Comments Add Comment

पारिश्रमिक घटाउन कलाकारहरु सहमत

नायक पल शाहले लकडाउनपछि काम गरिरहेका म्यूजिक भिडियोमा पारिश्रमिक घटाए । करिब २५ प्रतिशत पारिश्रमिक घटाएका पलले चलचित्रमा पनि आफू पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । तर, आफू एक जनाले मात्र पारिश्रमिक घटाएर नहुने उनको तर्क छ । पलले भने–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन । टिमसँग आवद्ध सबैले यो बिषयमा सोच्नुपर्छ ।’

पल नेपाली चलचित्रमा राम्रो पारिश्रमिक लिने नायकको रुपमा चिनिन्छन् । लकडाउनका कारण चलचित्र क्षेत्र धराशायी भएको भन्दै अब कलाकारले पारिश्रमिक कटौती गरेर चलचित्र निर्माणको बाटोलाई सहज बनाउनुपर्ने टिप्पणी हुँदै आएको छ । कलाकार र प्राविधिकहरुको पारिश्रमिकमै निर्माताको १ करोड बजेट सकिएपछि चलचित्र निर्माणमा समस्या हुन थालेको निर्माताहरु नै बताउँदै आएका छन् ।

पारिश्रमिक घटाउने बिषयमा नायिका स्वस्तिमा खड्का पनि सहमत छिन् । केही दिन अगाडि उनले मिडिया कुराकानीमा भनेकी थिइन्–‘मैले पारिश्रमिक घटाउँदा प्राविधिकहरुलाई सहज हुन्छ भने म यसका लागि तयार छु । तर, म एकजनाले मात्र पारिश्रमिक कम गरेर हुँदैन । चलचित्रमा काम गर्दा मलाई पहिले दिए जत्ती नै पारिश्रमिक दिनुपर्छ भनेर म बार्गेनिङ गर्दिनँ ।’

नायक दयाहाङ राइले पनि केही दिन अगाडि आफूले पारिश्रमिक घटाउने बताएका थिए । नायक राइले आफू पारिश्रमिक घटाउन तयार भएपनि चलचित्र निर्माणको उद्देश्यमा निर्माता स्पष्ट हुनुपर्ने बताएका थिए । उनले, चलचित्र क्षेत्रलाई फाइदा हुने उद्देश्यले चलचित्र निर्माण हुन लागेको हो भने आफू पारिश्रमिक घटाउन तयार रहेको बताए ।

नायिका पूजा शर्माले पनि चलचित्रसँग आवद्ध सबैको पारिश्रमिक घटे आफू पनि घटाउन तयार हुने बताइन् । उनले भनिन्–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन । चलचित्रसँग आवद्ध सबैले पारिश्रमिक घटाएर काम गर्न तयार हुन्छन् भने म पनि तयार छु ।’ पूजा नेपाली चलचित्रमा सर्वाधिक पारिश्रमिक लिने नायिका हुन् ।

कोरोनापछि चलचित्र क्षेत्रलाई अगाडि बढाउन चलचित्र निर्माणको क्रम बढ्नुपर्ने देखिन्छ । साथै, निर्माताले महंगो बजेटमा चलचित्र बनाएर जोखिम मोल्न सक्ने अवस्था पनि छैन । यसैले, यसमा चलचित्रसँग आवद्ध सबैले सहमती जनाएर निर्माताका लागि पनि चलचित्र बनाउने वातावरण बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment