Comments Add Comment
बाढी पहिरोका कारण सडक अवरुद्ध :

देशैभरि राजमार्ग र पुल भत्किए, सडक विभागले भन्यो- जोखिममा यात्रा नगर्नुस्

धादिङको मोवाखोलाको बाढीले भत्काएको पुल

५ साउन, काठमाडौं । सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ ।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताए । विभागले देशभर १९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको बताएको छ ।

सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहेको छ । तर, लगातार भइरहेको वषर्ाका कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्माको गुनासो छ ।

पृथ्वी राजमार्ग पहिरोमय, केही दिन अझै नखुल्ने

सडक विभागका अनुसार काठमाडौं भित्रिने/बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको शर्माले जानकारी दिए ।

‘खोला नियन्त्रण गर्नुपर्ने भएकाले पानी नरहेसम्म काम थाल्न सकिने अवस्था छैन, काम थालेको दुई दिनसम्म पृथ्वीराजमार्ग खोल्न सकिँदैन,’शर्माले भने,’तर, हाम्रो टोली त्यहाँ पुगेको छ । के गर्न सकिन्छ भनेर हेर्दैछौं ।’

विभागका डिभिजन इन्जिनियरसहितको टोली मोवाखोला पुगेको छ । तर, चितवन र धादिङ दुबैतर्फका सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले टोली त्यतै रोकिएको छ ।

महानिर्देशक शर्माका अनुसार पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो खसेको छ । त्यसलाई पन्छाउन पनि दर्जनौं मेसिन परिचालन गरिएको छ । बैरनीदेखि फिस्लिङसम्म मात्रै १० वटा हेभी मेसिन परिचालन गरिएको छ ।

मुग्लिन-नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन ।

विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो हटाउन सकिएको छैन । भोलि बिहानबाट फेरि कृष्णभीरदेखि जवाङखोलासम्मको पहिरो हटाउन थालिने महानिर्देशक शर्माले बताए । ‘पानी परिरह्यो भने तत्काल पृथ्वी राजजमार्ग सञ्चालनमा ल्याउन कठीन हुनेछ,’ शर्माले भने,’अत्यावश्यक भएर काठमाडौं आउनैपर्ने भएर त्रिभुवन राजपथको प्रयोग गर्न गर्न सकिने छ ।’ सरकारले ५ दिनसम्म वर्ष जारी रहने बताएकाले विभागलाई सडकमा आवागन सुरु गराउन चुनौती हुने देखिएको छ ।

विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन् । नागढुंगाको नागखोलमा झरेको पहिरो हटाइएको छ ।

काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ-ठाउँमा साना पहिरो खसेका छन् । विभागले मेसिन परिचालन गर्द हटाइरहे पनि नयाँ पहिरो खसिरहेका छन् ।

अन्य सडक र पुलमा पनि क्षति

काठमाडौं आउने मात्रै हैन, विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा पनि समस्या उस्तै छ । बेनी-जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिबि्रज समेत खोलाले बगाउने अवस्था आएको छ । त्यसबाहेक महाभीरमा गएको ठूलो पहिरो पनि अझै हटेको छैन । यो सडकभन्दा तलबाट बगिरहेको कालीगण्डकले सडकतर्फको भूभाग कटान  गरिरहेकाले पहिरोको जोखिम बढेको छ ।

यसैगरी अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ । यो सडक खण्डको करिब ५ सय मिटर सडक नै खोलाले बगाएको विभागका महानिर्देशक शर्माले जानकारी दिए । अब ग्याबिन पर्खाल नलगाई यो सडक सञ्चालनमा ल्याउन कठीन हुने भएको छ । त्यसैगरी सोही खण्डको सुर्केगाड खोलाको पुलमा पनि क्ष्ँति पुगेको छ । माथिबाट पहिरो खसेर पुलको बिममा क्षति पुर्‍याएको छ ।

बुटवल-तानसेन खण्डको सिद्धबाबामा पनि पहिरो खसेर सडक अवरुद्ध छ । सिद्धबाबा आसपासको क्षेत्रमा पहिरो खसेपछि आइतबारबाट खुलेको सडक फेरि बन्द हुन पुगेको हो ।

त्यस्तै सुर्खेत-जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो तर, आज विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक बन्द भएको छ ।

खहरे खोलाहरु बढेकाले विभिन्न ग्रामीण सडकहरुमा पनि सवारी चल्न सकेका छैनन् । सडकमा पहिरो खसेपछि विभिन्न जिल्लासहित र पालिकाहरुको सडक सम्बन्ध टुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment