+
+
Shares

क्वारेन्टिन बनाइएका विद्यालयको दुर्दशा

‘१ भदौदेखि विद्यालय खोल्न सकिँदैन’

रामहरि ओझा रामहरि ओझा
२०७७ साउन १३ गते १०:२८

१३ साउन, डोटी । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा मेलतोलीमा रहेको चौड्यालेश्वर आधारभूत विद्यालयको बालविकास कक्षा राम्रोसँग सजाइएको थियो । भुइँमा कार्पेट, कार्पेटमाथि चकटी, बालबालिकाहरुलाई पढ्नका लागि गोलो मेच र भित्तामा वर्णमाला सजाइएको थिए । बालबालिकाहरुका लागि खेल्ने सामग्रीहरु पनि प्रशस्तै थिए ।

तर, अचेल उक्त कोठा चौपाया बस्ने गोठ जस्तो देखिन्छ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले विद्यालयका फर्निचरका दाउरा बनाए, कार्पेट जलाए । ‘जताततै आगो बालेर फोहोर बनाए, शौचालयका ढोकासमेत राखेनन्,’ विद्यालयका प्रधानाध्यापक चक्र साउँद भन्छन्, ‘२५ थान बेन्च र डेस्क जलाएछन् ।’

सोही वडामा रहेको सुनादेवी माविको अवस्था झनै दयनीय छ । कक्षा कोठाभित्रै दिसैदिसा छ । तासका पत्तीहरु कोठामै छरिएका छन् । ट्वाइलेटको प्यानमा मदिराका बोतल कोचिएका छन् । वाइरिङ गरिएको तार चुँडाइएका छन् । ‘क्षति कति भयो भन्ने त कुरै नगरौं,’ विद्यालयका प्रधानाध्यापक नवराज पाठक भन्छन्, ‘कोठाभित्रै दिसापिसाब समेत गरेर गएछन् ।’

१२ वटै कक्षाकोठामा रहेका डस्टबिनहरु समेत चोरेर लगेको पाठक बताउँछन् । ‘कक्षाकोठामा गरिएको वाइरिङ्ग चुडालेर फालेका छन्, नगरपालिकाले क्वारेन्टिनका लागि दिएका लुगाहरु जताततै मिल्काएर गएका छन्,’ उनले भने, ‘विद्यालयभित्र मदिराका बोतलहरु फालेका छन् ।’

प्रधानाध्यापक नवराज पाठक भन्छन्- विद्यालयको दुर्दशा हेर्दा मेरो आँसु आयो । सरकारले १ भदौदेखि विद्यालय खोल्ने निर्णय गरे पनि अहिल्यै खोल्न सकिँदैन ।

‘विद्यालयको हालत देखेर आँसु आयो’

फर्निचर, झ्याल ढोकासमेत जलाएको उनी बताउँछन् । उनले थपे, ‘अरु त परै जावस् शौचालयको प्यान सेटमा समेत सिसी कोचेर बन्द गरिदिएका छन् ।’ विद्यालयमा कतै नुनका पोका, कतै मसला, कतै चामल फालेर गएको समेत उनी बताउँछन् । विद्यार्थीको खाने पानीका लागि राखेको पाँच सय लिटरको प्लाष्टिकको ट्यांकीसमेत फुटाइएको उनले बताए ।

‘मैले त सुरुमै विद्यालयलाई क्वारेन्टिन बनाउनु हुन्न भनेको थिएँ,’ प्रधानाध्यापक पाठक भन्छन्, ‘वडाध्यक्ष ज्यूले सम्बन्धित वडाकै विद्यालयमा राख्ने भन्ने निर्णय भएकाले राख्नै पर्ने भनेपछि मैले ठिकै छ भनेको हुँ । लामो मेहनतले सजाएको विद्यालयको यो दुर्दशा हेर्दा मेरो आँसु आयो ।’

‘विद्यालय खोल्न सकिँदैन’

सरकारले १ भदौदेखि विद्यालय खोल्ने निर्णय गरे पनि अहिल्यै विद्यालय खोल्न नसकिने उनले बताए । उनले भने, ‘न फर्निचर छ, न कार्पेट, न पानी छ, न शौचालय छ, चारैतिर फोहर मात्रै छ । अनि कसरी विद्यालय चल्छ ?’ कक्षाकोठाभित्रै आगो बालेर धुवाको मुस्लो भित्तामा लाएको उनी बताउँछन् ।

पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक जयबहादुर खड्काको दुखेसो पनि उस्तै छ । ‘५५ हजार रुपैयाँ लगानी गरेर विद्यालयमा सौर्य ऊर्जा जडान गरेका थियौं, त्यो उडाइदिएछन्,’ खड्का भन्छन्, ‘फर्निचर त कति जलाएछन्, कति तोडफोड गरेछन् ।’

सामुदायिक विकास केन्द्र डोटी नामक गैरसरकारी संस्थाले १ देखि ३ सम्मका कक्षा कोठाहरुमा कार्पेट, गोलो मेच र चकटी उपलब्ध गराएको थियो, त्यो हाल विद्यालयमा नरहेको उनी बताउँछन् । उनीहरुले लगेर गए वा जलाएर गए भन्ने पनि जानकारी नभएको खड्का बताउँछन् । सो वडामा क्वारेन्टिन बनाइएका आठ सामुदायिक विद्यालयमै क्षति भएको खड्काले बताए ।

क्वारेन्टिनको रुपमा प्रयोग गरिएको पूर्वीचौकी गाउँपालिका–५ को काँडामाण्डौं माविको दुर्दशा पनि योभन्दा कम छैन । विद्यालयमा गरेको वाइरिङ्ग चुडाएर फालेकोदेखि झ्याल–ढोका फुटाइएको सुनाउँछन् विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशी । उनले भने, ‘बेन्च/डेस्कमा लाएको फ्ल्याकको दाउरा बनाएछन्, फलामको फ्रेम कच्याककुचुक पारेर डल्लो बनाइदिएका छन् ।’ अहिलेकै अवस्थामा विद्यालयमा पढाइ हुन नसक्ने जोशीको भनाइ छ ।

‘हिसाब गर्ने हो भने पाँच लाखभन्दा बढीको क्षति भएको होला,’ उनी भन्छन्, ‘क्षतिको विवरणसहित मर्मतका लागि गाउँपालिकालाई अनुरोध गरेका छौं ।’

जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐर पनि क्वारेन्टिनको रुपमा प्रयोग गरिएका कतिपय विद्यालयहरुमा धेरै क्षति रहेको भएको स्वीकार गर्छन् । नागरिक समाजको टोलीसहित विद्यालयको अनुगमन गरी फर्केका ऐरले भने, ‘आफ्नै गाउँको विद्यालयमा क्वारेन्टिनमा बसेकाहरुले यति धेरै क्षति गर्लान् भन्ने अनुमान पनि थिएन ।’

उनले अहिलेकै अवस्थामा विद्यालय सञ्चालन हुन सक्ने अवस्था नदेखिएकाले क्षति भएका विद्यालयहरुमा तत्काल मर्मतको व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?