 
																			बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ ।
प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउँछ ।
दक्षिण कोरियाले गरेको उक्त जरिवाना टिकटकले त्यहाँ गर्ने वार्षिक आयको ३ प्रतिशत हो ।
गत वर्ष सुरु भएको अनुसन्धानका क्रममा नियामकहरुले टिकटक प्रयोगकर्ताका डाटाहरु अनधिकृत ढंगले प्रयोग गरिएको र त्यसरी डाटा दुरुपयोगबाट पीडित हुनेमा बालबालिकाहरु समेत रहेको पत्ता लगाएका थिए । टिकटकको त्यस्तो गतिविधिले स्थानीय गोपनियता कानूनको उल्लंघन गरेको र प्रयोगकर्तालाई उनीहरुका व्यक्तिगत डाटाहरु अन्य देशमा समेत पठाइन्छ भन्ने कुरा टिकटकले जानकारी नगराएको ठहर अनुसन्धानको छ ।
उता टिकटकले भने कानून मुताविकका दायित्वहरु पालना गर्न आफु गहन रुपमा प्रतिबद्ध रहेको जनाएको छ । टिकटक प्रवक्ताले भनेका छन्, ‘हामीहरुले डाटा प्राइभेसीको मामिलामा निकै उच्चकोटीको मापदण्डमा पालना गरिरहेका छौँ र हाम्रो मापदण्डलाई अझै ससक्त बनाउनका लागि निरन्तर सुधारको कार्य गर्दछौँ ।’
विश्वको सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको मुलुक भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको केही दिनपछि नै दक्षिण कोरियाले जरिवाना गरेपछि टिकटकमाथि विश्वसनीयताको संकट उत्पन्न भएको छ । उता अमेरिकाले समेत टिकटक लगायतका चिनिया सामाजिक सञ्जालहरु प्रतिबन्ध गर्ने संकेत गरिसकेको छ ।
स्मरण रहोस् गत फेब्रुअरीमा टिकटकको पूर्व कम्पनी म्युजिकलीमाथि अमेरिकामा ५७ लाख डलर जरिवाना भएको थियो । बालबालिकाका डाटाहरुको गोपनियताको सुरक्षा नगरेको भन्दै अमेरिकाको संघीय वाणिज्य आयोगले म्युजिकलीमाथि जरिवाना गरेको थियो ।
उता चिनिया सुरक्षा कानून लागू भएसँगै हङकङबाट बाहिरिने घोषणा टिकटकले गरिसकेको छ । एजेन्सी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4