Comments Add Comment

ओली सरकारविरुद्ध आन्दोलनको तयारी गरौं : कमल थापा

१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओली सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपाका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको बताए । थापाले भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्तालाई आग्रह गरे ।

कोराना महामारीमा पनि ओली सरकार आर्थिक अनियमिततामा फसेको र भ्रष्टाचार नियन्त्रणमा उदासीन बनेको थापाले बताए । ओली सरकार देशलाई निकास दिनेभन्दा पनि समस्याको दलदलमा फस्दै गएको उनको विश्लेषण थियो ।

प्रतिपक्ष नेपाली कांग्रेसको पनि भूमिका प्रभावकारी नभएको भन्दै थापाले अब भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनको तयारी गर्न जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई आग्रह गरे । आन्दोलनको स्वरुपबारे थप छलफल आवश्यक रहेको उनले बताए ।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले त्यो परिपूर्ति गर्न राप्रपावीच एकीकरण भएको चर्चा गर्दै थापाले अब तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने बताए ।

नेकपा र नेपाली कांग्रेसको विकल्पका रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरी छाड्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment