Comments Add Comment

काठमाडौंमा समुदायस्तरमा संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय

२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ ।

हालै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भिडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा ३ जनामा मात्र संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार ती तीन जनामध्ये दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति हुन् ।

‘आजको नतिजाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन भन्ने तथ्यलाई प्रष्ट पारेको छ, अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण फैलिएको कुरालाई पुष्टि गर्न कहिँ कतै सहयोग गरेको पाइएको छैन’ उनले भने ।

काठमाडौं उपत्यकामा असार तेस्रो हप्ता संक्रमण स्रोत नखुलेका धेरै संक्रमित भेटिएका थिए । त्यसले समुदायस्तरमा संक्रमण भएको आशंका गरिएको थियो । त्यसपछि सरकारले काठमाडौं उपत्यकाको भिडभाड हुने १० भन्दा बढी स्थानबाट ४ हजार ८ सय नमुना संकलन गरी परीक्षण गरेको थियो ।

तर जोखिम छ

समुदायस्तरको परीक्षणमा तीन जनामा देखिएको संक्रमणले भीडबाट जोगिनुपर्ने सन्देश दिएको डा. गौतमको भनाइ छ । ‘सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरुलाई कोरोनाबाट जोगाउन अझ बल दिन्छ’ उनले भने ।

संक्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने वा त्यस्तो अवस्था नआउन पनि सक्ने डा. गौतमले बताए ।

‘संक्रमण घटे पनि कोरोनाको जोखिम घटेको छैन’ उनले भने ‘सार्वजनिक यातायात र विभिन्न कार्यालय, बैंक, हस्पिटल, सभा सम्मेलनमा भिड बढेकामा हामी चिन्तित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment