Comments Add Comment

सुदूरपश्चिम चिनाउने पुस्तक

काठमाडौं । मूलधारमा आउन नसके पनि पर्यटकीय क्षेत्रका हिसाबले पश्चिम नेपाल उत्तिकै सुन्दर र मनमोहक छ । यहाँका तालतलैया, हिमाल, चुचुरा, सांस्कृतिक तथा धार्मिक महत्वका क्षेत्र र एड्भेन्चर पर्यटनका लागि जाने पर्यटकहरुका लागि सबैभन्दा उपयुक्त स्थान हो । अझ सुदूरपश्चिम त त्यसमा निकै नै धनी छ ।

उपयुक्त प्रचार प्रसारको अभावका कारण यहाँका क्षेत्रहरु सबैसामु आउन सकेका छैनन् । यद्यपि पछिल्लो केही समययता विभिन्न माध्यमबाट सुदूरका पर्यटकीय गन्तव्यको पहिचान उजागर गर्ने काम हुँदै आएको छ ।

सुदूरका सम्पूर्ण पर्यटकीय क्षेत्र, गतिविधि, यहाँको मौलिकताबारे पर्यटन विकास समाज धनगढीले ‘एक्सप्लोर फार–वेष्ट’ पुस्तकमा समेट्ने प्रयास गरेको छ । पुस्तकको सम्पादन विगत लामो समयदेखि पश्चिमको पर्यटन प्रवद्र्धनमा काम गर्दै आएका फोटो पत्रकार भरतबन्धु थापाले गरेका छन् । पुस्तकबाट सुदूरका सबै पर्यटकीय क्षेत्रबारे जानकारी पाइन्छ ।

‘ती क्षेत्रसम्म कसरी पुग्न सकिन्छ, तिनको महत्व के छ भन्नेबारे सम्पूर्ण जानकारी समेटिएको छ,’ गन्तव्य कर्णाली पुस्तक सार्वजनिक गरिसकेका थापाले भने । पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महराले सुदूरको पर्यटकीय क्षेत्रबारे जानकारी राख्न चाहने र घुम्न जाने योजना बनाएकाहरुलाई पुस्तक उपयोगी हुने बताए ।

थारु संस्कृति, ऐतिहासिक तथा प्राकृतिक तालतलैया, चराचुरुंगी, पार्कका विषयमा जानकारीसहित यी क्षेत्रमा कुन माध्यमबाट कसरी पुग्न सकिन्छ भन्ने पूर्ण जानकारी पनि समेटिएको छ । सुदूरपश्चिम क्षेत्र जंगल सफारीका लागि पनि उपयुक्त गन्तव्यहो । यस्तै कर्णाली नदीमा र्याफ्टिङ कसरी, कहाँबाट कहाँसम्म गर्न सकिन्छ भन्ने जानकारी पनि पुस्तकमार्फत् दिइएको छ ।

सुदूरसँगै जोडिएको मध्यपश्चिम क्षेत्रमा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज, जुन पाटे बाघका लागि प्रख्यात क्षेत्र पनि, त्यसको पनि जानकारी दिइएको छ । यस्तै शुक्लाफाँटा वन्यजन्तु आरक्ष, खप्तड राष्ट्रिय निकुञ्जबारे पनि पुस्तकमा छुटाइएको छैन ।

धार्मिक हिसाबले पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण छ । यो सनातन हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि पवित्र गन्तव्य पनि हो । त्यसैले धार्मिक क्षेत्रलाई समेटेर पुस्तक तयार पारिएको समाजका अध्यक्ष महारले बताए ।

अहिले लकडाउनका कारण सबैतिर आउ–जाउ ठप्प छ । तर, लकडाउनपछि नयाँ गन्तव्यमा जान चाहनेहरुका लागि सुदूरपश्चिम क्षेत्र निकै महत्वपूर्ण सावित हुनेछ । र त्यहाँ जानुअघि त्यहाँका कुन–कुन क्षेत्र घुम्न छुटाउनु हुँदैन भन्ने जानकारी लिनुपरेमा यो पुस्तक सहयोेगी हुने सम्पादक थापा बताउँछन् ।

पुस्तकमा भरतबन्धु थापा, बसन्तप्रताप सिंह, हिरुलाल डुर्गा, हिमालयन म्याप हाउस, गोरख विष्ट, जितेन्द्र बज्राचार्य, भोजराज भाट, कोरीना रकुम थाकुरका तस्विरहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment