+
+
Shares

जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न अनेरास्ववियूको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १६:४५

१८ साउन, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएका जनयुद्ध, जनआन्दोलन र न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरविरुद्ध कठोर संघर्षमा रहेका तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ (जमिन) लाई आइतबार भेट्ने क्रममा अनेरास्ववियूले सो माग गरेको हो ।

हाल भक्तपुरको सूर्यविनायकस्थित भाइको डेरामा बसोबास गरिरहेका तामाङलाई भेट्न आज अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत, पवन कार्की, केशव रावल र जनयुद्धका घाइते संघका महासचिव भक्तराज थापासहितको टोली पुगेको थियोे ।

तामाङ १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तमा घाइते भएका हुन् । गोली लागेकै घाउका कारण उत्पन्न क्यान्सर रोगसँग हाल उनी कठिन संघर्षमा छन् ।  सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका निवासी तामाङ त्यतिबेला तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए ।

भेटमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले परिवर्तनका लागि भएका जनआन्दोलन र जनयुद्धका सम्पूर्ण घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । घाइते तामाङलाई अनेरास्ववियूको तर्फबाट समेत यथासक्य सहयोग गर्ने उनले जनाएका छन् ।

यसअघि नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा तामाङ दम्पतिलाई भेटेर उपचारमा सघाउने वचन दिएका थिए । प्रचण्डसँगको भेटपछि नैनबहादुरकी पत्नी तिर्थमायाले विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्ड, सभामुख अग्नि सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला पार्टी कमिटी, युवा संघ, विद्यार्थी संगठन, पूर्वजनमुक्ति सेनालगायतले आफूहरुलाई सहयोग गरिरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?