Comments Add Comment

राष्ट्रियसभाका समितिमा पुरानै सभापतिलाई दोहोर्‍याउने तयारी

फाइल तस्वीर

१८ साउन, काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिमा निर्वतमान सभापतिलाई नै दोहोर्‍याउने तयारी भएको छ ।

राष्ट्रियसभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक खिमलाल भट्टराईले निर्वतमान सभापतिलाई नै थप एक कार्यकाल दिने समझदारी भएको बताए ।

राष्ट्रिय सभाका विषयगत समितिका सभापति र सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । हरेक २ वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने र ती ठाउँमा निर्वाचन हुने भएकाले नयाँ सांसद आएसँगै समिति पुनर्गठन हुन्छ ।

गत फागुनमा राष्ट्रिय सभाका नयाँ सदस्यहरू निर्वाचित भएका थिए । तर नियमावली निर्माणलगायतका काम बाँकी रहँदा समिति गठनमा ढिलाइ भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलको संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्यहरु मनोनयन गरेका छन् ।

सदस्य मनोनयन भएसँगै सभापतिका विषयमा पनि छलफल सुरु भएको हो । नेकपाका प्रमुख सचेतक भट्टराईका अनुसार एक साताभित्र सभापतिको टुंगो लाग्नेछ ।

चार समितिमध्ये यसअघि दुई वटामा नेकपाका सांसद सभापति थिए । एउटामा सरकारबाट मनोनित सांसद र एउटामा कांग्रेसका सांसद सभापति थिए ।

यसपटक पनि कांग्रेसलाई एउटा समितिको सभापति दिएर तीनवटा आफैं लिने नेकपाको तयारी छ । निर्वतमान सभापतिलाई विगतमा उनीहरु रहेकै समितिमा राखिएको छ ।

विधायन व्यवस्थापन समितिको सभापति पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल र दिगो विकास तथा सुशासन समितिको सभापतिमा तारादेवी भट्ट थिइन् ।

भट्ट कांग्रेस सांसद हुन् । समितिको नेतृत्व पाएमा भट्टलाई नै दोहो¥याउने वा नदोहो¥याउने कांग्रेसले निर्णय गरेको छैन ।

समिति सभापति चयनबारे औपचारिक कुराकानी भएपछि मात्रै के गर्ने भन्ने निर्णय हुने राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले भने ।

कुन समितिमा को को सदस्य ?

विधायन व्यवस्थापन समिति : खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र विमला राई पौडेललाई मनोनयन गरिएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति : रामनारायण बिडारी, अगमप्रसाद वान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समिति : नारायणकाजी श्रेष्ठ, दिलकुमारी रावल, अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेल ।

दिगो विकास तथा सुशासन समिति : कविता बोगटी, गंगाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाई, महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिंहबहादुर विश्वकर्मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment