देशनलाई लिइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट अस्ट्रेलिया फर्किनेहरुका लागि न्यु साउथ वेल्स राज्यले नयाँ नीति सार्वजनिक गरिसकेको छ । आगामी शनिबार १८ जुलाई बिहानदेखि न्यु साउथ वेल्स राज्यले विदेशबाट आउनेलाई अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने र सोको खर्च आफैले व्यहोर्नुपर्ने नियम सार्बजनिक गरिसकेको छ । यसअघि राज्यले नै होटेल क्वारेन्टिन खर्च ब्यहोरिदिने थियो ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २८ जनामा संक्रमण देखिएपछि परीक्षण तीव्र पारिएको छ । दक्षिण् पश्चिम सिड्नीको कसिलामा रहेको क्रसरोड होटेलबाट नजिकका पप, जिमखाना, केमार्ट सुपर मार्केट र सिड्नी सहरभित्रको स्टार क्यासिनोसम्म सोही श्रोतबाट सरेको भेटिएकाले सिंगो न्यु साउथ वेल्समा स्वास्थ्य सतर्कता बढाइएको हो ।

अस्ट्रेलियाका चर्चित डाक्टर रबर्ट पार्करले सिंगो न्यु साउथ वेल्स राज्यलाई नै ‘हट स्पट’ मान्नुपर्ने बताएका छन् । अस्ट्रेलियाका अर्बपति माइक क्यानन ब्रुकेसले भिक्टोरियाको जस्तै अवस्था आउनु अघि नै न्यु साउथ वेल्समा लकडाउन गर्नु पर्ने राय व्यक्त गरेका छन् ।

मंगलबार साझसम्म अस्ट्रेलियाको भिक्टोरियामा ४ हजार २२४ , न्यु साउथ वेल्समा ३ हजार ३१६ , क्युइन्स्ल्यान्डमा एक हजार ७१, वेस्टर्न अस्ट्रेलियामा ६३६ , साउथ अस्ट्रेलियामा ४४३ , तास्मानियामा २२८, अस्ट्रेलियन क्यापिटल टेरीटोरी मा ११३ र नोदर्न टेरीटोरीमा ३१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमा ७ हजार ७६९ जना निको भएका र ११० जनाको निधन भएको छ जसमा दुईजनाको पछिल्लो २४ घन्टामा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment