Comments Add Comment

नेकपामा खुम्चिँदै छ सहमतिको विकल्प : अब महाधिवेशन कि प्रधानमन्त्रीको राजीनामा ?

१३ साउन, काठमाडौं । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर सिधै पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा पुगेका प्रचण्डले कडा अभिव्यक्ति दिए । सोही कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले पनि केही व्यक्ति चोइटिएर जान सक्ने बताए ।

साउन १३ सम्मका लागि स्थगित स्थायी कमिटी बैठकअघि दुवै पक्षबीच महाधिवेशन वा केपी ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने विषयमा सहमतिको सम्भावना देखिएको छैन । ओलीविरुद्ध प्रचण्ड र माधव नेपाल पक्षबीचको एकता अझ कसिलो बन्दै गए पनि अध्यक्ष र प्रधामन्त्री दुवै पद नछाड्ने केपी ओलीको अडान यथावत छ ।

नेकपा स्थायी कमिटी बैठक शुरु भएको एक महिना पुगिसकेको छ । असार १० गते शुरु भएको बैठक यसबीचमा सात पटक स्थगित भइसकेको छ । दुई अध्यक्षबीच समझदारी नभई बैठक बसेर कुनै निकास नआउने भन्दै पटक–पटक  बैठक सरेपनि ओली र प्रचण्डबीच दूरी बढिरहेको छ ।

सचिवालय बैठकसमेत बस्न नसक्ने अवस्थामा ओली–प्रचण्ड सम्बन्ध पुगेको छ । प्रचण्डले पछिल्ला संवादप्रति दिक्दारी प्रकट गरेका छन् । ओलीले पनि प्रचण्ड सहमतिकबाट भागेको भन्दै पछिल्ला संवादलाई ‘घान बिनाको जाँतो घुमाइ’ भन्ने गरेका छन् ।

पछिल्लो संवादमा ओलीले प्रचण्डलाई आफू दबावमा परेर कुनै पद नछाड्ने भन्दै सबै परिस्थितिको सामना गर्ने बताएका छन् । उनले महाधिवेशनबाट बिचार र नेतृत्वको टुंगो लगाउने विकल्पमा गए पार्टी एकता जोगिने भन्दै गुट भेला पारेर संख्याका आधारमा गर्ने पार्टी एकताको भावना विपरीतका कुनै पनि निर्णय नमान्ने बताउँदै आएका छन् । यसको अर्थ हो आफ्नो सहमति बिना हुने कुनै निर्णय ओलीले स्वीकार गर्ने छैनन् ।

शुक्रवारको प्रचण्डको अभिव्यक्तिपछि शनिवार विहान स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले मंसिरदेखि चैतकोबीचमा महाधिवेशन गर्ने गरी पार्टीको अहिलेको विवाद टुंगो लगाउने प्रस्ताव प्रचण्डसमक्ष राखेका थिए ।

अघिल्लो सचिवालय बैठकमा महाधिवेशनका लागि सहमत भइसकेका प्रचण्ड भोलिपल्टै त्यसबाट पछि हटेपछि दुई अध्यक्षबीचको समझदारीको च्याप्टर समेत सकिएको नेताहरु बताउँछन्

तर, प्रचण्डले समस्याको जड केपी ओली भएकाले निकास पनि ओलीलेनै दिनुपर्ने भन्दै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताएको स्रोत बताउँछ । माधव नेपाल पक्ष शुरुदेखि नै ओलीले दुईमध्ये एक पद रोजेर अर्को छाड्नुपर्ने पक्षमा छ । तर, प्रचण्डको चाहना प्रधानमन्त्री बन्ने देखिएकाले अब नेपाल पक्षले पनि दुईमध्ये एक  पद भन्न छाडेको छ ।

प्रचण्ड–माधव पक्ष अब स्थायी कमिटीमा छलफल गरेर बैठकले जे निर्णय गर्छ, त्यही आधारमा अघि बढ्ने निष्कर्षमा पुगेका छन् । ओलीसँग एक्लाएक्लै छलफलबाट कुनै निकास नआउने भन्दै प्रचण्डले माधव नेपाल पक्षसँगको सहकार्य नछाड्ने बताएका छन् । नेपाल पक्षले पनि पार्टीलाई बिधिसम्मत चलाउन प्रचण्डलाई बिनाशर्त समर्थन जनाएको छ ।

केपी ओली बैठकमा नआए वा बैठकका निर्णय मान्न अटेर गर्दै गएमा बैठकमा अलग्गै प्रस्ताव लगेर पारित गर्ने तयारी समेत नेपाल पक्षधर नेताहरुले गरिरहेका छन् । स्थायी कमिटीले त्यो अवस्थामा ओलीलाई हट्नका लागि निर्देशन दिने प्रस्ताव पारित गर्ने र त्यसलाई केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गराउने तयारी उनीहरुको देखिन्छ ।

तर, ओली पक्षले भने सहमति बाहेकका प्रक्रियाबाट कुनै एक पक्ष अघि बढ्नासाथ पार्टी त्यहीँबाट बिभाजन हुने भन्दै अब पार्टीको संकट महाधिवेशनबाट मात्र टुंगो लाग्ने बताउँछ । प्रधानमन्त्री तथा पहिलो अध्यक्ष ओलीले अबको बैठकमा महाधिवेशनको मिति र स्थान तोकेर अरु विषयको छलफल रोक्ने प्रस्ताव अघि सारेका छन् ।

ओली निकट स्रोतले भन्यो– महाधिवेशनबाट कोही भाग्न पाउँदैन, प्रचण्डले त मंसिरमै महाधिवेशन गरौं भनेर ओलीसँग भनेकै हो । उहाँ माधव नेपाल पक्षबाट बहकिनुभयो । पार्टी बिभाजन रोक्ने हो भने केन्द्रीय कमिटीले निर्णय गरेको चैत २५ वा त्यसअघि नै महाधिवेशन गर्ने निर्णय स्थायी कमिटीबाट हुनुपर्छ ।’

अर्को पक्षले भने महाधिवेशनको जाल फालेर प्रधानमन्त्रीले पार्टीभित्रको मुख्य समस्या पन्छाउन खोजेको आरोप लगाएको छ । चैतमा महाधिवेशन गर्ने हुँदा भदौभित्र स्थानीय तहका अधिवेशनहरु गरिसक्नुपर्नेमा अहिलेसम्म सदस्यताको टुंगोसमेत नलागेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् । महाधिवेशन गर्नका लागि भन्दा पनि समस्या पन्छाउनका लागि भनिएको उनको आशंका छ ।

नेकपामा अहिले ओली पक्षले यथास्थितिमै सहमतिको बटमलाइन महाधिवेशनलाई बनाएको छ भने अर्को पक्षले प्रधानमन्त्रीले एक पद छाड्नुपर्ने विषयलाई बटमलाइन बनाएको छ ।

अघिल्लो सचिवालय बैठकमा महाधिवेशनका लागि सहमत भइसकेका प्रचण्ड भोलिपल्टै त्यसबाट पछि हटेपछि दुई अध्यक्षबीचको समझदारीको च्याप्टर समेत सकिएको नेताहरु बताउँछन् ।

ओली पक्षले माधव नेपाल समूहको दबाबमा परेर प्रचण्ड महाधिवेशनमा जाने सहमतिबाट पछि फर्केको दाबी गरेको छ । प्रचण्डले पछिल्लो सचिवालय बैठकको अघिल्लो दिन बिष्णु पौडेल र जनार्दन शर्मा सहित भएको वार्तामा ओली दुवै पदबाट राजीनामा दिन तयार नभएपछि ‘लौ मलाई प्रधानमन्त्री चाहिएन, तपाई नै खानुस् महाधिवेशनमा जाऔं’ भनेको दावी ओली पक्षको छ ।

अब के हुन्छ त ?

नेकपाका नेताहरुसँग पनि जवाफ छैन । पछिल्लो समय मुख्य नेताहरुबीच पनि संवाद भएको छैन । ओली पक्ष महाधिवेशनमा जाने निर्णय गरेर बैठक टुंग्याउन चाहान्छ भने अर्को पक्ष बैठकका सबै एजेण्डाहरुमा छलफल गरेर प्रक्रियासम्मत निर्णय गराउनुपर्ने पक्षमा छ ।

यो विवाद लम्बिदै जाँदा कि त प्रचण्ड र माधव नेपाल पक्ष महाधिवेशनमा जाने निर्णय गर्दै राजीनामाको मागबाट पछि हट्नुपर्नेछ । होइन भने स्थायी कमिटीको बहुमतले गर्ने निर्णय ओलीले मान्नुपर्नेछ । यी दुवै कुरामा दवै पक्ष सहमत भइनसकेकाले अन्यौल थपिएको नेताहरु बताउँछन् ।

एक महिनादेखि पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक यसबीचमा नेतृत्वबीच सहमति भएन भने पुनःस्थगित हुने सम्भावना छ । ओलीले पटक–पटक आफू विरुद्ध निर्णय गरेर देखाउन प्रचण्ड र माधव नेपाललाई चुनौति दिँदै आएका छन् ।

ओलीले पार्टी बिभाजन गर्ने खतरा रहेकै कारण अर्को पक्ष संयमित हुँदै आएकोमा अब बैठक रोकेर निष्कर्षहीन छलफलमा नबस्न प्रचण्ड र माधव नेपाललाई स्थायी कमिटी सदस्यहरुको दबाव छ ।

ओलीसँग चिढिए प्रचण्ड

पछिल्लो समय प्रचण्ड अब ओलीसँग समझदारीमा जान नसकिने निष्कर्षमा पुगेको उनी निकट नेताहरु बताउँछन् । उनले माधव नेपालसँगै अघि बढ्न चाहेका छन् । ओलीले जनताको बहुदलीय जनवाद स्वीकार गरे मात्र अध्यक्ष बनाउने भनेर आफूलाई एमालेमा विलीन गराउन खोजेको गुनासो प्रचण्डको छ ।

उनी निकट एक नेताले भने–प्रचण्डले नेकपाको अध्यक्ष बन्नका लागि एमाले हुनुपर्ने, जनताको बहुदलीय जनवाद शिरोपर गर्नुपर्ने हो भने योभन्दा ठूलो अपमान केही हुन्न । विद्या भण्डारीलाई राष्ट्रपति, केपी ओलीलाई प्रधानमन्त्री र भोलि कुनै अमूक एमालेलाई अध्यक्ष बनाउनका लागि पार्टी एकीकरण भएको होइन ।’

शुक्रवारको संवादपछि प्रचण्ड ओलीसँग थप चिढिएको माधव नेपाल निकट नेताहरु बताउँछन् । ओलीसँग फेरि कुनै सहमतिमा पुगेर प्रचण्डले धोका दिन्छन् कि भन्ने माधव नेपाल पक्षको आशंका अब हट्न थालेको छ । उनले जुनसुकै अवस्थामा पनि गठबन्धन नतोड्ने प्रतिबद्धता जनाएका छन् । ओलीबाट पटक–पटक धोका भएकाले अब विश्वास गर्न नसकिने प्रचण्डले नेताहरुसँग बताएका छन् ।

प्रचण्डको भनाइ उधृत गर्दै खुमलटार बैठकमा सहभागी एक नेताले भने– ‘केपी ओली वचनमा पक्का नेता होइनन् । मसँग माधव नेपालको भर परेर तपाईलाई धोका हुन्छ भन्ने, अनि माधवजीसँग भेट्दा, जंगलीको विश्वास गर्दा तपाई फेरि धोका खानुहुन्छ भन्ने । यसरी साथीहरुबीचमा लडाउने र अनिर्णयको बन्दी बनाउने खालको देखियो ।’

यसबीचमा पनि दोस्रो तहका नेताहरुले ओली र प्रचण्डबीच संवाद तथा समझदारी गराउने प्रयास छाडेका छ्रैनन् । महासचिव बिष्णु पौडेलले सबै नेताहरुसँग कुरा गरिरहेका छन् । ओलीले दुवै पद नछाड्ने र हटाउनका लागि अभियोग लगाउनुपर्ने भएकाले पार्टी बिभाजन हुन नदिन नेताहरु जिम्मेवार बन्नुपर्ने आग्रह उनले गरिरहेका छन् । आफूसहित संलग्न भएर गरिएको सहमति बीचमै भत्किएपछि अर्का नेता जनार्दन शर्मा भने असन्तुष्ट छन् ।

ओली एक पद छाड्न तयार पनि नहुने र पार्टीले गर्ने छलफल तथा निर्णयमा सहभागीसमेत नहुने अवस्थाले नेकपा गम्भीर संकटमा पुगेको नेताहरु बताउँछन् ।

स्थायी कमिटीमा प्रचण्ड माधव नेपाल पक्षको बहुमत छ । तर ओली पक्षले यदि निर्णायक अवस्थामा पुग्यो भने त्यो बहुमत नरहने र दुवैतर्फ बहुमत नहुने गरि बीचमा तेस्रो धार निस्कने दावी गरेको छ । बहुमतले कुनै निर्णय गरेपनि त्यो एउटा अध्यक्षलाई मान्य नहुनासाथ पार्टी एकताको दस्तावेजका आधारमा अवैध हुने तर्क ओली पक्षको छ ।

अल्पमतले बहुमतलाई बन्दी बनाएको नेकपालाई निकास दिन अब नेताहरु समक्ष दुई विकल्पमात्र देखिएका छन्–ढिलोमा चैतसम्म महाधिवेशन गर्ने गरी ओलीलाई दुवै पदमा कायम राख्ने वा प्रचण्ड माधव पक्षले ओलीविरुद्ध निर्णय गरेर त्यसपछि हुन सक्ने सबै दुर्घटना सामना गर्न तयार हुने ।

खुमलटारमा दिनहँु भइरहेका भेला र बैठकले अहिलेसम्म यी दुवै विकल्पमा निर्णय गर्न सकेका छ्रनन् । उता बालुवाटारका भेला र बैठकको भने एउटै निष्कर्ष छ– अध्यक्ष चाहिए महाधिवेशनमा जाउ, प्रधानमन्त्री चाहिए अर्को चुनाव पर्ख ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment