Comments Add Comment

बन्दाबन्दीले रेसुङ्गाको साउने मेला प्रभावित

३१ असार, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम स्थगित भएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सर्तकता अपनाउँदै साउनभरि लाग्ने मेलाका बिशेष कार्यक्रम रोकिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दै आएको थियो ।

धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर ब्यवस्थापन समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पुजा सञ्चालन भने यथावत रुपमा सञ्चालन गर्ने भुसालले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको सर्तकता स्वरुप साउनभर कसैले पूजाआजा गर्न वा मन्दिर दर्शन गर्न चाहे मन्दिर परिसरमा तोकिएका सिमा रेखाबाट गर्न सकिने व्यवस्था मिलाइएको भुसालको भनाइ छ । तर, साउन महिनामा अघिल्ला वर्षहरुमा जस्तै बिशेष मेलाहरु भने नगरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

नेपालकै चार धाम मध्येकै एक रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । यही विश्वासमा पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् ।

ऐतिहासिक महत्व

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा उपयुक्त प्रचारको अभावमा ओझेलमा छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपश्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णको भनाइ छ ।

रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि छन् । धागिथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय जस्ता धार्मिक स्थलहरु यसै क्षेत्रभित्र पर्दछन् ।

रेसुङ्गा द्वापरयुग, त्रेतायुगदेखिकै धर्मग्रन्थहरुमा उल्लेख हुँदै आएको नाम हो । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र लगायतका महर्षिहरुको तपस्या स्थल रेसुङ्गा रहेको धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment