Comments Add Comment

राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

९ साउन, सप्तरी । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरू घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरूको संख्या बढ्दो थियो ।

तर २ साउनमा सप्तरीका ७२ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि भारत गएका उनी परिवारसहित २० असारमा घर फर्किएका थिए ।

मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धरान लगियो । कोरोनाको आशंकामा परीक्षण गर्दा २ साउनमा रिपोर्ट पोजेटिभ आयो । राति ८ बजेतिर कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसको केही घण्टामै उनको निधन भयो ।

लहरो तान्दा गएको पहिरो

७२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । उनका परिवारका ५ जना र कार्मचारी र व्यापारिक साझेदारसहित ७ जना पोजेटिभ देखिए ।

मृतकका ६७ वर्षीया पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाति र ११ वर्षीया नातिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यस्तै उनका ग्यास पलसमा काम गर्ने ४९ वर्षीय पुरुष र कलेजका साझेदार ३७ बर्षका पुरुषमा संक्रमण देखियो ।

दुई जनामा संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यको स्वाब संकलन भयो । त्यसक्रममा राजविराज-८ का ३७ वर्षका पुरुषकी ३२ वर्षीया पत्नीमा संक्रमण पुष्टि भयो । उनी गजेन्द्रनारायण सिंह अस्पतालकी नर्स हुन् ।

अस्पतालका नर्समा समेत संक्रमण भेटाएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी स्वाब संकलन गरिएको छ । कर्मचारीमा संक्रमण देखिएन, तर इमर्जेन्सीका एक जनामा संक्रमण भेटियो ।

यस्तै मृतकको पसलमा काम गर्ने ४९ वर्षीय पुरुषको कट्याक ट्रेसिङका क्रममा उनकी ४० वर्षीया पत्नी, १५ वर्षीया छोरी, १७ वर्षीया भतिजी र १५ वर्षीय भतिजामा पनि संक्रमण देखिएको छ । त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर आसपासका छिमेकी लगायतको स्वाब संकलन गरियो । मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनकी ४७ वर्षीया पत्नी पनि संक्रमित भएको पुष्टि भयो ।

कन्ट्याक्ट ट्रेसिङ्कै क्रममा भारतबाट आएलगत्तै वृद्धलाई भेट्न राजविराज ३ का एकजना गएको खुल्न आयो । ६३ वर्षीय पुरुषमा मात्र होइन, २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ पाइए ।

कन्ट्याक्ट ट्रेसिङ्गमा परे मृतकलाई उपचार गराउन धरानसम्म लिएर गएका गाडी चालक । ४० वर्षीय चालकको पनि रिपोर्ट पोजेटिभ आयो । मृतकको घरमा गएर भाँडावर्तन सफा गर्ने ५५ वर्षीया महिला पनि पोजेटिभ देखिएका छन् ।

मृतककै घर अगाडि रहेको चिया नास्ता पसलका सञ्चालक पनि सम्भावित संक्रमितको सूचीमा परे । परीक्षण गर्दा उनीसँगै परिवारका चार सदस्यमा संक्रमण पुष्टि भएको छ । वृद्धको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय वृद्ध र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ देखिएका छन् ।

‘अहिलेसम्म सम्पर्कमा आएका २९ जनामा कोरोना संक्रमण देखिएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भने, ‘यो समुदायमा कोरोना फैलिसकेको लक्षण हो ।’

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा २९ जनामा भेटिएको संक्रमणको स्रोत ७२ वर्षीय वृद्धको परिवार भएको बताउँछन् । उनले भने, ‘उहाँहरु भारतबाट आउनुभएको थियो । परिवारको कुनै सदस्यमा संक्रमण थियो र, त्यहीबाट अरुमा सर्‍यो । र, समुदायमा पुगेको देखिन्छ ।’

यसरी एउटै व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिनु डरलाग्दो भएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘अब पूर्ण लकडाउन गरेर समुदाय स्तरमा व्यापक परीक्षण गर्नु बाहेक अर्को विकल्प छैन ।’

भारतबाट आएकाहरु कसरी सिधै घर पुगे ?

२ साउनमा मृत्यु भएका वृद्ध पत्नीको उपचारका लागि लकडाउनभन्दा अगाडि नै छोरा, बुहारी, नाति, नातिनासहित भारत गएका थिए । पत्नीको उपचार त भयो, तर लकडाउन भएका कारण उनीहरु भारतमै अडि्कए । भारतमा लकडाउन खुल्यो भने नेपालमा केही सहज भयो ।

राजविराजमा व्यवसाय पनि चलाउनु थियो । त्यसैले यो परिवार २० असारमा नेपाल फर्कियो । तर, क्वारेन्टिनमा बसेन । जबकी भारतबाट आउने हरेकलाई सीमाबाट सीधै क्वारेन्टिनस्थलमा लगेर राखिन्छ ।

राजविराजका मेयर शम्भु यादवका अनुसार भारतबाट आउने हरेक व्यक्तिलाई सुरक्षाकर्मीले उनको घर नजिक भएको क्वारेन्टिनसम्म ल्याएर जनप्रतिनिधिहरुलाई जानकारी गराउँछ । त यो परिवारको बिषयमा सुरक्षाकर्मीले कुनै जानकारी गराएनन्’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल भने स्थानीय जनप्रतिनिधिले यो परिवारलाई घरमा लगेर राखिदिएको बताउँछन् । वडाध्यक्ष प्रेम यादवले घरमा ल्याएर राखिदिएको भन्दै उनले भने, ‘हामीलाई जानकारी गराएको भए यस्तो अवस्था आउँदैनथ्यो ।’

उनीहरुका अनुसार होम क्वारेन्टिनमा नराख्नु राखेपछि त्यसको नियम पालना गरे नगरेको अनुगमन गर्नुपर्ने थियो । तर, त्यसमा कसैले चासो नदिएको र भारतबाट फर्किएर आएकाहरु पसलमा बस्ने, भेटघाट गर्ने जस्ता गतिविधि गरेको छिमेकीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment