Comments Add Comment

कोरोना नियन्त्रणमा एउटै वडाको खर्च ७३ लाख

८ साउन, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ ले कोरोना रोकथाम र व्यवस्थापनमा ७३ लाख ८६ हजार ३ सय रुपैयाँ खर्च गरेको पाइएको छ ।

२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि क्वारेन्टिन बनाउन थालेको वडा कार्यालयले त्यसपछिको ७७ दिनमा गरेको खर्च विवरण बुधबार सार्वजनिक गरेको थियो ।

वडाध्यक्ष जनक बमले सार्वजनिक गरेको विवरणअनुसार भत्तामा मात्रै ११ लाख रुपैयाँ खर्च गरिएको छ । स्थानीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ सिल गर्दा खटाइएका स्वयं सेवकको भत्तामात्रै ८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

विभिन्न क्वारेन्टिन व्यवस्थापनका लागि बनाइएका समिति तथा उप–समितिका सदस्यको भत्तामा १ लाख ९२ हजार रुपैयाँ खर्च गरिएको छ । स्वयंसेवकलाई कर कट्टी गरेर दैनिक ५ सय र स्वास्थ्यकर्मीलाई दैनिक १ हजार रुपैयाँ भत्ता दिइएको वडाध्यक्ष बमले बताए ।

उनले राम्रो व्यवस्थापन गर्दा खर्च बढी भएको बताए । ‘हामीले सबै भन्दा राम्रो व्यवस्थापन गरेका थियौं’ उनले भने ‘सुरक्षित ढंगले व्यवस्थापन गर्दा केही रकम बढी खर्च भयो होला तर यो यथार्थ विवरण हो ।’

वडाले पहिलो चरणमा १८ जना स्वयंसेवक खटाएको थियो भने दोस्रो चरणमा १९ जना स्वास्थ्यकर्मी र स्वयंसेवक खटाएको थियो । स्यानिटाइजर, मास्क, पञ्जालगायतका स्वास्थ्य सामाग्री खरिदमा १ लाख ४५ हजार रुपैयाँ खर्च देखाइएको छ ।

यस्तै कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, खाद्यान्नमा ६ लाख १३ हजार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खाना खर्चबापत १ लाख ४८ हजार, खानेपानी र बिजुली खर्च २ लाख ५२ हजार, ६ ओटा होटलबाट प्राप्त बिल शीर्षकमा ३६ लाख ११ हजार रुपैयाँ खर्च गरेको वडा कार्यालयको विवरणमा उल्लेख छ ।

अनियमितता भएको आशङ्का

एउटै वडा कार्यालयले अप्रत्याशित खर्च गरेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । ‘एउटै वडाले ७३ लाख भन्दा बढी खर्च गर्नु अनियमितता हो’ नेपाली काँग्रेसका लव शाहीले भने ‘यसको छानबिन हुनुपर्छ ।’

उनले आफू पनि स्वयंसेवकको रूपमा खटिएको तर, भत्ता नपाएको बताए । उनले भने, ‘म पनि स्वयंसेवक थिएँ । मैले भत्तै पाएको छैन । कसरी भत्तामा मात्रै भयो यत्रो खर्च भयो ?’

नेपाली कां‌ग्रेसको लम्कीचुहा नगरपालिका वडा नम्बर १ समितिले पनि खर्च विवरण अस्वाभाविक भन्दै यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ । अन्यथा कानुनी कारबाहीमा जाने सभापति केशव बजगाईंले बताएका छन् ।

स्थानीय कृष्ण वटालाले पनि वडा कार्यालयको खर्च विवरण यथार्थ भन्दा बढी रहेको बताए । ‘खर्च भएको होला सबै राम्रो थियो तर, यति धेरै खर्च हुनै सक्दैन’ उनले भने ।

लम्कीचुहा नगरपालिकाका सूचना अधिकारी माधवकुमार जैसीले नगरपालिकामा यस सम्बन्धी विवरण नआएको बताए । ‘हिजो वडा नम्बर १ ले हिसाब सार्वजनिक गरेको हो । हामीकहाँ विवरण आएको छैन’ उनले भने, ‘नगरपालिकामा पुगेपछि फेरि रुजु गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment