Comments Add Comment

क्वारेन्टिनमा सर्पले डसेका युवकको उपचारको क्रममा मृत्यु

पीडित परिवारलाई नगरपालिकाले ६ लाख दिने

१५ साउन, कैलाली । क्वारेन्टिनमा बसेका बेला विषालु सर्पले डसेका कैलालीका एक युवकको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-४ का २२ वर्षीय युवक रहेका छन् ।

भारतबाट आएर जेठ २६ गतेदेखि उनी गौरीगंगा-४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो ।

उपचारको क्रममा बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताइन् ।

युवकलाई उपचारका लागि सुरुमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । तर, त्यहाँ भेन्टिलेटर सहितको बेड खाली नभएपछि नेपालगन्ज लगिएको हो ।

उपचारको क्रममा युवकको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले विरोध जनाएका थिए । नगरपालिकाको लापरबाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयले आन्दोलन नै गरेपछि पीडित परिवारलाख ६ लाख रुपैयाँ दिने सहमति भएको हो ।

‘उहाँहरूको उपचारमा ५ लाख बढी खर्च भएको रहेछ,’ उपमेयर चौधरीले भनिन्, ‘त्यो ५ लाख र १ लाख क्रिया खर्च भनेर दिने निर्णय सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment