Comments Add Comment

गोरखा दरबार पुनर्निर्माणमा ठेकेदारको लापरवाही, म्याद थपेको थप्यै

१९ साउन, गोरखा । २०७६ मंसिरमा सक्ने गरी सुरु भएको गोरखा दरबार पुनर्निर्माण अहिलेसम्म करिब ४० प्रतिशत मात्र सकिएको छ ।

पचली भैरव सिभाको जेभीले २०७६ मंसिर मसान्तभित्र सक्ने भनी २०७४ साल कात्तिक २९ गते ठेक्का सम्झौता गरे पनि काम नसकेपछि २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

तर थपिएको समयमा पनि काम नसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ मसिरसम्म म्याद थप गरिसकेको छ । गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसाल भने ठेकेदारमा इमान्दारिता नदेखिएको बताउँछन् । अहिलेकै गतिमा काम हुने हो भने दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिने उनी बताउँछन् ।

‘दरबार समयमा पुनर्निर्माण नहुँदा सँगै रहेका कालिका मन्दिर, रंगमहललगायतका अन्य संरचना पुनर्निर्माण थाल्न सकेका छैनौं,’ उनले भने । कालिका मन्दिर पुननिर्माणका लागि आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा आएको एक/एक करोड रुपैयाँ फ्रिज भएको छ ।

भूकम्पले क्षतिग्रस्त दरबार पुनर्निर्माण सम्पन्न भइसक्नुपर्ने समयमा अहिले पहिलो तलाको थाम राख्ने काम भइरहेको छ । ठेकेदारले निर्माण सामग्री पनि जथाभावी राख्दा नष्ट हुने सम्भावना रहेको भुसाल बताउँछन् ।

‘काठहरु त्यत्तिकै नछोपी राखिएका छन्, पानीले भिजेर धेरै काम नलाग्ने भइसकेको छ, तर ठेकेदारले यसमा पनि ध्यान दिएको छैन,’ उनले भने ।

दरबार पुनर्निर्माणका लागि ४ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकामा ठेकेदारले १ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ ।

पुनर्निर्माणको जिम्मा पाएका ठेकेदार सुशीलबाबु श्रेष्ठ भने तीब्र गतिमा काम भइरहेको दावी गर्छन् । बर्षातले असर नगरे भदौ १५ सम्म पहिलो तलाको काम सक्ने उनको दावी छ । सरकारकै कारण काममा ढिलाइ भएको उनको आरोप छ ।

‘कार्भिङको निर्णय दिनुस् भनेर भन्दा धेरै समय लगायो, फेरि डिजाइन परिवर्तनले पनि डिले भयो,’ उनले भने । थपिएको समयभित्र काम सक्ने उनले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment