Comments Add Comment

राखेप कार्यालयमा सदस्य सचिवको पर्खाई

जिम्मेवारी हस्तान्तरण गर्न आतुर छु : ढकाल

३० असार, काठमाडौं । सोमबार दिउँसो ३ बजेतिर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कार्यालय पुग्दा त्यहाँ विभागीय प्रमुखहरु भेटिएनन् । उनीहरु सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय गएका रहेछन् ।

खेलकुदको कार्यकारी निकाय राखेप यतिबेला कार्यकारी नेतृत्वविहीन छ । नयाँ खेलकुद ऐन २०७७ लागु भएपछि सदस्य सचिव र सदस्यहरु पदमुक्त भएका छन् ।

युवा तथा खेलकद मन्त्रालयले असार २१ गतेको सचिव स्तरीय निर्णयबाट मन्त्रालयकै युवा तथा खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्य सचिव जिम्मेवारी दिएको छ । त्यही दिन राखेपका प्रशासन शाखा प्रमुख कुलबहादुर थापाले उनलाई कार्यकक्षमै बधाई दिए । त्यसको भोलिपल्ट राखेप परिसरमा उनको स्वागतका लागि कर्मचारीहरु तयार पनि थिए । तर उनी राखेप कार्यालय गएका छैनन् ।

अहिले केही काम परेमा राखेपका विभागीय प्रमुख नै ढकाललाई भेट्न फाइल बोकेर मन्त्रालय जान्छन् । ‘एक जना यता आउँदा हुने । तर त्यसो नहुँदा यताबाट १५ जना जानुपरेको छ’ राखेपका एक कर्मचारीले भने ।

कार्यवाहक सदस्य सचिव ढकालले आफू राखेप जानु आवश्यक नभएको बताए । ‘परिषद त म दैनिक किन जानु पर्‍यो र? मेरो काम मन्त्रालको महाशाखा पनि हेर्ने हो । अनि त्यो (राखेप सदस्य सचिव) थप जिम्मेवारी हो । परिषदको केन्द्रीय कार्यालय छ । विभागीय प्रमुखहरु हुनुहुन्छ । प्रशासन विभाग छ, सबैले आ-आफ्नो काम गर्नुहुन्छ’ ढकालले भने ।
उनले प्रशासनिक र नीतिगत काम परेमा मात्र आफूले गर्ने बताए ।

ढकालले नयाँ ऐन कार्यान्वयनमा आएपछि सदस्य सचिवको पदपूर्तिसम्बन्धी प्रकिया अगाडि बढिसकेको बताए ।

असार २६ गते मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव सिफारिस समिति बनाएको छ । जसमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य छन् । समितिको पहिलो बैठकले कार्यविधि बनाई सदस्य सचिवका लागि दरखास्त दिन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

अब दरखास्त दिएका व्यक्तिहरुबाट सिफारिस समितिले ३ जना उमेदवारको नाम मन्त्रालयमा सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले सदस्य सचिव नियुक्त गर्नेछ ।

ढकाल चाँडै सदस्य सचिवको जिम्मेवारी हस्तान्तरण गर्न आतुर छन् । त्यसअघि राखेपकै कुनै कर्मचारीलाई कार्यवाहक दिने विषयमा पनि अधययन भइरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment