Comments Add Comment

चट्टान फोड्न नसक्दा बुटवल–पाल्पा सडकखण्ड तेस्रो दिनसम्म अवरुद्ध

३१ असार, बुटवल । पहिरोसँगै खसेका दुई ठूला चट्टानका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड तेस्रो दिनसम्म पनि अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा पहिरोसँगै झरेका चट्टान फोडेर पन्छाउन नसक्दा सोमबार साँझदेखि अवरुद्ध सडक अझै खुल्न नसकेको हो ।

पहिरोले करिब ५० मिटर सडक पुरेको छ । पहिरोको बीचमा एउटा करिव ३० मिटर लामो र २० मिटर चौडा चट्टान छ । अर्को १० मिटर लामो र ५ मिटर चौडा चट्टान छ ।

‘मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा पनि पूरै चट्टान फुटालेर पन्छाउन सकिएन,’ प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले भने ।

सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पाको डोजर र सडक डिभिजन कार्यालय बुटवलको एक्साभेटर प्रयोग गरिएको छ । बुधबार पनि बिहानदेखि सडक खुलाउने प्रयास शुरु भएको छ । ‘आज साँझसम्म सडक सुचारु गराउन सकिएला,’ डिएसपी पाण्डेले भने ।

ब्रेकर लगाउँदा माथिबाट फेरि पहिरो खस्ने खतरा भएका कारण रातमा बाटो खुलाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ । पहिरो नखसेको समयमा पैदल यात्रीहरुलाई बाटो पार गर्न दिँदा पनि काममा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

तीन दिनसम्म सडक बन्द हुँदा दोभानबाट पाल्पातर्फ र बुटवलतर्फ सयौं सवारी साधन रोकिएका छन् ।

यो सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको २ किलोमिटर बढी सडकखण्ड पहिरोको जोखिमयुक्त क्षेत्र हो । यो खण्डमा वर्षायाममा मात्र होइन, हिउँदमा समेत पहिरो खस्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment