Comments Add Comment

बेलायतमा हुवावेलाई धक्का, सन् २०२७ सम्म फाइभजी उपकरण हटाउन निर्देशन

३० असार, काठमाडौं । बेलायतले आगामी डिसेम्बर ३१ देखि नयाँ हुवावेको फाइभजी उपकरण खरिदमा मोबाइल सेवा प्रदायकलाई रोक लगाउने निर्णय गरेको छ । साथै उनीहरुले आफ्नो नेटवर्कबाट सन् २०२७ सम्ममा सबै चिनियाँ फाइभजी किट हटाउनुपर्ने बताइएको छ ।

डिजिटल सेक्रेटरी ओलिभर डोउडेनले मंगलबार संसद्लाई यस्तो निर्णय भएको जानकारी दिएका हुन् । अमेरिकाले हुवावेमाथि लगाएको प्रतिबन्धको सिको गर्दै बेलायतले पनि चिनियाँ कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेको हो । अमेरिकाले हुवावेको उपकरणहरुमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै आफ्ना सहयोगी मुलुकलाई सकेसम्म हुवावेको प्रयोग नगर्न सुझाउँदै आएको थियो । यद्यपि हुवावेले भने अमेरिकाको आरोप अस्वीकार गर्दै आएको छ ।

डोउडेनले यो निर्णयले बेलायतमा फाइभजी प्रविधि आउन एक वर्ष ढिला हुन सक्ने बताए । यो सहज निर्णय नभएपछि बेलायतको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रको लागि राम्रो भएको डोउडेनले बताए । हुवावेको टुजी, थ्रीजी र फोरजी उपकरणमा भने कुनै सुरक्षा जोखिम नरहेको बताइएको छ ।

हुवावेले भने बेलायतको यो निर्णयको आलोचना गरेको छ । हुवावेले यो निर्णय बेलायतमा मोबाइल फोन बेक्ने जोकोहीका लागि नराम्रो समाचार रहेको प्रतिक्रिया दिएको छ । यसले बेलायतले सुस्त डिजिटल बाटोतर्फ डोर्‍याउनुका साथै खर्च बढाउनुका साथै डिजिटल विभाजनको अवस्था पनि सृजना गर्ने हुवावेले उल्लेख गरेको छ ।

यसअघि गत जनवरीमा बेलायतले हुवावेलाई उपकरण आपूर्ति गर्न दिने तर बजारको हिस्सा सीमित पार्ने निर्णय गरेको थियो । अमेरिकासँग व्यापार सम्झौताको तयारी र चीनसँगको चिसिँदै गएको सम्बन्धको बीचमा बेलायतले यस्तो निर्णय गरेको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment