
६ साउन, काठमाडौं । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कालीमाटी तरकारी बजारमा तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सामान्य बेलामा भन्दा झण्डै आधा मात्रैले तरकारीहरु काठमाडौं आइरहेको समितिका प्रवक्ता बिनय श्रेष्ठले जानकारी दिए ।
‘देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा भित्रिन्थ्यो तर अहिले साढे तीन सय टनमा झरेको छ र यो क्रम अझै आरोलो लाग्ने चरणमा छ’ प्रवक्ता श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार साउन २ गते कालीमाटीमा ५४३ टन तरकारी तथा फलफूल भित्रिएको थियो । ३ गते उक्त परिमाण घटेर ४७४ टनमा आइपुगेको थियो भने साउन ४ गते ४९० टन तरकारी बजारमा भित्रियो । सोमबार ३२७ टन मात्रै तरकारी बजारमा आएको थियो । मंगलबार मध्यान्हसम्म एक सय ५० टन मात्रै तरकारी बजारमा भित्रिएको बजार विकास समितिले जनाएको छ ।
मूल्य बढाउने बाहना
वर्षातको समयमा उत्पादन कम हुने भएकाले बजारमा तरकारीको खुद्रा मूल्य बढ्न सक्ने बजार विकास समितिले जनाएको छ । बाढी र पहिरोले सडक अवरुद्ध हुनु, तथा बाढीकै कारण भारतीय तरकारीहरु आउन सक्दा बजारमा केही तरकारीको मूल्य बढ्न सक्ने कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
बजारमा अहिले घिरौला, सिमी, बोडी जस्ता तरकारीको सिजन रहेको बजार विकास समितिले जनाएको छ ।
पहिरोले सडक अबरुद्ध हुँदा काठमाडौंको टनेलमा उत्पादन भएको गोलभेडा उपत्याका बाहिर पठाउन नसक्दा गोलभेडाको मूल्य भने सस्तो भएको समितिले जनाएको छ ।
केही समय तरकारीको मूल्य उकालो लाग्न सक्ने भएकाले सम्भव भए गडागुडी तथा अन्य तरकारी प्रयोग गरेर महँगीबाट जोखिन समितिले उपभोक्तालाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4