Comments Add Comment

तिलोत्तमामा प्राचीन पोखरी मिचेर वडा भवन बनाइँदै

रोक्न निर्देशन नमानेपछि पुरातत्व विभागको टोली स्थलगत अध्ययनमा आउँदै

१३ साउन, बुटवल । प्राचीन पोखरी क्षेत्रमा तिलोत्तमा नगरपालिकाले वडा कार्यालय भवन बनाउने काम नरोकेपछि पुरातत्व विभागले स्थलगत अध्ययन गर्ने भएको छ ।

रुपन्देहीको तिलोत्तमा–११ मद्रहानीमा सुख्खा अवस्थामा रहेको पोखरी क्षेत्रमा नगरपालिकाले गत पुसमा वडा भवन बनाउन शुरु गरेको थियो ।

त्यसपछि पुरातत्व विभागले पत्राचार गरेर तत्काल काम अघि नबढाउन निर्देशन दिएको थियो । केही समय काम रोकिएपनि लकडाउनको अवधिमा निर्देशन विपरीत भवन निर्माणले निरन्तरता पाएपछि पुरातत्व विभागले एक टोलीलाई स्थलगत अध्ययनमा पठाउने भएको हो ।

‘प्राचीन पोखरी क्षेत्रमा वडा भवन बन्ने जानकारी पाएपछि रोक्न निर्देशन दिएका थियौं, केही समय काम रोकिएको पनि थियो’, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘अहिले फेरि काम भएको भन्ने जानकारी आएपछि अब एक दुई हप्ताभित्रै स्थलगत अध्ययन गरेर थप निर्णय गर्छौं ।’

यो पोखरी बुद्धकालीन भनिए पनि ठोस अध्ययन र उत्खनन भने अहिलेसम्म भएको छैन । तिलोत्तमा–११ का वडा अध्यक्ष मुक्ति चौधरीले दुई बिघा बढी क्षेत्रफलको पोखरी क्षेत्र स्थानीयको अतिक्रमण र पानी सुकेर सुख्खा जमिनमा परिणत भएकाले पोखरीको संरक्षण गर्ने र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले १० धुर क्षेत्रफलमा वडा भवन बनाउन थालिएको दावी गरे ।

‘पुरातत्व विभागले स्थलगत वस्तुस्थिति नबुझी भवन निर्माण रोक्न निर्देशन दिने काम गरेको हो’ चौधरीले भने, ‘हामीले पोखरी मासेको होइन, बरु संरक्षण गरेको हो, यहाँ वडा भवन बन्ने भएपछि वडावासी खुशी छन् ।’

भवन बनाउन शुरु गरेसंगै सुख्खा रहेको पोखरी संरक्षण गरी पानी भरेर माछा पालन समेत शुरु गरिएको वडा अध्यक्ष चौधरीले बताए । वडा भवन एकतले मात्रै बनाइने उनले बताए । ‘दुई बिघामध्ये एक बिघा अतिक्रमण भइसकेको थियो, बाँकी जग्गा पनि अतिक्रमण हुन्छ र मासिन्छ भनेर संरक्षण पनि गर्ने र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले दश धुर जग्गामा मात्रै भवन बनाइएको हो’ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पनि पुरातात्विक सम्पदा मासेको नभई संरक्षण गर्ने उद्देश्यले वडा भवन बनाइएको बताए ।

‘वर्षौंसम्म भैंसी बस्ने आहालका रुपमा थियो,अतिक्रमण भएर सकिन थालेको थियो’ नगर प्रमुख घिमिरेले भने, ‘राज्यका सम्बन्धित निकायले बेवास्ता गरेको ठाउंमा नगरपालिकाले संरक्षण गरेर वडा भवन बनाउन थालेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment