Comments Add Comment

म्यानचेष्टर युनाइटेड र चेल्सी जितसहित च्याम्पियन्स लिगमा छनोट

१२ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । प्रिमियर लिग २०१९-२० अन्तर्गत आइतवार भएको दिगको अन्तिम चरणको खेलमा युनाइटेड र चेल्सी दुवैलै जित हात पार्द शीर्ष चारमा लिग सकाएका हुन् ।

गर या मरको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २-० ले हरायो । युनाइटेडलाई लेस्टरको मैदानमा जित दिलाउन ब्रुनो फर्नान्डेज र जेस लिनगार्डले गोल गरे । फर्नान्डेजले ७१औ मिनेटमा पेनाल्टीमा गोल गरे ।

लेस्टरका कप्तान वेस मोर्गानले एन्टोनी मार्सियललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो र त्यसमा फर्नान्डेजले सहजै गोल गरे । इन्जुरी टाइममा लेस्टरका जोनी इभान्सले युनाइटेडका स्कट म्याकटोमिनेलाई खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लिनगार्डले इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए । जितपछि युनाइटेडले ३८ खेलबाट ६६ अंक जोड्दै तेस्रो स्थानमा लिग सकाएको हो ।

उता चेल्सीले पहिलो हाफको इन्जुरी टामइममा दुई गोल गर्दै वल्भ्सलाई २-० ले हरायो । चेल्सीका लागि मासोन माउन्ट र ओलिभर जिरुडले गोल गरे । ३८ खेलबाट युनाइटेड समान ६६ अंक जोडेको चेल्सीले चौथो स्थानमा रहेर लिग सकाएको छ । गोलअन्तरमा चेल्सी युनाइटेडभन्दा पछि रहेको हो ।

पराजित लेस्टर भने ६२ अंक जोड्दै पाँचौ भयो र अर्को सिजन युरोपा लिगको लागि छनोट भएको छ ।

चेल्सीसँग पराजित वल्भ्स भने टोटनहमभन्दा पछि रहँदै युरोपा लिगको प्लेअफमा समेत छनोट हुन असफल भएको छ । टोटनहमले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै वल्भ्सलाई गोलअन्तरका आधारमा पछि पारेको हो । दुवै टिमले समान ५९ अंक जोडेका थिए ।

१३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा प्यालेसका जेफ्रो स्कुल्पले बराबरी गोल पर्काए ।

जितेर पनि बर्नमाउथ रेलिगेसनमा

शीर्ष चारमा पर्ने होड जस्तै रेलिगेसनबाट जोगिन पनि ३ क्लब संघर्षरत थिए । जसमा तीन क्लबले तीन फरक नतिजा निकाले । तर बर्नमाउथ जितेर पनि रेलिगेसनबाट जोगिन सकेन ।

एस्टन भिल्ला बराबरी खेल्दै रेलिगेसनबाट जोगियो । वाटफोर्ड भने पराजय पछि रेलिगेसनमा पर्‍यो । नर्विच सिटी यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

बर्नमाउथले एभरटनलाई ३-१ ले पराजित गर्दै ३४ अंक जोडेको थियो । बर्सनलसँग ३-२ ले पराजित भएको वाटफोर्डको पनि ३४ अंक नै थियो । गोलअन्तरमा बर्नमाउथले वाटफोर्डलाई पछि पार्‍यो । तर एस्टनभिल्लाले वेष्टह्याम युनाइटेडसँग १-१ को बराबरी खेलेपछि बर्नमाउथको रेलिगेसनबाट जोगिने सम्भावना अन्त्य भएको हो । एस्टन भिल्लाले ३८ खेलबाट ३५ अंक जोड्दै रेलिगेसन टारेको हो । समान ३४ अंक जोडेको बर्नमाउथ र वाटफोर्ड भने नर्विचसँगै अर्को सिजनका लागि च्याम्पियनसिपमा घटुवा भएका छन् ।

अन्य खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गर्दा ब्राइटनले बर्नलीलाई २-१ ले हरायो ।

भार्डी सर्वाधिक गोलकर्ता

लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डी यस सिजनका सर्वाधिक गोलकर्ता बने । अन्तिम खेलमा युनाइटेडसँग पराजित हुँदा गोल गर्न नसके पनि उनले यस सिजन सर्वाधिक २३ गोल गरे ।

अन्तिम दिन वाटफोर्डविरुद्ध २ गोल गरेका आर्सनलका ओबामेयाङले २२ गोल गरे । यस्तै साउथह्याम्पटनका डाद्दी इङ्ग्सले पनि २२ गोल नै गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment