Comments Add Comment

संसारभर ४० प्रतिशत गन्तव्यमा यात्रा प्रतिवन्ध खुकुलो

१९ साउन, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै केही समय शतप्रतिशत गन्तव्यमा लागेको प्रतिवन्ध क्रमशः खुला हुँदै गएको छ ।

सोहीक्रममा अहिलेसम्म ४० प्रतिशत गन्तब्यमा लागेको प्रतिवन्ध खुला भइसकेको संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)ले सार्वजनिक गरेको विवरणअनुसार जुलाई ३० सम्म संसारभरका ४० प्रतिशत गन्तब्यले स्वदेशी तथा विदेशी पर्यटकको घुमघामका लागि कडा प्रावधानहरुलाई क्रमशः खुकुलो बनाइरहेका छन् ।

संसाभरका अधिकांश गन्तब्य कुनै न कुनै रुपमा सुरक्षित उपाय अपनाएर गन्तब्य खुला गर्ने निष्कर्षमा पुगेको संगठनले उल्लेख गरेको छ । यसअघि संगठनले १५ जुनमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार २२ प्रतिशत गन्तब्यले यात्रा प्रतिवन्धमाथि खुकुलो प्रावधान ल्याउन थालेका थिए ।

संगठनले गरेको अध्ययन अनुसार जुलाइ अन्त्यसम्म ८७ मुलुक (गन्तब्य)मा कुनै न कुनै रुपबाट अब विदेशी नागरिकले यात्राको अनुमति पाउँछन् । त्यसमध्ये चारवटा मुलुक पूर्ण रुपमा खुला भएको घोषणा गरेका छन् ।

८३ वटा मुलुकले भने शर्तसहित पर्यटक आवागमन खुला गरेका छन् । यात्रा प्रतिवन्ध हटाउने मुलुकमा अधिकांश यूरोपका देश छन्, जो अति महामारीबाट माथि उठेर सामान्य जीवनमा फर्किएका हुन् ।

उता ११५ वटा देशमा भने अहिले पनि विदेशी नागरिक माथि यात्रा प्रतिवन्ध कायम रहेको छ । सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै संसारभर क्रमशः यात्रामाथिको प्रतिवन्ध हट्दै जान थालेको यूएनडब्लूटीओका महासचिव जुरब पोलोलिकाशविल्लीले उल्लेख गरेका छन् ।

यसले जनजीविका सामान्य बनाउन र व्यवसायलाई जीवित राख्न समेत सहयोग पुग्ने उनको भनाइ छ । यसका लागि राज्यहरुलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । आगामी दिन अझै प्रतिकुल हुने विश्वास समेत उनको छ ।

संगठनका अनुसार पर्यटनमा आधारित अर्थतन्त्र रहेका साना मुलुकहरुले क्रमशः यात्रा प्रतिवन्ध खुकुलो बनाएका छन् । यूरोपका ४१ देशमा पनि पर्यटन सामान्य अवस्थामा र्फकने क्रममा रहेको छ । तर, कतिपय मुलुक अझै पनि लामो लकडाउनमा रहेका कारण तत्काल पर्यटकीय गतिविधि हुने सम्भावना नरहेको संगठनले जनाएको छ ।

नेपाल प्रतिवन्ध कायम रहेकै मुलुकमा

नेपालले आगामी १ भदौमा मात्र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने घोषणा गरेको छ । स्थल सीमानाका खोल्ने समय अझै तय भइसकेको छैन ।

सोहीकारण संगठनले अहिले नेपाललाई यात्रा प्रतिवन्ध कायम रहेको मुलुकमा राखेको छ । नेपालले पर्यटकीय कार्यालय खुला गरेको छ । होटेलहरुसमेत सञ्चालनमा छन् ।

यात्रा प्रतिवन्ध पूर्ण रुपमा खोलेका चार मुलुक भने अल्वानिया, माल्दिभ्स, सर्विया र तान्जानिया हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment