Comments Add Comment

‘छ माया छपक्कै’का निर्माताले अझै पाएनन् २ करोड शेयर

वितरक भन्छन्–‘परिस्थिती यस्तै भयो, हामी क्षमा माग्छौं’

नेपाली चलचित्रका निर्माताहरुले चलचित्र हलबाट उत्रिएपछि पनि लामो समय शेयर नपाउने गरेको समाचार त नौलो होइन । एउटा हिट चलचित्रको पैसा उठाउन अर्को हिट चलचित्र रिलिज हुनुपर्ने वाध्यता नेपाली चलचित्र क्षेत्रमा छ ।

चलचित्रको कारोबार सिधै नगदमा भएपनि हलवालादेखि वितरकले निर्मातालाई लामै समय शेयर रकम नदिएर झुलाउने गरेका छन् । यो वाध्यताको बिषयमा कमै मात्र निर्माता बोल्ने गरेका छन् । अझ, करोड भन्दा बढी रकम शेयर पाउने निर्माताहरुले यो समस्या धेरै भोग्नुपरेको छ ।

गतबर्षको असोज २४ गते रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’का निर्माताले देशभरबाट अझै २ करोड भन्दा बढी शेयर पाउन सकेका छैनन् । निर्माताले वितरकसँग बारम्बार ताकेता गर्दा पनि रकम नपाएपछि सामाजिक संजालमा पनि आक्रोश व्यक्त गर्दै आएका छन् । तर, उनको समस्याको सुनुवाई भएको छैन ।

निर्माता रोहित अधिकारीले अनलाइनखबरसँग भने–‘देशभरबाट २ करोड भन्दा बढी रकम लिनुछ । काठमाण्डौका गोपिकृष्ण, बीएसआर, पुष्पाञ्जली लगायतका हलबाट ५० लाख भन्दा बढी शेयर रकम उठेको छैन । काठमाण्डौ बाहिर एफडी कम्पनीले हाम्रो चलचित्र वितरण गरेको हो । एफडीसँग डेढ करोडको हारहारीमा शेयर लिनुछ । तर, चलचित्र रिलिज भएको १० महिना बढी भैसक्दा पनि शेयर नपाउनु दुर्भाग्य हो ।’

रोहितले वितरकसँग चलचित्र उत्रिएको ३ महिना भित्रमा रकम पाउनेगरि संझौता भएपनि त्यो कार्यन्वयन हुन नसकेको बताए । उनले भने–‘हामीले माघसम्ममा पैसा पाउनुपर्ने हो । तर, अहिले वितरकले कोरोनाको कारण देखाएर पैसा दिएका छैनन् । हाम्रो चलचित्रलाई कोरोनाले कुनै पनि असर गरेको छैन ।’

यता, चलचित्रको काठमाण्डौ बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष सुशिल पोखरेलले परिस्थिती नै प्रतिकुल भएका कारण केही रकम दिन नसकेको बताए । उनले भने–‘रोहितजीलाई हामीले पैसा दिनुपर्ने हो । तर, हामीले पनि समय प्रतिकुल हुँदा पैसा प्रवाह गर्न सकेका छैनौ । उहाँले यो समयमा पनि हामीलाई सहयोग गरिदिनुभएको छ, यसका लागि उहाँलाई धन्यवाद । समयमै रकम भुक्तानी गर्न नसकेकोमा हामी उहाँसँग क्षमा माग्न चाहन्छौ ।’

उनले रकम समयमै भुक्तानी गर्न नसकेको कारणबारे भने–‘हलसँग हामीले कुनै ठूलो चलचित्र रिलिज अगाडि सम्पूर्ण भुक्तानी गरिदिन भनेका हुन्छौ । छ माया छपक्कैको रकम ‘म यस्तो गीत गाउँछु २’ रिलिज अगाडि भुक्तानी गरिसक्न भनेका थियौं । तर, कारोबार मिलाउँदा मिलाउँदा कोरोनाले सबै अस्तव्यस्त भयो । अहिले हल संचालकहरु पनि सम्पर्कमा छैनन् । हल नखुलेसम्म पैसा उठाउन पनि समस्या छ ।’

सुशिलले १८ करोड कमाएको ‘छक्का पन्जा ३’को कारोबार समेत एफडीले मिलाएको भन्दै ‘छ माया छपक्कै’को बाँकी रकम पनि भुक्तानीका लागि आफूहरु लागिरहेको बताए ।

निर्माता र हलको पुलको रुपमा वितरकले काम गरेका हुन्छन् । जसवापत वितरकले पनि कमिसन पाउने गरेका छन् । निर्माताले हलसँग सिधै शेयर रकम माग्न मिल्दैन । यसैले, निर्माता र हलको विचमा रहेर काम गर्ने वितरकबाट नै सबै कारोबार हुने गरेको छ । तर, निर्माताले बारम्बार आफूले पाउनुपर्ने शेयर रकम नपाएको गुनासो गर्नु आफैमा चलचित्र क्षेत्रका लागि सुखद कुरा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment